BIZMANDU
www.bizmandu.com

विश्वकपको समूह ‘ए’ :  एसियाको सफल कोरियासँग चुनौतीका पहाड, कति बलियो छ मेक्सिको?

२०८३ जेठ २७

विश्वकपको समूह ‘ए’ :  एसियाको सफल कोरियासँग चुनौतीका पहाड, कति बलियो छ मेक्सिको?
विश्वकपको समूह ‘ए’ :  एसियाको सफल कोरियासँग चुनौतीका पहाड, कति बलियो छ मेक्सिको?

फिफा विश्वकपमा एसिया सधैँ कमजोर महादेशका रुपमा रहेको छ। समग्र एसियाबाट फिफा विश्वकपमा हालसम्मको सबैभन्दा ठूलो उपलब्धि के हो? जवाफ हो सेमिफाइनल सम्मको यात्रा।

Tata
GBIME
Nepal Life

सेमिफाइनलको यात्रा तय गर्ने टोली हो – दक्षिण कोरिया। उसले सन् २००२ को घरेलु मैदानमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्म पुग्दै एसियाका लागि सबैभन्दा अगाडिसम्मको यात्रा तय गरेको थियो।

फिफा विश्वकप २०२६ मा कोरिया समूह ‘ए’मा छ। यो समूहमा कोरियासहित सहआयोजक मेक्सिको, दक्षिण अफ्रिका र चेकिया छन्। यस समूहमा कुन टोली बलियो स्थितिमा छन्?

मेक्सिको

यो समूहमा बलियो स्थितिमा मेक्सिको देखिनुको धेरै कारण छन्। पहिलो आयोजक भएका हिसाबले वातावरणीय अनुकुलता र समर्थकको साथ उसका लागि सबैभन्दा सबल पक्ष हुन सक्छ।

जेभियर अज्युरी प्रशिक्षक रहेको मेक्सिकोका लागि सन् १९७० र १९८६ मा क्वाटफाइनलसम्म पुग्नु नै उसको लागि सबैभन्दा राम्रो नतिजा हो। विश्वकप त उसले १८ वटा संस्करणमा खेलिसकेको छ।

यसपाला आयोजकका हिसाबले मेक्सिको स्वतः छनोट भएको हो। फिफा वरीयतामा यो समूहको सबैभन्दा माथि रहेको मेक्सिको १४ औँ स्थानमा छ।

१७ वर्षे गिल्बेर्टो मोरा र गोल गर्न खप्पिस रउल हेमिनेज जस्ता खेलाडी लिएर मैदानमा मेक्सिकोले सनसनी मच्चाउने नै छ। यो समूह पार गर्न मेक्सिको सबैभन्दा ‘फेभरेट’ टिमको रुपमा हेरिएको छ।

दक्षिण अफ्रिका

दक्षिण अफ्रिका अफ्रिका महादेशको बलियो टोलीमध्ये एक हो। ह्युगो ब्रोसको प्रशिक्षणमा रहेको यो टोली चारवटा संस्करण खेल्दा समूह चरण नै पार गर्न सकेको छैन।

उसले अफ्रिकन छनोटमा नाइजेरियालाई पछि पार्दै यसपाला छनोट भएको हो। यो समूहमा सबैभन्दा कम वरीयताको यो टोली ६० औँ स्थानमा छ।

कम आकिँएको टीम भए पनि यो टोलीले अप्रत्यासित नतिजा भने विश्वकपमा दिएको छ। उसले सन् २०१० को विश्वकपमा जायन्ट फ्रान्सलाई हराएको थियो। डिफेन्समा राम्रो भएपनि हाइ प्रोफाइल खेलाडीविनाको यो टोलीलाई आक्रमण गर्न भने कठिन हुनेछ।

यो टोलीबाट युरोपको शीर्ष लिगमा खेल्ने एकमात्र खेलाडी हुन् लेल फोस्टर। २६ खेलबाट १० गोल गरेका उनीमाथि यो टोली धेरै निर्भर हुनेछ।

दक्षिण कोरिया

एसियाको तर्फबाट विश्वकपमा सबैभन्दा अघि पुगेको कोरिया २००२ को विश्वकपमा चौथो बनेको थियो। १२ वटा विश्वकप खेलिसक्दा उसले ‘जायन्ट’ मानिएका टोलीहरूलाई पटक-पटक हराएर आफ्नो क्षमता देखाइसकेको छ।

विश्वकपको एसिया छनोटमा एउटै खेल नहारी छनोट भएको टोली हो कोरिया।

यो टोलीको बलियो पक्ष हो काउन्टर अट्याक। कप्तान सन ह्युङ मिन र युवा खेलाडी लि काङ इनको कम्बिनेसन यो टोलीको हेर्नलायक पक्ष रहनेछ। पीएसजीबाट खेल्ने अट्याकिङ मिडफिल्डर लि काङ पनि कोरियाका लागि महत्त्वपूर्ण खेलाडी हुन्।

चेकिया

यो समूहको युरोपेली टोली चेकिया अर्को चरणमा पुग्ने लक्ष्यमा छ। चेकिया यो समूहमा विश्वकपको दुई पटकको उपविजेता टोली हो। सन् १९३४ मा इटली र सन् १९६२ मा ब्राजिलसँग फाइनलमा हार ब्यहोरेको यो टोली युरोपको बलियो टोली हो।

युरोप छनोटमा क्रोएसियाभन्दा पछि परेपछि प्लेअफमा आयरल्याण्ड र डेनमार्कलाई हराएर उसले विश्वकपमा स्थान बनाएको थियो। सन् २००६ पछि पहिलो पटक चेकिया विश्वकपमा फर्किएको हो। प्याट्रिक सिकजस्ता गोल गर्ने खेलाडी र भ्लादिमिर डारिडा जस्ता अनुभवी खेलाडीले यो टोली थप बलियो बनेको छ।