BIZMANDU
www.bizmandu.com

विश्वकपमा जाँदा अध्यागमनबाट फर्काइएका एन्फा महासचिवले भने: विशेष कानुन बनाइ फाँसी होस्

२०८३ जेठ २६

विश्वकपमा जाँदा अध्यागमनबाट फर्काइएका एन्फा महासचिवले भने: विशेष कानुन बनाइ फाँसी होस्
विश्वकपमा जाँदा अध्यागमनबाट फर्काइएका एन्फा महासचिवले भने: विशेष कानुन बनाइ फाँसी होस्

काठमाडौं। फिफा विश्वकपका लागि मेक्सिको हिडेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई विमानस्थलबाट फर्किए। उनीहरुको राहदानी सरकारले कालो सूचिमा राखेकाले उनीहरु अध्यागमनबाटै फर्किन पुगे।

Tata
GBIME
Nepal Life

राखेपसँग एन्फाको चुनावदेखि कडा टकराव सुरु भएको थियो। पछि राखेपले एन्फामाथिको निलम्बन फुकुवा गरे पनि राहदानी भने कालो सूचिबाट हटाएन।

एन्फाका महासचिव किरण राईले यो घटनालाई फुटबलमा तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको दाबि गरेका छन्।

उनले फिफा र एएफसीको पटक पटकको निर्देशन पछि पनि एन्फा माथि अनुचित हस्तक्षेप नरोकिएको भन्दै राखेपलाई जति बुझाउने प्रयास गर्दा पनि नबुझेको आरोप लगाए।

‘अब हामिलाई रोकेपछि फुटबल खेल नेपालमा राम्रो हुन्छ भने शुभकामना छ सरकार,’ राईले भने, ‘विदेश जान ब्यक्तिगत रुपमा कुनै विशेष मोह छैन तर फिफाले सन्सार भरिका २११ देशको अध्यक्ष र महासचिवलाई निमन्त्रणा गर्दछ (फिफाको सम्पुर्ण खर्चमा) र विश्वकप फुटबलको उद्घाटन समारोहमा सहभागी गराई केही दिनको आगामी चार बर्षको बजेट र फुटबल बिकास कार्यक्रमको बारे फुटबल समिट रहेको हुदा देशको लागि महत्त्वपूर्ण थियो जुन कुरा हिजो राखेप लाई बुझाउने प्रयास गरियो तर बुझनु भएन।’

राईले आफूहरुलाई रोकिन्छ भन्ने थाह हुँदाहुँदै निर्धारित समयमा विमानस्थल गएको दाबि गरेकाछन्।

‘हामीलाई रोकिन्छ भन्ने पूर्व सुचना हुँदाहुँदै पनि आज हामी निर्धारित समएमा एअरपोर्ट गएका हौँ,’ उनले दाबि गरे, ‘यदि हामीले फिफाको कार्यक्रममा सहभागी हुन नसकेको उचित कारण दिन नसक्दा फिफाले हामी माथि नै प्रश्न खडागर्ने अवस्था आउने थियो। किनकी राखेपले निलम्बन फुकुवा गरेको भन्ने पत्र फिफा र एएफसीमा पत्राचार भएको थियो।’

उनले सरकारलाई बुझाउन नसकिएको भन्दै फुटबल विकासकै लागि काम गर्दा पनि यस्तो व्यवाहार भएको आरोप लगाए।

‘हामीले पनि देशकोलागी काम गर्न खोजेको हो सरकारलाई देश निर्माणमा सघाउनै खोजेको हो तर हामी रोकिदा नै सरकार सफल हुन्छ भने फेरि भन्छु शुभकामना छ सरकार फुटबलको जय होस,’ उनले भने, ‘एउटा प्रश्न चाहिँ गर्छु है सरकार? के हामीले राज्य कै कालोसूचि मै रहने गरी आर्थिक, फौजदारी वा देश द्रोह हुने खाल्को अपराध गरेका छौ? त्यसो हो भने विशेष कानुन बनाई हामिलाई फाँसी होस सरकार।’

फिफा विश्वकप शुक्रबारबाट अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ।