काठमाडौं। सरकारले पूर्वाधार विकास मन्त्रालयमातहत ठोस योजनाविना नै विभिन्न तीन वटा शीर्षकमा डेढ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
सरकारले पूर्वाधार विकास मन्त्रालय मातहत स्थानीय पर्यटकीय मार्ग पूर्वाधार विकास कार्यक्रम, स्थानीय तहको केन्द्र देखि वडा केन्द्र जोड्ने सडक विकास कार्यक्रम र रणनीतिक कृषि सडक विकास कार्यक्रम राखेर १ अर्ब ४८ करोड ६८ लाख रुपैयाँ छुट्याएको हो। तर ती कार्यक्रम अन्तर्गत कहाँ कुन सडक बनाउने भन्ने मन्त्रालयगत पुस्तिकामा उल्लेख छैन।
ठोस योजनाविनै हरेक प्रदेशमा तीन वटै कार्यक्रमका लागि ७/७ करोड रुपैयाँका दरले बजेट छुट्याइएको छ। तीनवटै कार्यक्रम स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले कार्यान्वयन गर्ने भनिएको छ। तर ती कार्यक्रम अन्तर्गत बनाउने सडकको टुंगो लाग्नै बाँकी छ।
त्यसैले तीन वटै कार्यक्रमको अध्ययन र कार्यविधि/मापदण्ड तयार गर्न स्थानीय पूर्वाधार विकास विभागलाई ५६ लाखका दरले १ करोड ६८ लाख रुपैयाँ छुट्याइएको छ।