BIZMANDU
www.bizmandu.com

शासकीय सुधारका अधिकांश कार्यक्रम सम्पन्न गरेको सञ्चार मन्त्रालयको दाबी

२०८३ जेठ २७

शासकीय सुधारका अधिकांश कार्यक्रम सम्पन्न गरेको सञ्चार मन्त्रालयको दाबी
शासकीय सुधारका अधिकांश कार्यक्रम सम्पन्न गरेको सञ्चार मन्त्रालयको दाबी

काठमाडौं। सूचना तथा सञ्चार मन्त्रालयले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा समावेश आफूसँग सम्बन्धित अधिकांश कार्यक्रम सम्पन्न भएको दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

मन्त्रालयले अधिकांश कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको दाबी गरेको हो। सेवा प्रवाहलाई सरल, छिटो र परिणाममुखी बनाउने उद्देश्यले बिजनेस प्रोसेस रि-इन्जिनियरिङ कार्यक्रम अन्तर्गत गठन गरिएका समितिले प्रारम्भिक काम पूरा गरेको मन्त्रालयले जनाएको छ।

समितिले विद्यमान प्रक्रिया अध्ययन गरी अनावश्यक चरण हटाउने तथा सेवा सरलीकरणका लागि प्रतिवेदनको मस्यौदा तयार गरिसकेका छन्।

आर्थिक अनियमितता, ढिलासुस्ती र सेवाग्राहीप्रति असहज व्यवहार न्यूनीकरण गर्ने उद्देश्यले कर्मचारी आचारसंहिता तयार गरी लागू गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कर्मचारीको कार्यसम्पादनलाई नतिजासँग जोड्ने कार्यक्रम भने पूर्ण हुन सकेको छैन। प्रत्येक पदका लागि वस्तुनिष्ठ कार्यसम्पादन सूचक तयार गर्ने काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रत्येक मन्त्रालयलाई प्रमुख १० कार्य पहिचान गरी कार्ययोजना तयार गर्न निर्देशन दिएको थियो। सञ्चार मन्त्रालयले तोकिएको समयभित्र कार्ययोजना तयार गरी प्रधानमन्त्री कार्यालयमा बुझाएको छ।

सञ्चार मन्त्रालयले फ्रन्ट डेस्कमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक विवरण संकलन र तालिम आवश्यकताको सूची तयार गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी तथा नतिजामुखी बनाउने उद्देश्यले अघि सारिएका सुधार कार्यक्रमलाई तोकिएको समय अगावै कार्यान्वयनमा लान मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

उनले कार्यान्वयनका क्रममा कुनै समस्या देखिए सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधानको पहल लिन पनि भनेका छन्।

डिजिटल प्रशासन र कार्यालय पुनर्संरचनातर्फ पनि उल्लेख्य प्रगति हासिल गरेको मन्त्रालयको दाबी छ।

मन्त्रालयका अनुसार हुलाक सेवालाई ‘गभर्नमेन्ट कुरियर सर्भिस’मा रूपान्तरण गर्ने योजना कार्यान्वयनको अन्तिम चरणमा छ। हालसम्म विभिन्न ६२ वटा जिल्लाबाट हुलाकले सरकारी कागजात व्यक्तिको घरसम्म पुर्‍याउन थालेको छ। हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले बाँकी जिल्लामा पनि केही दिनभित्रै यो सेवा सुरु हुने बताइन्।

घरदैलोमा राहदानी सेवाअन्तर्गत ६० हजार ४४६ राहदानी हुलाकमार्फत् जिल्लामा ढुवानी गरिएको छ भने ३ हजार ११३ राहदानी सेवाग्राहीको घरमा पुर्‍याइएको छ।