काठमाडौं। फिफा विश्वकप संसाभर सबैभन्दा धेरै हेरिने खेल प्रतियोगिता हो। ४/४ वर्षको अन्तरालमा हुने फुटबल खेलको यो महाकुम्भ यही साता फिफा विश्वकप अमेरका, मेक्सिको र क्यानडामा सुरु हुँदैछ। यसपालि ४८ टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रदैछन्।
फाइनल पुगेर प्रतिष्पर्धीलाई पराजित गर्ने टोलीले सुनको ट्रफी उचाल्छन्। यो सौभाग्य पछिल्लो विश्वकपमा अर्जेन्टिनाले पाएको थियो। फाइनल खेलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ट्रफी उचालेको थियो। यो ट्रफी कहिले बनेको थियो? यसमा कति सुन हुन्छ होला? फुटबल समर्थकहरुको चासो यसमा पनि हुने गरेको छ।

यो विश्वकै सबैभन्दा जित्न गाह्रो ट्रफीहरूमध्ये एक हो। यसपाला ४८ देश उत्रँदैछन् यो ट्रफीका लागि। विश्वकप पुग्न नेपालसहित २०० बढी देशहरुले छनोट खेलेका थिए। यो छनोटमा नै कति धेरै प्रतिस्पर्धा छ भन्ने देखाउन उपयुक्त उदाहरण हो इटली। दुई पटकको विश्वकप विजेता रहिसकेको इटली यसपाला पनि युरोप छनोट पार गरेर विश्वकपमा पुग्न असफल रह्यो। दक्षिण एसियाका कुनै देश विश्वकपमा छैनन् भने चीनजस्तो उदीयमान देश पनि विश्वकपमा छैन। शताब्दी लामो इतिहासमा अहिलेसम्म केवल आठ देशले मात्र यो ट्रफी उचाल्न पाएका छन्।
सबैभन्दा धेरै पटक यो ट्रफी ब्राजिलले जितेको छ। त्यसपछि जर्मनीले ४, अर्जेन्टिनाले ३, फ्रान्स र उरुग्वेले दुई तथा स्पेन र इङ्ग्ल्याण्डले समान १ पटक विश्वकप जितेका छन्।
मैदान भन्दा बाहिर ट्रफीको पनि आफ्नै इतिहास छ। आरोह अवरोह छन्।
१८ क्यारेट सुनले बनेको ट्रफी
फिफा विश्वकपका लागि हालसम्म दुईवटा ट्रफी बनेका छन्।
पहिलो ट्रफी ‘जुल्स रिमे ट्रफी’ थियो। सुरुमा यो ट्रफीको नाम ‘भिक्ट्री’ राखिएको थियो पछि गएर फिफाको पहिलो अध्यक्षको नाममा राखियो।
फ्रान्सेली मूर्तिकार आबेल लाफ्लरले यसलाई डिजाइन गरेका थिए। यो सुन र चाँदीबाट बनेको थियो जसमा लापिस ल्याजुली पत्थरको आधारमा माथि ग्रिक सभ्यतामा विजयकी देवी नाइकीको आकृति थियो। विश्वकपको पहिलो विजेता बन्दै उरुग्वेले यो ट्रफी उचालेको थियो।
ब्राजिलले सन् १९७० मा तेस्रो पटक विश्वकप जितेपछि त्यो ट्रफी आफूसँगै राख्यो। र, फिफाले नयाँ ट्रफी बनाउनु परेको थियो। अहिलेको ट्रफी डिजाइन इटालियन कलाकार सिल्भियो गाजानिगाले गरेका हुन्। सन् १९७४ यता गाजानिगाले डिजाइन गरेको ट्रफी छ।

