BIZMANDU
www.bizmandu.com

समूह ‘सी’मा ब्राजिल र मोरक्कोमाथि नजर : स्कटल्यान्ड र हाइटीले दिन सक्लान चुनौती?

२०८३ जेठ २७

समूह ‘सी’मा ब्राजिल र मोरक्कोमाथि नजर : स्कटल्यान्ड र हाइटीले दिन सक्लान चुनौती?
समूह ‘सी’मा ब्राजिल र मोरक्कोमाथि नजर : स्कटल्यान्ड र हाइटीले दिन सक्लान चुनौती?

हरेक फिफा विश्वकपमा दाबेदार टोलीका रुपमा अगाडि आउने नाम हो- ब्राजिल। इतिहासले नै उसलाई सशक्त टिमको रुपमा चिनाएको छ।

Tata
GBIME
Nepal Life

५ पटकको विश्वविजेता ब्राजिल आसन्न विश्वकपको समूह ‘सी’मा छ। यो समूहमा अघिल्लो संस्करणमा नपत्याउँदो पाराले सेमिफाइनल पुगेको अफ्रिकी महारथी मोरक्को पनि छन्।

यसका कारण स्कटल्यान्ड र हाइटीमाथि ठूलो चुनौती छ। यी दुवै टोली लामो समयपछि विश्वकपमा फर्किएका हुन्।

छैटौँ उपाधिको खोजीमा ब्राजिल

विश्वकपको विरासतको चर्चामा अघि रहने ब्राजिलले विश्वकप उठाएको त्यहाँकै पछिल्लो पुस्ताको मानसपटलमा याद छैन। पछिल्लो पटक उसले सन् २००२ मा जर्मनीलाई हराएर उपाधि जितेको थियो। त्यसयता उसको विश्वकपमा प्रदर्शन लोभलाग्दो छैन।

पछिल्लो पटक सन् २०१४ मा आफैँले आयोजना गर्दा बाहेक ब्राजिल प्रत्येक संस्करणमा क्वार्टरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो। २०१४ मा पनि उसको सेमिफाइनल खेल बिर्सनलायक नै रह्यो।

सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा उपाधि जितेको ब्राजिल यसपटक भने नयाँ पुस्ता र अनुभवी खेलाडीको संयोजनसहित मैदान उत्रने तयारीमा छ।

कतार विश्वकपमा क्रोएसियाले पेनाल्टी सुटआउटमा पराजित गर्दै ब्राजिललाई घर फर्काएको थियो।

ब्राजिलको टिममा स्टार खेलाडीको कमी छैन। रियल मड्रिडका भिनिसियस जुनियर र राफिन्हामाथि टोली निकै निर्भर हुनेछ। घुँडाको चोटका कारण रियलका फरवार्ड रोडरिगो भने विश्वकप टिममा छैनन्।

विश्वकप छनोटमा यसपालि ब्राजिलको टिमबाट अपेक्षित प्रदर्शन हुन सकेको थिएन। निराशाजनक छनोट यात्रामा ब्राजिलले चिर प्रतिद्वन्द्वी अर्जेन्टिनासँग पनि निक्कै पीडादायी हार भोग्नुपरेको थियो।

मोरक्को

कतार विश्वकपमा त मोरोक्कोले गज्जबै गरेको थियो। कम आँकिएको मोरोक्कोले उक्त विश्वकपमा सेमिफाइनलसम्म पुग्दै आफ्नो शक्ति देखाएको थियो।

मोरोक्को फिफा विश्वकपमा सेमिफाइनल पुग्ने एकमात्र अफ्रिकी देश हो, एसियाको दक्षिण कोरियाजस्तै।

कतार विश्वकपमा उसले प्रिक्वाटरफाइनलमा स्पेनलाई हराउँदा क्वार्टरफाइनलमा पोर्चुगललाई घर फर्काएको थियो। सेमिफाइनल मोरोक्को फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो।

मोरक्कोको यू-२० टिमलाई युवा विश्वकपको उपाधि जिताउने मोहमेद ओनाबी अहिले राष्ट्रिय टोलीको प्रशिक्षक छन्। युरोपेली लिगको अनुभव भएका खेलाडीले भरिएको यो देश सेमिफाइनलमा अड्किएको यात्रालाई अघि बढाउने लक्ष्यका साथ यसपाला मैदान उत्रनेछ।

