फिफा विश्वकप नजिकिँदै गर्दा सहभागी टोलीहरुको चर्चा सुरु भइसकेको छ। विश्वकपमा उपाधिको दाबेदार टोलीका रुपमा धेरैजसो विश्लेषक र समर्थकहरुले लिइरहेको नामहरु हुन् अर्जेन्टिना, ब्राजिल, जर्मनी, पोर्चुगल, फ्रान्स, स्पेन या इङ्ग्ल्याण्ड। नेपालकै सन्दर्भमा हेर्दा पनि ४८ देशले सहभागिता जनाए पनि यहाँ बिक्ने जर्सी यिनै टोलीका हुन्।
तर, विश्वकपमा नजिता सँधै सोचेजस्तो आउँछ भन्ने होइन। हरेकजसो विश्वकपमा कुनै फरक टोलीले असामान्य प्रदर्शन गर्दै ‘हेभिवेट’ टोलीलाई हराउने क्षमता राख्छ। यस्ता टोलीलाई भनिन्छ : डार्क हर्स।
यसअघिका फिफा विश्वकपमा पनि यस्तो भएको छ। २०२२ को कतार विश्वकपको सेमिफाइनल पुगेको मोरोक्को यस्तै एउटा टोली थियो। सन् २०१८ मा कम आँकिएको क्रोएसिया त फाइनल नै पुगेको थियो। सन् २०१४ मा ग्रुप अफ डेथ मानिएको समूहमा कोस्टारिकाले चमत्कार नै गरेको थियो। त्यसबेला उसले उरुग्वे, इटली र इङ्ग्ल्याण्डलाई पछि पारेर समूह विजेता बनेको थियो।
त्यस्तै, सन् २०१० मा उरुग्वे सेमिफाइनल पुग्न सफल भएको थियो। सन् २००२ त डार्कहर्स टोलीहरुकै दबदबा थिए। त्यसबेला सेनेगलले डेब्यू विश्वकपमै क्वाटरफाइनल पुग्दा दक्षिण कोरिया र टर्कीले सेमिफाइनल नै खेलेका थिए।
यसपाली पनि चर्चामा आएका टोलीभन्दा बाहिर हरेक महादेशबाट यस्ता टोली छन् जसले जस्तोसुकै ‘हेभिवेट’ टोलीलाई निराश बनाउने क्षमता राख्छन्।
पाँच महादेशका ‘डार्क हर्स ‘ टोली यी बन्न सक्छन् :
एसिया : कसैलाई नटेर्ने जापान
एसियाली ‘जायन्ट’ जापानको चर्चा विश्वकपका दाबेदारमा छैन। तर, जापान अवमूल्यन गर्नै नसकिने टोली हो भनेर पटकपटक उसले प्रमाणीत गरिसकेको छ।
सन् २०२२ को विश्वकपमा समूह चरणका सबैभन्दा प्रभावशाली प्रदर्शनमध्ये दुई जापानका थिए। जापानले उपाधिकै दाबेदारमध्येको जर्मनीलाई २–१ ले हराएको थियो, त्यो पनि २६ प्रतिशत बल पोसेसनमा। त्यसपछि स्पेनलाई पनि समान २–१ को नतिजामा स्तब्ध पार्दा जापानसँग बलको नियन्त्रण मात्र १८ प्रतिशत थियो।

लामो समयदेखि टोली सम्हालिरहेका प्रशिक्षक हाजिमी मोरियसुको नेतृत्वमा रहेको यो टोलीले ठूला टोलीलाई स्तब्ध पार्ने क्षमता राख्छ। मार्चमा जापानले वेम्बलीमा इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो भने गत वर्ष ब्राजिललाई ३–२ ले हराएको थियो।
मोरियासुले रणनीतिक रूपमा परिपक्व टोली तयार गरेका छन्। उनले ३-४-३ को संरचना बनाएका छन्। यसमा स्ट्राइकर अयासे उएडा छन् भने विङब्याकमा गति र आक्रामकता उपयोग गरिन्छ। जापानसँग टाकेफुसा कुबो र जुन्या इटो जस्ता उत्कृष्ट ‘क्रिएटिभ’ खेलाडी छन्।
