काठमाडौं । विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधा र कागजात प्रमाणीकरण प्रक्रियामा नयाँ व्यवस्था लागू गरिएको छ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार विद्यार्थीहरूको भिसा प्राप्ति, नवीकरण तथा निर्वाह खर्च व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विदेशी मुद्रा सटही सहजीकरण गरिएको हो।
नयाँ व्यवस्थाअनुसार यदि कुनै देशको राजदूतावास वा सरकारी निकायले विद्यार्थीको नाम वा खातामा केन्द्रिय बैंकले तोकेको ‘परिवर्त्य विदेशी मुद्रा सूची’मा समावेश नभएको स्थानीय मुद्रामा निश्चित रकम देखाउनुपर्ने शर्त राखेको अवस्थामा सोही आधारमा आवश्यक विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराइनेछ।
यसरी सटही गर्दा विनिमय दरमा हुन सक्ने उतारचढावका कारण थप खर्च यकिन गर्न कठिन भएमा पठाउनुपर्ने कुल रकममा अधिकतम पाँच प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रामा रकम पठाउन सकिने व्यवस्था गरिएको छ।
यसैगरी, कागजात प्रमाणीकरण प्रक्रियामा पनि लचकता अपनाइएको छ। यसअघि एकीकृत परिपत्र–२०८२ अनुसार पेस गरिने सम्पूर्ण कागजात ‘सक्कलै’ (ओरिजिनल) हुनुपर्ने प्रावधान थियो। तर, प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै अब डिजिटल हस्ताक्षरबाट प्रमाणित कागजातलाई पनि मान्यता दिने निर्णय गरिएको छ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा सो ऐनअन्तर्गत बनेका नियमावलीअनुसार विधिवत् डिजिटल हस्ताक्षर गरिएको कागजातलाई आधिकारिक मान्यता प्रदान गरिनेछ। यस व्यवस्थाले विदेशमा रहेका विद्यार्थीहरूलाई कागजी झन्झटबाट मुक्ति दिलाउनुका साथै प्रक्रिया छिटो, पारदर्शी र सहज हुने विश्वास गरिएको छ।
नयाँ प्रावधानले विद्यार्थी तथा अभिभावकलाई विदेशी मुद्रा व्यवस्थापन र कागजात प्रमाणीकरण सम्बन्धी प्रक्रिया सरल बनाउने अपेक्षा गरिएको छ।