BIZMANDU
www.bizmandu.com

एमसीसी परियोजना कार्यान्वयनमा आएको तीन वर्षपछि बल्ल दुई सबस्टेसनको निर्माण सुरु

२०८३ जेठ २७

एमसीसी परियोजना कार्यान्वयनमा आएको तीन वर्षपछि बल्ल दुई सबस्टेसनको निर्माण सुरु
एमसीसी परियोजना कार्यान्वयनमा आएको तीन वर्षपछि बल्ल दुई सबस्टेसनको निर्माण सुरु

काठमाडौं। एसीसी परियोजनाको कार्यान्वय सुरु भएको तीन वर्षपछि बल्ल रातमाटे र नयाँ दमौली सबस्टेसन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्न सुरु गरिएको छ।

Tata
GBIME
Nepal Life

एमसीए नेपालले दुई नयाँ सबस्टेसन तथा २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माण बुधबारबाट नसिर्माण गर्न थालेको हो। नुवाकोटको रातमाटेमा बुधबार सबस्टेसनको शिलान्यास गरिएको छ।

सबस्टेसन र प्रसारण लाइन निर्माणमा चार कम्पनी संलग्न छन्। टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीले रातमाटे र न्यू दमौली सबस्टेसन निर्माण गर्दैछ।

११७ किलोमिटर लामो लप्सीफेदी-रातमाटे-न्यू हेटौंडा प्रसारण लाइन खण्ड आशिष-बोझ्लर जेभीले, ९० किलोमिटर लामो रातमाटे-न्यू दमौली प्रसारण लाइन खण्ड एञ्जेलिक-स्किपर जेभीले र ९० किलोमिटर लामो न्यू दमौली-न्यू बुटवल प्रसारण लाइन खण्ड वाइबा-सालसर जेभीले ठेक्का पाएका छन्।

निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सबस्टेसन नेपालका सबैभन्दा उच्च-भोल्टेज क्षमताका सबस्टेसनमध्येका हुनेछन्।

अर्थ सचिव एवं एमसीए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले ऊर्जा सुरक्षा सुनिश्चित गर्न तथा लगानी र औद्योगिक विस्तार प्रवर्धन गर्न विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ पार्नुको विकल्प नरहेको बताए।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सबस्टेसन र प्रसारण लाइन निर्माणपछि नेपालमा व्यवसाय विस्तारका लागि ठूलो सहयोग पुग्ने बताए।

‘यस कम्प्याक्टमार्फत हामी नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण गर्दैछौं। भरपर्दो बिजुली देशका कुना कुनाका साथै सीमापारसमेत प्रवाहित हुनेछ। घरपरिवारका लागि यसको अर्थ निरन्तर बल्ने बिजुली हुनेछ भने कारखाना तथा कृषिका लागि यसको अर्थ उत्पादन अभिवृद्धिका लागि ऊर्जाको अनवरत उपलब्धता हुनेछ। नेपाली व्यवसाय विस्तारका लागि यसले नयाँ क्षितिज उघार्नेछ,’ उनले भने।

शिलान्यास समारोहमा एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्को, नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायत सहभागी थिए।

अमेरिकाको ५५ करोड डलर अनुदान र सरकारको १९.७० करोड डलर लगानीमा तीन वर्षअघि एमसीसी परियोजनाको कार्यान्वयन सुरु गरिएको थियो।