जापानले विश्वकप छनोटका दुवै चरणमा शीर्ष स्थान हासिल गरेको थियो। एसियाबाट विश्वकप छनोट हुने क्रममा जापानले कुल ३० गोल गर्दै महादेशकै सर्वाधिक गोल गर्ने टोलीको रूपमा प्रतियोगितामा स्थान बनायो। यद्यपि, जापानले अहिलेसम्म विश्वकपको नकआउट चरणमा कुनै खेल जित्न सकेको छैन। यही उपलब्धि यस पटकको प्रमुख लक्ष्य बनेको छ।
सन् २०२४ को सुरुवातमा जापान एएफसी एसियन कपको क्वार्टरफाइनलमा इरानसँग पराजित हुँदै बाहिरिएको थियो। जापानले शक्तिशाली टोलीलाई हराउने क्षमता बारम्बार देखाएको छ। तर, अब आफ्नो स्तरका प्रतिस्पर्धीविरुद्ध पनि निरन्तर सफलता हासिल गर्ने चुनौती सामना गरिरहेको छ।
उत्तर अमेरिका – नपत्याउँदो लयको मेक्सिको
मेक्सिको विश्वकपको सहआयोजक पनि हो। उद्घाटन खेलमा उसले दक्षिण अफ्रिकाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ। यो सन् २०१० को विश्वकपको उद्घाटन खेलकै पुनरावृत्ति हुनेछ।
प्रशिक्षक जेभियर एजुरीकोटोली अपेक्षाकृत अनुकूल समूहमा छ। यो समूहमा चेक रिपब्लिक र दक्षिण कोरिया पनि रहेका छन्।

मेक्सिको सन् २०२६ मा अहिलेसम्म अपराजित छ। उसले पाँच खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ।
मेक्सिकोले ४-३-३ संरचनामा खेल्ने गर्छ। उसको केन्द्रमा कप्तान तथा रक्षात्मक मिडफिल्डर एडिसन अल्भारेज रहन्छन्। आक्रमणको नेतृत्व रउल जिमेनेजले गर्छन्। उनले १२५ अन्तर्राष्ट्रिय खेलमा ४४ गोल गरिसकेका छन्। मेक्सिकोका सर्वाधिक गोलकर्ता जेभियर हर्नान्डेनको कीर्तिमान बराबरी गर्न उनलाई अझै आठ गोल आवश्यक छ।
हालका प्रतियोगिताहरूमा मेक्सिकोले आफ्नो क्षमता प्रमाणित गरेको छ। गत समरमा उसले कन्मेकाफको उपाधि जित्नेक्रममा फाइनलमा अमेरिकालाई २–१ ले पराजित गरेको थियो। त्यसअघि तीन महिनाअघि सम्पन्न नेशन्स लिगमामा पनि मेक्सिको च्याम्पियन बनेको थियो। उक्त प्रतियोगिताको सेमिफाइनलमा उसले क्यानडालाई २–० ले हराएको थियो भने फाइनलमा जिमेनेजको दुई गोलको मद्दतमा पानामालाई २–१ ले पराजित गरेको थियो।
मेक्सिकोको मुख्य लक्ष्य ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित हासिल गर्नु हो। सन् १९९४ देखि २०२२ सम्मका सबै विश्वकपमा मेक्सिको समूह चरण पार गर्न सफल भए पनि प्रत्येक पटक क्वार्टरफाइनल पुग्न असफल रह्यो।
चार वर्षअघि भने गोलअन्तरका आधारमा समूहमा तेस्रो स्थानमा रहँदै प्रारम्भिक चरणमै बाहिरिएको थियो। त्यसैले यसपटक टोली आफ्नो प्रतिष्ठा पुनर्स्थापित गर्न चाहन्छ।
अर्को महत्वपूर्ण पक्ष के हो भने अग्विरेले यसअघि सन् २००२ र २०१० का विश्वकपमा पनि मेक्सिकोको प्रशिक्षण सम्हालिसकेका छन्। मेक्सिकोले यदि उसले समूह विजेताबन्न सके अन्तिम ३२ र अन्तिम १६ का खेलहरू घरेलु मैदान स्टेडिय अजटेकामा खेल्न पाउनेछ। यो उसको विश्वकपमा सबैभन्दा बलियो उपस्थिति जनाउने अवसर बन्न सक्छ।
