काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्म आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले भारतले सीमा मिचेको कारण देखाउँदै नेपालले पनि भारतीय भूमि मिचेको भन्न चाहेको हो भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधिसभामा प्रतिपक्षी दलको नेताको हिसाबले सम्बोधन गर्दै उनले कांग्रेस दास र लासहरुको पार्टी नभएको बताए।
उनले सत्ता पक्षको दम्भ बढ्दै गएको भन्दै भने, ‘मेरो देशले कसको सीमा कहाँ मिच्यो भनेर सत्ता पक्षका सांसदले पनि प्रश्न गर्लान भनेको त। नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारनदेखिको बल लगाइरहनुभएको छ,’ उनले भने।
‘सीमा मिचेको होइन भन्ने संख्या त संसदमा अल्पमतमा छ। नेपालले भारतको सीमा मिचेको हो भन्ने बहुमतले ताली बजाएको, राति निन्द्रा लाग्यो कि लागेन? समर्थनमा ठोकेको टेबलको आवाजले मलाई आज पनि निन्द्रा लागेको छैन। मैले यो जन्ममा देखेको सबैभन्दा दु:खद र लज्जास्पद दृश्य थियो,’ उनले सत्तापक्षका सांसदलाई इंगित गर्दै थप भने।
शाहको अभिव्यक्तिमाथि नै संसद् रुमल्लिएर नबसोस भन्ने आफूले चाहेको उनको भनाइ छ।
प्रधानमन्त्रीलाई संसद नचाहिने भए पनि प्रतिपक्षीलाई भने चाहिने उनको तर्क थियो।
‘डर लागिरहेको छ उहाँले फेरि कुनै दिन उदण्डता मच्चाइदिनु होला,’ उनले भने।
त्यसैले अब आफूले अब प्रधानमन्त्रीलाई संसदमा नखोज्ने आङदेम्बेले भने।