कतार विश्वकपको सफलतापछि मोरक्कोमाथि अपेक्षा झन् बढेको छ। टोलीमा अझै पनि अनुभवी र युरोपका शीर्ष क्लबमा खेल्ने खेलाडीहरूको राम्रो मिश्रण छ। संगठित रक्षापंक्ति, तीव्र काउन्टर अट्याक र अनुशासित खेल शैली मोरक्कोको मुख्य विशेषता हो।

विश्व फुटबलमा अफ्रिकी टोलीहरूको प्रभाव बढिरहेका बेला मोरक्को पुनः गहिरो यात्रा गर्ने दाबेदारमध्ये एक मानिएको छ। समूह चरण पार गर्नु उसका लागि लक्ष्य मात्र नभई अपेक्षा पनि बनेको छ।

हाइटी

हाइटी विश्वकपमा खासै चिनिएको नाम होइन। क्यारेबियन राष्ट्र हाइटीले विश्व फुटबलमा ठूलो प्रभाव छोड्न नसके पनि यसपटकको छनोट यात्राले टोलीप्रति ध्यान भने आकर्षित गराएको छ।

हाइटीको बलियो पक्ष युवा खेलाडी, गति र उत्साहमा निर्भर छ। अनुभवको हिसाबले समूहका अन्य टोलीभन्दा कमजोर देखिए पनि विश्वकपजस्ता प्रतियोगितामा दबाबरहित टोलीले अप्रत्याशित नतिजा निकाल्ने उदाहरण प्रशस्त छन्। विल्सन इसिडोर यो टोलीको मुख्य खेलाडी हुन्।

हाइटीका लागि प्रत्येक खेल अवसर हुनेछ। विशेषगरी स्कटल्यान्डविरुद्धको खेल नकआउट चरणको सम्भावना निर्धारण गर्ने महत्त्वपूर्ण भिडन्त बन्न सक्छ।

हाइटीका लागि यो सन् १९७४ यताको पहिलो र समग्रमा दोस्रो विश्वकप सहभागिता हो। टोली कन्काकाफ छनोटमा आफ्नो समूहको विजेता भएर विश्वकपका लागि छानिएको हो।

सन् १९७४ मा इटाली, पोल्यान्ड र अर्जेन्टिनासँग लगातार तीन खेलमा पराजित भएपछि हाइटी चाँडै घर फर्किएको थियो। यसपाली पनि टोलीले समूहमा हाइप्रोफाइल टोलीसँग संघर्ष गर्नुपर्नेछ।

फ्रेन्च प्रशिक्षक सेवास्टिन मिग्नेको नेतृत्वमा रहेको हाइटी फिफा विश्व वरीयतामा हाल ८३औं स्थानमा छ। विश्वकपमा सहभागिता जनाउने तयारीमा रहेका ४८ देशमध्ये हाइटीको वरीयता न्युजिल्यान्डभन्दा मात्र माथि हो।

हाइटीको टोलीलाई मैदानभित्र ३२ वर्षे स्ट्राइकर डङ्कन नाजोनले कप्तानको रुपमा नेतृत्व गर्नेछन्। ६ गोलका साथ उनी कन्काकाफ छनोट प्रतियोगिताको संयुक्त उच्च गोलकर्ता हुन्।

लामो प्रतिक्षापछि फर्किएको स्कटल्यान्ड

स्कटल्याण्डले विश्वकपमा फर्किन लामो समय कुर्नु पर्‍यो। सन् १९९८ पछि पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उपस्थित भएको स्कटल्यान्डका लागि यो उपलब्धि आफैंमा महत्त्वपूर्ण छ।

युरोपेली छनोटमा प्रभावशाली प्रदर्शन गरेको स्कटल्यान्डले आफ्नो खेलशैलीमा निरन्तरता देखाएको छ। टोलीको बलियो पक्ष टिम गेम र मिडफिल्ड हो। इटालियन सिरि-एमा खेल्ने स्कट म्याकटोमिनी यो टोलीका मुख्य खेलाडी हुन्।

लामो समयपछि विश्वकपमा फर्किए पनि समूहमै ब्राजिल र मोरक्कोजस्ता बलिया टोलीविरुद्ध खेल्नु पर्दा उसका लागि चुनौती पनि त्यतिकै छ। कसैगरी समूह चरण पार गर्न सके त्यो स्कटल्यान्डका लागि ऐतिहासिक उपलब्धि हुनेछ।

गतवर्ष युरोपेली छनोटको अन्तिम खेलको अन्तिम समयमा विजयी गोल गर्दै डेनमार्कलाई हराएपछि स्कटल्यान्ड सन् १९९८ पछि पहिलो पटक विश्वकपका लागि लायक भएको थियो।