काठमाडौं । भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरि भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानीको सुरुवात भएको छ।
यो साझेदारीसँगै नेपाल र भारतबीच हुने क्रसबोर्डर रेमिट्यान्स अब रियल टाइम, सुरक्षित र कम मुल्यमा गर्न सकिने जनाइएको छ।
भारतमा रहेका भारतीय र नेपाली प्रयोगकर्ता तथा नेपालमा रहेका भारतीय प्रयोगकर्ताहरुले सहजै व्यक्ति – व्यक्तिबीच (पी टु पी) फण्ड ट्रान्सफर गर्न सक्नेछन्।
हाल केही बैंकहरुमा उपलब्ध रहेको उक्त सेवा क्रमिक रुपमा अन्य बैंकहरुमा पनि विस्तार गरिने जनाइएको छ।
यस इन्ट्रिग्रेसनलाई वित्तीय समावेशिकरण, बलियो आर्थिक र डिजिटल सम्बन्धलाई बढावा दिने महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिइएको छ। क्रस बोर्डर भुक्तानीलाई सहज तथा पहुँचयोग्य बनाउने उद्देश्यअनुरुप यस इन्टिग्रेशनले दुवै देशको फास्ट पेमेन्ट सिस्टमबीच अन्तरआबद्धता स्थापना गर्दै यसले भारत र नेपालबीचको दीर्घकालिन सामाजिक, संस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
भारतीय तथा नेपाली प्रयोगकर्ताहरुले आफ्नो मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट अड्रेस (भीपीए) मार्फत नेपालमा रकम पठाउन सक्नेछन्। त्यस्तै, भारतीय प्रयोगकर्ताहरुले नेपालबाट आफ्नो यूपीआई आइडी प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन्। यस प्रक्रियाले संवेदनशील बैंक खाताको विवरणहरु आदानप्रदान गर्नुपर्ने आवश्यकता हटाउँदै प्रयोगकर्ताहरुलाई सरल, सुरक्षित तथा सुविधाजनक अनुभव प्रदान गर्ने जनाइएको छ।
यस साझेदारीका सम्बन्धमा एनपीसीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भने, ‘एनसीएचएलसँग सहकार्य गरेर नेपाल भारत बीच क्रस बोर्डर रेमिट्यान्स सुरु गर्न पाउँदा हामी अत्यन्त खुसी छौं। यस पहल सँगै नवीनतम प्रविधिको उपयोग गर्दै ग्लोबल समुदायको बदलिँदो आवश्यकतालाई पूरा गर्ने हाम्रो प्रतिबद्धता रहेको छ। क्रस बोर्डर रेमिट्यान्सका लागि रियल टाइम, कम मुल्य तथा सुरक्षित माध्यम निर्माण गर्दै हामीले दुवै देशको रेमिट्यान्सलाई सरल बनाउनका साथै वित्तीय समावेशीतालाई पनि प्रोत्साहन हुने अपेक्षा गरेका छौं।’
उक्त नवीन सेवा मार्फत दुवै संस्थाबीचको इन्ट्रिग्रेसनले कारोबारहरु रियल टाइममै सम्पन्न हुने जनाइएको छ। यसले रेमिट्यान्समा निर्भर हुने लाखौं परिवारहरुलाई विशेष सहयोग पुग्ने भनिएको छ। परम्परागत क्रसबोर्डर रेमिट्यान्स प्रणालीसँग सम्बन्धित लागतलाई कम गर्दै यो नयाँ सेवाले क्रसबोर्डर रकम पठाउने व्यक्ति तथा परिवारहरुलाई पारदर्शी तथा प्रभावकारी सेवा उपलब्ध गराउने भनिएको छ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले भने,’नेपाल र भारतबीचको सहकार्य मार्फत रियल टाइम र सुविधाजनक रियल टाइमक्रस बोर्डर फण्ड ट्रान्सफर सफलतापूर्वक शुभराम्भ भएको छ। डिजिटल भुक्तानीको यस यात्रामा नवीनतम प्रविधि तथा थप सेवाहरु विस्तार गर्दै दुवै देशका लाखौं व्यक्ति तथा व्यवसायहरुलाई समावेश गर्नुका साथै पहुँच बढाउन सहकार्य गर्न प्रतिवद्ध रहेका छौं।’
एनपीसीआई इन्टरनेशनल र एनसीएचएलबीचको यस सहकार्यले भारत र नेपालबीचको आर्थिक करिडोरलाई थप सशक्त बनाउनुका साथै डिजिटल पेमेन्टको क्षेत्रमा एक महत्वपूर्ण कदमको सुरुवात भएको दुवै कम्पनीले जनाएको छ। यस पहलले दुवै देशको वित्तीय प्रणालीलाई दिगो र सुद्दढगर्नुका साथै सुरक्षित र पारदर्शी गर्दै लाग्ने अपेक्षा छ। यो सहकार्यमार्फत भारत र नेपालले अन्तरआवद्ध, रियल टाइम भुक्तानी प्रणालीको एक प्रभावकारी मोडल निर्माण गरेको र यसलाई अन्य देशहरुले पनि अनुसरण गर्न सक्ने अपेक्षा गरिएको छ।