काठमाडौं। ११ दिनपछि प्रतिनिधि सभाको अवरोध अन्त्य भए पनि सभाको कारबाही सामान्य ढंगले चलेन। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसदमा ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्तिको प्रष्टीकरण परराष्ट्र मन्त्री शिशिर खनालले दिएपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अवरोध हटाउन तयार भए। तर, श्रम संस्कृति पार्टीले शाहलेनै जवाफ दिनुपर्ने अडान कायमै राख्यो।

शाह स्वयमले नै जवाफ दिनुपर्ने अडान श्रम संस्कृतिको थियो। सुरुमा अर्यालले परराष्ट्र मन्त्री खनाललाई बोल्न समय दिए। खनालले बालेनको अभिव्यक्तिको बचाउ गर्दै भने, ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ। एक देशका नागरिक अर्को देशको जग्गामा खेतीपाती र बसोबास गरिरहेको अवस्थालाई सम्मानीयज्यूले इङ्गित गर्नुभएको हो।’
रास्वपालाई उकुसमुकुस बनाउने आङदेम्बे
खनालपछि प्रमुख प्रतिपक्षी दलको नेताको हिसाबले बोल्ने पालो कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाए। सुरुमा उनले राष्ट्रिय भावको गीत सम्झाए, ‘तपाईं हामी कयौंले बाल्यकालदेखि गोपाल योन्जनको गीत सुन्दै आयौं – खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न।’ आङदेम्बेले भाषण सुरु गर्दा रास्वपा सभापति रवि लामिछानेलगायत सत्तापक्षका सांसदहरु निकै उत्सुकताका साथ सुनिरहेका थिए।

आङ्देम्बेले प्रधानमन्त्री शाहको आलोचना गर्दै यति तिखा प्रश्न गरे कि रास्वपाका सांसद उकुसमुकसको स्थितिमा पुगे। ‘आजको मितिमा म यो संसदमा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिरहेको बडा कारुणिक दृश्य हेरिरहेको छु l सत्ताको कित्ताबाट कोही एक जनाले हिम्मत गर्लान् र मेरो देशले कसको सीमा कहाँ मिचेको छ? भनेर प्रश्न गर्लान् भनेको त सभामुख महोदय म लज्जित छु- उल्टै कतिपय सांसद मित्र नेपालले भारतको सीमा मिचेकै हो भनेर पुष्टि गर्न न्वारानदेखिको बल लगाएर दौडिएका छन्l त्यस्तो हर्कत गर्ने मित्रहरूलाई वीर भक्ति थापाको आत्माले धिक्कार्ला कि नधिक्कार्ला? यो सोधेर म उसै दुःखी मनहरुलाई थप दुखित बनाउन चाहन्न!’
आङ्देम्बेका प्रश्नले रास्वपाका सांसदहरुको हाउभाउ गम्भीर भएको देखिएको थियो भने सभापति लामिछाने बेलाबेला मुस्कुराएको देखिन्थ्यो। उनले रास्वपाका सांसदका मुखमा टेप लगाएर टालिएको टिप्पणी गरे।

शाहको गम्भीर गल्तीमा पनि ताली बजाएर साथ दिएको भन्दै उनले आफूलाई लज्जाबोध भएको बताए। ‘बहुमत सांसदले त्यो स्वीकारेको लज्जास्पद दृश्य झल्झली सम्झन्छु सभामुख महोदय म -त्यो दिन जब प्रधानमन्त्रीजीले त्यस्तो बोल्नुभयो, तब रास्वपाका माननीय सदस्यहरुले समर्थनमा ठोक्नुभएको थियो टेबुल- ड्याङ, ड्याङ, ड्याङ गरेर,’ उनले भनेका थिएl
उनले रास्वपाका सांसदहरु निर्जीवजस्तो प्रश्नविहीन रहेको भन्दै आलोचना गरे। उनले नागरिकले सरकारका सबै क्रियाकलाप नजिकबाट नियालको टिप्पणी गरे।
कालो डायरीमा सरकारका गतिविधि टिप्न थालिएको प्रसंग निकाल्दै उनले भने, ‘सम्माननीय राष्ट्रपतिले सम्मानित सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला हाम्रा सम्माननीय प्रधानमन्त्रीले एकाएक संसद् बङ्क गरिदिनुभयो। संसदीय इतिहासमा यस्तो कहिल्यै भएको थिएन। नेपालमा मात्र होइन संसारमै यस्तो कहिँ भएको छैन। तिनको डायरीको टिपोटमा यो पनि होला। प्रधानमन्त्रीलाई सरकारका एक कर्मचारीले व्यक्तिगत सम्बन्धका कारण म्यासेज पठाए बापत, तिनलाई कुनै पक्राउ पुर्जी बेगर घरबाट उठाइयो। अनि प्रधानमन्त्रीले पुरानै `फू´ शैलीमा फेरि लेख्न भ्याउनु भयो , तिनै र त्यस्ता सबै कर्मचारीको हुर्मत लिने स्ट्याटस,’ आङ्देम्बेले भने।
उनले आफ्नो सम्बोधनका क्रममा रास्वपा सभापति लामिछानेमाथि चर्को आक्रोश व्यक्त गरे। पत्रकार भएर टिभीमा कार्यक्रम चलाउँदा राष्ट्रवादका प्रश्नमा बाघ बनेको तर अहिले रास्वपाको सभापति बनेर भारतमा कालापानी र लिपुलेकको नाम समेत नलिएर फर्किएको भन्दै लामिछानेको चर्को आलोचना गरे। संसदको पारित नियमावलीमाथि विरोध गरेका आङदेम्बेले सुशासनको कोरा नारा दिएको आरोप लगाए।

