काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गृह मन्त्रालयको नेतृत्व फेरि सुधन गुरुङलाई नै दिन लागेका छन्।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठित छानबिन समितिले क्लिन चिट दिएसँगै प्रधानमन्त्री बालेनले सुधनलाई गृहमन्त्री बनाउन लागेका हुन्। प्रधानमन्त्री बालेनले सुधनलाई गृहमन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरिसकेको स्रोतले बताएको छ।
स्रोतका अनुसार मंगलबार अपराह्न ३ बजे सुधनलाई गृहमन्त्रीमा शपथ गराउने तय भएको छ। ‘सुधनजीलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीज्यूले राष्ट्रपतिसमक्ष सिफारिस गरिसक्नु भएको छ,’ प्रधानमन्त्री बालेन निकट स्रोतले भन्यो, ‘शपथको समय तय भइसकेको छ।’
सम्पत्तिको स्रोतलाई लिएर प्रश्न उठेपछि सुधनले मन्त्री नियुक्त भएको २६औं दिनमा गत वैशाख ९ गते राजीनामा दिएका थिए।
सुधनले प्रधानमन्त्री कार्यालयमा बुझाएको जग्गा र सुनको स्रोत तथा बिचौलिया दीपक भट्टको कम्पनीमा गरेको सेयर लगानीलाई लिएर प्रश्न उठेपछि मन्त्रिपरिषद्ले वैशाख २८ गते छानबिन समिति गठन गरेको थियो। त्यो समितिले जेठ २२ गते सुधनलाई क्लिन चिट दिंदै प्रतिवेदन बुझाएको थियो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।

सुधन गत चैत १३ गते पनि बालेनकै जोडबलमा गृहमन्त्री बनेका थिए। त्यतिखेर डीपी अर्यालले गृहमन्त्रीमा दाबी गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि डीपीलाई नै गृहमन्त्री बनाउन चाहेका थिए।
तर बालेनले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने सर्त राखेपछि डीपी ब्याक भएका थिए।
सुधन बालेनको सर्त अनुसार काम गर्न तयार भएपछि गृहमन्त्री बनेका थिए। उनले बालेनसँगको सर्त अनुसार नै ओली र लेखकलाई भोलिपल्ट बिहानै पक्राउ गरेका थिए।