युरोपको गोलमसिन बन्नसक्छ नर्वे
नर्वे विश्वकपमा फर्किएको छ। उसले विश्वकप नखेलेको यति धेरै वर्ष भइसकेको छ कि विश्वकपमा नर्वे नयाँ जस्तै छ। हालका मुख्य प्रशिक्षक स्टेल सोलबेकन सन् १९९८ को विश्वकप टोलीका सदस्य थिए। त्यसयता झन्डै ३० वर्ष बितिसकेको छ। अहिले भने नर्वेसँग सम्भवत: आफ्नो इतिहासकै सबैभन्दा प्रतिभाशाली पुस्ता छ।
एर्लिङ हालान्ड, मार्टिन ओडेगार्ड, अलेक्ज्याण्डर सोर्लोथ, जुलियन रायरसन, ओस्कार बब र सन्डर बर्ज जस्ता खेलाडीहरू सम्मिलित यो टोली युरोपका शीर्ष पाँच लिगमा खेलिरहेका अनुभवी र गुणस्तरीय फुटबलरहरूले भरिएको छ।

विश्वकप छनोटमा नर्वेको प्रदर्शन अत्यन्त प्रभावशाली रह्यो। उसले युरोपेली टोलीहरूमध्ये सर्वाधिक ३७ गोल गर्यो। हालान्ड १६ गोलसहित छनोट चरणका सर्वाधिक गोलकर्ता बने। प्रशिक्षक सोलबाकेनका अनुसार टोलीको उद्देश्य हालान्डलाई उपयुक्त स्थानमा खेलाएर उनको गोल गर्ने क्षमता अधिकतम रूपमा उपयोग गर्नु हो।
नर्वेले समूहको शीर्ष स्थान हासिल गर्ने क्रममा इटालीलाई दुवै खेलमा पराजित गर्यो। मिलानमा भएको खेलमा उसले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ४–१ को जित निकालेको थियो। त्यसअघि ओस्लोमा भएको खेलमा पहिलो हाफमै तीन गोल गर्दै सहज विजय सुनिश्चित गरेको थियो।
यो टोलीका केही स्पष्ट बलिया पक्ष छन्। सोरलोथ र हालान्डको उचाइ तथा हवाई क्षमताले क्रसबाट आउने अवसरहरूलाई खतरनाक बनाउँछ। त्यस्तै, टोलीमा गति र उत्कृष्ट पास वितरण गर्ने खेलाडीहरूको पनि कमी छैन। यही कारण नर्वेले युरोपेली छनोटमा सबैभन्दा धेरै हेडरबाट (८) र काउन्टर–अट्याकबाट (७) गोल गरेको थियो।
यद्यपि, नर्वेलाई ‘ग्रुप अफ डेथ’ भनिएको कठिन समूहमा राखिएको छ, जहाँ फ्रान्स, सेनेगल र इराक रहेका छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा टोलीको सामूहिक अनुभव भने सीमित छ।
तर, नर्वेका धेरै खेलाडीहरूले क्लब फुटबलमा यूईएफए च्याम्पियन्स लिग फाइनलसम्मको अनुभव बटुलेका छन्। व्यक्तिगत प्रतिभा, आक्रमण शक्ति र समग्र टोलीको गुणस्तर हेर्दा नर्वेलाई यस विश्वकपको सम्भावित ‘डार्क हर्स’ का रूपमा बेवास्ता गर्न सकिँदैन। यदि खेलाडीको व्यक्तिगत लय टिममा जोडिन सके यसपाला डार्क हर्स बन्ने बलियो सम्भावना भएको टोली हो नर्वे।
दक्षिण अमेरिका – गोलै नखाने इक्वेडर
विश्वकपअघि सेबास्टियन बेकासेसेको नेतृत्वमा इक्वेडरको लय लोभ लाग्दो छ। उसले पछिल्ला १९ खेलमा अविश्वसनीय रेकर्ड बनाएको छ। सात जित, एघार बराबरी, र मात्र एक हार। त्यो एक मात्र हार ब्राजिलसँग १–० ले।