अहिलेको ट्रफी पहिलो पटक सन् १९७४ मा पश्चिम जर्मनीले उचालेको थियो।
यो ट्रफीको कुल तौल ६.१४२ किलोग्राम छ। ट्रफीभित्र खोक्रो भए पनि यसमा करिब पाँच किलोग्राम शुद्ध सुन छ। यसको मूल्य अप्रिल २०२६ सम्ममा झन्डै ५ करोड ५० लाख रुपैयाँ (५५०,००० डलर) बराबर हुन्छ। तर विश्वखेलकुदको यस्तो अनमोल ट्रफी कसैले किन बेचोस्?
यसर्थ आज हामी देख्ने ट्रफी विश्वकपको सुरुबाटै आएको ट्रफी भने होइन।
लुकाइएको थियो जुत्ताको बाकसमा
दोस्रो विश्वयुद्धको समयमा फिफा का उपाध्यक्ष ओट्टोरिनो बारासीले ट्रफी रोमको एउटा बैंक भल्टबाट निकालेर आफ्नो ओछ्यान मुनि जुत्ताको बाकसमा लुकाएका थिए। उनको उद्देश्य यो लुटपाटमा नपरोस् भन्ने थियो।
जर्मन नाजी सेनाको कब्जामा रहेको रोममा उनले त्यो अनमोल ट्रफी बैंक भल्टबाट निकाले र आफ्नो घरमा ओछ्यानमुनि जुत्ताको बाकसमा लुकाइराखे। संसारको सबैभन्दा प्रतिष्ठित खेलकुद पुरस्कार एउटा जुत्ताको बाकसभित्र रह्यो। त्यो साधारण लाग्ने निर्णयले नै ट्रफीलाई इतिहासको सबैभन्दा ठूलो अँध्यारोबाट जोगायो।
भएको थियो दुई पटक चोरी पनि
विश्वपकपको ट्रफी एकपटकमात्र नभएर दुई पटक चोरी भइसकेको छ।
विश्वयुद्धपछि विश्वकप फेरि सुरु भयो र ट्रफीले आफ्नो यात्रा जारी राख्यो। त्यसपछि ब्राजिल, इङ्ग्ल्याण्ड, इटाली, उरुग्वे गर्दै एकपछि अर्को देशले यो ट्रफी उचाले।
सन् १९६६ मा एउटा अकल्पनीय घटना भयो। इङ्ग्ल्याण्डमा विश्वकप सुरु हुनुभन्दा केही महिनाअघि ट्रफी लन्डनको एउटा सार्वजनिक प्रदर्शनीबाट चोरियो। पूरा बेलायत स्तब्ध भयो। प्रहरी खोजीमा लाग्यो तर सफलता मिलेन।
विश्वकपको ट्रफी भेट्टायो ‘पिकल्स’ नामको एउटा कुकुरले। आफ्नो मालिकसँग दक्षिण लन्डनको एउटा बगैँचामा हिँड्दा पिकल्सले एउटा पत्रिकामा बेरिएको प्याकेज सुँघ्यो। त्यहीँ थियो – विश्वकप ट्रफी। विश्वकपको ट्रफी एउटा कुकुरले फेला पारेको थियो जो मानिसहरूले खोज्न सकेनन्।
त्यही वर्ष इङ्ग्ल्याण्डले आफ्नो एकमात्र विश्वकप उपाधि जित्यो। त्यो उपाधि पछि विजय भोजमा पिकल्सलाई आमन्त्रण गरिएको थियो।
दोस्रो पटक विश्वकप ट्रफी ब्राजिलबाट हरायो।
सन् १९७० मा ब्राजिलले तेस्रो पटक विश्वकप जित्यो र ‘जुल्स रिमे ट्रफी’को स्थायी स्वामित्व पायो। तर कथा यहाँ सकिएन। सन् १९८३ मा रियो डि जेनेरोमा ब्राजिलको फुटबल महासंघ मुख्यालयबाट त्यो ट्रफी फेरि चोरियो।

यसपटक कुनै पिकल्स आएन। ट्रफी कहिल्यै फेला परेन। विज्ञहरूको अनुमानमा सम्भवतः त्यो पगालिएको थियो। इतिहासको एउटा अनमोल टुक्रा सधैंका लागि हरायो।
सन् १९७४ को विश्वकपदेखि हामीले चिन्ने अहिलेको ट्रफी प्रयोगमा आयो। इटालियन कलाकार सिल्भियो गाज्जानिगाले यसलाई डिजाइन गरेका थिए। ५० भन्दा बढी कलाकारहरूको प्रतिस्पर्धामा उनको डिजाइन छानियो। १८ क्यारेट सुनले बनेको, ३६ सेन्टिमिटर अग्लो, ६.१४२ किलोग्राम तौलको यस ट्रफीमा दुई मानव आकृतिले पृथ्वी उचालेको दृश्य छ। पहिलो पटक पश्चिम जर्मनीले यो ट्रफी उचाल्यो। त्यसपछि अर्जेन्टिना, इटाली, फ्रान्स, ब्राजिल, स्पेन एकपछि अर्को देशले आफ्नो नाम यस ट्रफीसँग जोड्दै गए।
असली ट्रफीको घर हो स्विट्जरल्याण्ड
विश्वकप जित्ने देशले ‘विश्वकप विजेता ट्रफी’ भनिने अलग कपि पाउँछ। असली ट्रफी भने स्विट्जरल्याण्डको ज्युरिखस्थित फिफा संग्रहालयमा सुरक्षित राखिएको छ।
प्रत्येक विश्वकपको नतिजापछि ट्रफीको आधारमा एउटा प्लेट थपिन्छ जसमा नयाँ विजेताको नाम अंकित हुन्छ।
सन् २०१४ को विश्वकप जितेपछि जर्मनी टोलीले बर्लिनमा यति जोशले उत्सव मनायो कि ट्रफीको एउटा सानो टुक्रा टुटेर गयो। जर्मन फुटबल संघका अध्यक्षले यो स्वीकार गरे। यो विनर ट्रफी थियो। स्विट्जरल्याण्डमा रहने मूल ट्रफी होइन।
मूल ट्रफी कहिलेकाहीँ ‘विश्वकप ट्रफी टुर’ वा ड्र कार्यक्रम र फाइनलको लागि यात्रा गरिन्छ। तर यसलाई विशेष एजेन्टहरूको कडा सुरक्षामा अत्यन्त सावधानीपूर्वक ओसारिन्छ।

ट्रफी छुने विषयमा कडा नियम छ। केवल विश्वकप विजेताहरू र राष्ट्र प्रमुखहरूले मात्र असली सुनको ट्रफीलाई नांगो हातले छुन पाउँछन्। अरू सबैले पन्जा लगाउनु अनिवार्य छ।