काठमाडौं । प्रतिपक्षी दलहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भनेको बारे माफी मागर्नुपर्ने प्रतिपक्षी दलको अडानका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो।
सभामुख डोल प्रसाद अर्यालले बैठक सुरु भएको घोषणा गर्ना साथ विपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए। विपक्षी सांसदहरुले बोल्ने क्रममा शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने तथा माफी माग्नुपर्ने माग गरे।

प्रतिनिधि सभाको मंगलबारकै बैठकमा प्रतिपक्षी दलहरुले विरोधकै शैली पनि फेरेका छन्।
विरोध स्वरुप शहिदका नाममा प्रतिपक्षी दलले ५ मिनेट मौन धारण गरेका थिए। विपक्षीको मौन धारणले सभाको अपमान भएको अर्यालले बताएका थिए भने सत्ता पक्षका सांसदहरुले नियमापत्ति गरे।

प्रतिपक्षी दलहरुले अर्थ विधेयकमा करका दर आफूखुसी फेरबदल गरेको भन्दै अर्थमन्त्रीको राजीनामा पनि मंगलबारको बैठकमा माग गरे। अर्थमन्त्री वाग्लेलाई बोल्नका लागि सभामुख अर्यालले समय दिएका थिए। तर, प्रतिपक्षी दलहरु आफ्नो अडानबाट पछि हटेनन्।
विपक्षी दलका सांसदहरुले बोल्ने क्रममा सभामुखको आलोचना गरेपछि अर्यालले प्रतिनिधि सभा नियमावली २०८३ को नियम २१ को ‘ख’ को नियम सम्झाएका थिए।
उक्त नियममा सभामुखले पद अनुकूल आचरण नगरेको प्रस्तावमा बाहेक सभामुखको आलोचना गर्न नहुने उल्लेख छ।