त्यसयता, उनीहरूले भेद्नै नसकिने रक्षात्मक जग बसालेका छन्। संगठित तथा शारीरिक खेलको त्यस्तो खाका तयार पारेका छन्, जसको जवाफ कसैसँग छैन।

इक्वेडर दक्षिण अमेरिकी छनोट (राउन्ड रबिन) मा दोस्रो स्थानमा रह्यो। अर्जेन्टिनाभन्दा माथि उठ्न नसके पनि अरू सबैलाई पछि पार्न भने सफल भयो। उनीहरू ४–४–२ को फर्मेसनमा खेल्छन्। चेल्सीका मोइसेस काइसेडो, पेरिस सेन्ट–जर्मेनका विलियन पाचो र आर्सनलका पिएरो हिन्कापी टोलीको मेरुदण्ड हुन्।
एउटा यथार्थपरक चिन्ता भनेको टोलीमा गोलको अभाव हो। उनीहरू अझै पनि अनुभवी स्ट्राइकर एनर भालेन्सियामा निर्भर छन्। अगस्ट २०२४ मा बेकासेसेले जिम्मेवारी सम्हालेयता त्यो अतुलनीय रक्षापंक्तिसँग खेलिरहेका छन्। यसबीचमा मात्र सात गोल बेहोरेको यो टोलीले १२ पटक क्लिनसिट गरेको छ।
विश्वकपमा सन् २००६ पछि उनीहरू नकआउट चरणमा पुगेका छैनन्। यसअघि कतारमा समूह चरणबाटै बाहिरिएको इक्वेडर नकआउट पुग्ने होडमा छन्।
अफ्रिकाको बलियो सेनेगल
साडियो माने, इद्रिसा गेये, कालिदु कुलिबाली र एदुआर मेन्डीजस्ता खेलाडी सेनेगलको टोलीका मेरुदण्ड हुन्। यी खेलाडीहरू आफ्नो खेल जीवनको उत्तरार्धतिर छन्। अघिल्लो विश्वकप उनीहरूले अन्तिम १६ मा इङ्ग्ल्याण्डलाई कडा चुनौती दिएर बाहिरिएका थिए।
त्यसयता निकोलस ज्याक्सन, लामिन कामारा, एल हाद्जी मलिक दिउफ र हबिब दियार्रा जस्ता नयाँ प्रतिभाहरू यो टोलीमा उदाउन थालेका छन्। पापे थियाउको टोली यस प्रतियोगितामा तुलनात्मक रूपमा सबैभन्दा बलियो रक्षापंक्ति, उत्कृष्ट टिम ‘डेप्थ’ र सबैभन्दा सन्तुलित सुरुवाती एघार भएको टोली हो।
गत जनवरीमा उनीहरूले अफ्रिकी राष्ट्र कपको फाइनलमा अतिरिक्त समयमा आयोजक मोरक्कोलाई १–० ले हराए। पछि गएर त्यो नतिजा र उनीहरूको अफ्रिकी उपाधि भने रद्द गरिएको छ। यसको कारण नियमित समयको अन्त्यतिर एउटा विवादास्पद पेनाल्टी (जो बचाइएको थियो) को विरोधमा सेनेगलका खेलाडीहरूले मैदान छोड्नुलाई देखाइएको छ। उनीहरूबाट महादेशीय उपाधि खोसिएपछि टोली झन् एकजुट भएको छ।

उनीहरूले अपराजित रहँदै छनोट पार गरेका थिए। अमेरिकासँगको तयारी खेलमा ३–२ को हार भए पनि, उनीहरूविरुद्ध गोल गर्न सामान्यतया गाह्रो हुन्छ। थियाउले ४–३–३ मन पराउँछन् तर कहिलेकाहीँ ३–४–३ मा परिवर्तन गर्छन्।
यो टोलीले कुनै पनि टोलीलाई निराश बनाउने क्षमता राख्छ। उसको समूहमा फ्रान्स, इराक र नर्वे छन्। यसमा एसियाली राष्ट्र इराक केही कमजोर देखिए पनि शक्तीशाली फ्रान्ससँगै उदीयमान नर्वे र अफ्रिकी जायन्ट सेनेगलबीच कडा प्रतिस्पर्धा हुने पक्का छ।