‘सुशासनको नारा दिएर चुनाव जित्ने, तर सांसदलाई भ्रष्टाचारको मुद्दा लागे निलम्बन नहुने गरी संसदको नियमावली बनाउने? छानबिन आयोगका नाममा छलछाम आयोग बनाउने? तब प्रतिवेदन पढ्नै परेन, दोषी करार, आफैं झाँक्री / फेरि पुरस्कार? हिजो प्रश्न गर्दा – मन्त्रीबारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीका बारे गम्भीर प्रश्न उठ्यो, तर सबै `बरफ´, त्यो डायरीमा यो पनि टिपोट पनि परेकै होला,’ उनले सोधेका प्रश्न थिए।
अहिले बालेनको अभिव्यक्ति हटाउन रुलिङ नगरेका सभामुख अर्याललाई उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निम्छरो शब्द हटेको सम्झाए। उनले रास्वपाका सांसदहरु अहिले मुर्दा शान्ति बनेको तथा सभामुखको कुर्चीमा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भन्दै आलोचना गरे। संसदमा र्याप ब्याटल देखाएको भन्दै अबदेखि आफूले कहिले पनि प्रधानमन्त्री शाहलाई नखोज्ने आङदेम्बेले उद्घोष गरे।
आफ्नो भूमिकामाथि प्रश्न उठाएर आङदेम्बेले आलोचना गर्न थालेपछि सभामुख अर्यालको अनुहार भने एकाएक आक्रामक देखिएको थियो। आफूलाई मुर्दा शान्ति भनिएकोमा रास्वपाकी सांसद समीक्षा बास्काोटाले नियमापत्ति गरेकी थिइन् भने रास्वपाका सभापति लामिछाने र सबै सांसले टेबल ठटाएर विरोध जनाएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे कुनै रुलिङ नगरेका अर्यालले आङ्देम्बेको अभिव्यक्ति सकिनासाथ सचिवालयलाई उनका शब्दहरु असंसदीय भए/नभएको जाँच गर्न निर्दशन दिए।
आङदेम्बेपछि एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले शाहको अभिव्यक्तिालाई संसदको रेकर्डबाट नहटाएसम्म फरक खालको विरोध जारी राख्ने बताए। नेकपाका सांसद प्रमेश हमालले तत्कालका लागि पछि हटेको तर प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै विरोध गरे। राप्रपाका संसदीय दलदका नेता ज्ञानबहादुर शाहीले पनि देश पहिलो प्राथमिकतामा हुनुपर्ने बताए।
सभामुखलाई पछि हट्न बाध्य पारेका हर्क राई
सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टी बाहेकका दलका नेतालाई बोल्न समय दिए। आफूलाई बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरे। अर्यालले बोल्नका लागि समय नमागेको तथा विरोधमै रहेकाले बोल्नका लागि समय नदिने बताए। सभामुख अर्यालले विभेदकारी व्यवहार देखाएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले नाराबाजी गरे। नियमावलीलाई देखाएर नाराबाजी गरेका सांसदहरुले अर्यालमाथि एकपछि अर्को प्रश्न गरे।

श्रम संस्कृतिका सांसदलाई बोल्न समय नै नदिने अडान सभामुखले राखे। उनले आफ्नो आलोचना गर्न नपाइने नियमावलीको नियम २१(ख) को व्यवस्थालाई पटक पटक सम्झाएपछि श्रम संस्कृतिका सांसदले कारबाही गरेर देखाउन चेतावनी दिए। ‘प्रधानमन्त्रीलाई संसदमा जवाफ दिनका लागि रुलिङ गर्न नसक्ने, हामीलाई बोल्न पनि नदिने’ भन्दै लगातार अर्यालको आलोचना गरे।

श्रम संस्कृतिको चर्को विरोधपछि अर्याल पछि हट्न बाध्य भए। अर्यालले अन्तत: बिरोध हटाए आफूले समय दिने बताए। राईलाई रोस्टममा बोल्न दिएपछि मात्रै श्रम संस्कृतिले विरोध हटाएको थियो।
विरोधका बीच अर्यालले आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अघि बढाएका थिए। उनले छलफलमा सहभागी हुने सांसदहरुको नाम टिपाउन आग्रह गर्दै कार्यसूची अघि बढिसकेको अवस्थामा अर्यालले कार्यसूची रोकेर राईलाई समय दिन बाध्य हुनुपरेको थियो। राईले रोस्टमबाट अर्याललाई बोल्नका लागि पनि आफूले संघर्ष गर्नुपरेको भन्दै प्रश्न गरे। त्यसपछि मात्रै बजेटमाथिको छलफल सुरु भएको थियो।