काठमाडौं। फिफा विश्वकपमा सबैभन्दा सफल टोली कुन हो? ५ पटकको च्याम्पियन ब्राजिल। तर, ब्राजिललाई सबैभन्दा नजिकबाट चुनौती दिइरहेको टोली कुन हो? जर्मनी।
विश्वकपमा जर्मनी कति दाबेदार भन्ने बुझ्न एउटा तथ्यांक हेरे पुग्छ। हालसम्म विश्वकपमा सबैभन्दा धेरै पटक सेमिफाइनल खेल्ने टोली हो जर्मनी। उसले १३ पटक सेमिफाइनल खेलिकेको छ।
जबकी ब्राजिलले ११ पटक सेमिफाइनल खेलेको छ। जर्मनीले ४ पटक विश्वकपको उपाधि समेत उचालिसकेको छ। अब एकपटक विश्वकप जित्नसके उसले ब्राजिलसरह ‘गौरब’ बाँड्ने मौका पाउनेछ।
तर, मैदानमा पछिल्लो दशक जर्मनीको खेल भने राम्रो छैन। सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा च्याम्पियन बनेयता २ पटकका विश्वकप उसका लागि बिर्सनलायक छन्। सन् २०१८ मा रसियामा र सन् २०२२ मा कतारमा जर्मनी समूह चरणबाटै बाहिरियो।
यसपाला पनि जर्मनीसँग निकै सन्तुलित टोली छ। रिट्जजस्ता मिडफिल्डरको उपस्थितिमा सशक्त मिडफिल्ड छ। निक वोल्टैमेडजस्ता अग्ला र स्कील भएका स्ट्राइक छन्।
त्यस्तै, युवा र अनुभवी खेलाडीको राम्रो कम्बिनेसन जर्मनीसँग छ। जर्मनीको डिफेन्समा सुधार हुन सके जर्मनी आफ्नो शाख फर्काउन सक्ने स्थितमा छ।
जर्मनीलाई समूह चरणमा चुनौती पनि कमजोर छैन। यी तीन टोलीले जर्मनीलाई यसपाला पनि समूह चरणमै रोक्न भरपुर प्रयास गर्नेछन्।
इक्वेडर
जारी विश्वकपमा ‘डार्कहर्स’ बन्न सक्ने टोली हो इक्वेडर। विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा इक्वेडरको प्रदर्शन लोभलाग्दो थियो। साविक विजेता अर्जेन्टिनासँग मात्रै पछि पर्दै इक्वेडर उपविजेताको रुपमा विश्वकपलाई छानिएको हो।
विश्वकपअघि सेबास्टियन बेकासेसेको नेतृत्वमा इक्वेडरको लय लोभ लाग्दो छ। उसले पछिल्ला १९ खेलमा अविश्वसनीय रेकर्ड बनाएको छ। सात जित, एघार बराबरी र मात्र एक हार। त्यो एक मात्र हार ब्राजिलसँग १-० ले।
त्यसयता, उनीहरूले तोड्नै नसकिने रक्षात्मक जग बसालेका छन्। संगठित तथा शारीरिक खेलको त्यस्तो खाका तयार पारेका छन्, जसको जवाफ कसैसँग छैन।
उनीहरूको एउटा चिन्ता भनेको टोलीमा गोलको अभाव हो। उनीहरू अझै पनि अनुभवी स्ट्राइकर एनर भालेन्सियामा निर्भर छन्।
अगस्ट २०२४ मा बेकासेसेले जिम्मेवारी सम्हालेयता त्यो अतुलनीय रक्षापंक्तिसँग खेलिरहेका छन्। यसबीचमा मात्र ७ गोल बेहोरेको यो टोलीले १२ पटक क्लिनसिट गरेको छ।
विश्वकपमा सन् २००६ पछि उनीहरू नकआउट चरणमा पुगेका छैनन्। यसअघि कतारमा समूह चरणबाटै बाहिरिएको इक्वेडर नकआउट पुग्ने होडमा छन्।
जर्मनीको बलियो आक्रमण भर्सेस इक्वेडरको बलियो पर्खाल रुपी डिफेन्सका कारण यो खेल हेर्न लायकको हुनेछ।
आइभोरी कोष्ट
विश्वकप सुरु हुनु ठीक अघि फ्रान्समाथि २-१ गोलको जित। त्यसभन्दा अघि स्कटल्याण्डमाथि १-० गोलको जित। र, त्यसअघि दक्षिण कोरियामाथि ४-० गोलको जित। यो हो ‘द एलिफेन्ट’ भनेर चिनिने आईभोरी कोस्टको पछिल्लो लय। स्पस्ट छ : यो टोलीले कसैलाई सहज चुनौती दिने छैन।
सन् २००६, २०१० र २०१४ आइभोरी कोष्टले यसअघि विश्वकपमा सहभागिता जनाएको थियो। यसमा उसले समूह चरण नै पार गर्न सकेको थिएन।
प्रशिक्षक इमर्स फाईलाई आइभोरी कोष्टले सन् २०२४ मा अफ्रिका कप अफ नेशन्स चलिरहँदा टिममा अनुबन्ध गरेको थियो। उनको नेतृत्वमा टिमले महादेशीय फुटबलको सबभन्दा ठूलो प्रतियोगिता जित्यो।
कुराकाओ
‘द ब्लु वेभ’ भनेर चिनिने कुराकाओले यसपटक विश्वकपमा डेब्यु गर्दैछ। डेढ लाखमात्रै जनसंख्या रहेको कुराकाओ इतिहासमै विश्वकपका लागि छनोट भएको सबभन्दा सानो देश हो।
यो टोलीले बर्मुडा, होण्डुरस, हाइटी जस्ता टोलीलाई हराइसकेको छ भने एलसाल्भाडोर र क्यानडालाई बराबरीमा रोकिसकेको छ। विश्वकपमा डेढ अर्ब हाराहारी जनसंख्या भएका भारत र चीन जस्ता देशहरू पुग्न असफल भइरहँदा डेढ लाख जनसंख्या भएको कुराकाओको यात्रालाई ठूलो उपलब्धि मान्न सकिन्छ।
कुराकाओले धेरैजसो नेदरल्यान्ड्समै जन्मिएका र हुर्किएका खेलाडीहरूमा विश्वास गर्दै आएको छ। लियोनार्दो बकुना यो टोलीमा नजर राख्नुपर्ने खेलाडी हुन्।