काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा दिएको ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान राखेर विपक्षी दलहरुले सदनमा अवरोध कायम राखेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक राखे।

रविले संवादको थालनीस्वरुप सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरेकामा प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट संसदीय दलका नेता भिष्मराज आङ्देम्बे सहभागी भए। एमालेले संसदीय दलका नेता ऐन महरलाई पठायो।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट माधवकुमार नेपाल र वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष राजेन्द्र लिङदेन र सांसद खुश्बु ओली सहभागी भए।
बैठकको सुरुमै विपक्षी दलहरुलाई पेलेर संसद् चलाउने रास्वपाको नीति नरहेको भन्दै छलफलबाटै निकास निकाल्नु पर्ने भन्दै अवरोध हटाउन आग्रह गरे।
रविले प्रधानमन्त्री बालेन प्रतिपक्षी दलको माग अनुसार प्रष्टीकरण दिनका लागि संसद्मा नआउने भन्दै परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सन्देश दिए। उनले आवश्यक परे आफूले पनि विपक्षी दलहरुका आवाजबारे बोल्ने बताए।
विपक्षी दलहरुले भने बालेनले संसद्लाई ‘जवाफ नदिएर हेपेको विषय’मा रविको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीले प्रश्नको जवाफ नदिएको तथा संसद्प्रति उत्तरदायी नभएको विषयमा सम्झाउन आग्रह गरे। उनीहरुले अडान छोड्न मानेनन्। जसले गर्दा बैठकमा सहमति जुट्न सकेन।
तर पनि रास्वपा र विपक्षी दलले सर्वदलीय बैठकलाई सकारात्मक भनेका छन्। दुवै पक्षका नेताहरुले बैठक हार्दिकतापूर्ण भएको बताएका छन्।
बैठकमा रविले प्रधानमन्त्री बालेन सदनमा उपस्थित नहुने बताएपछि विपक्षी दलका नेताले उनको भारत भ्रमणबारे चासो राखे। रविले भारत भ्रमणका क्रममा भएका भेटघाट र कुराकानीबारे बेलिबिस्तार लगाए।
‘भारत भ्रमणका बारेमा सभापतिले राजनीतिक दलहरुलाई जानकारी गराउनुभयो। संसद्को अवरोध कसरी हटाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ,’ रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले भने।
बैठकमा सदनको अवरोध हटाउन सहमति नजुटे पनि दुवै पक्षका नेताले संवादमा जोड दिए।
रवि र विपक्षी दलका नेताहरु आपसमा खुल्दै गएपछि केही अनौपचारिक कुराकानीले पनि प्राथमिकता पायो। एमालेका प्रमुख सचेतक ऐन महरले कुराकानीकै क्रममा रवि प्रधानमन्त्री बन्नुपर्ने विषय उठाए।
‘ऐनजीले प्रधानमन्त्रीज्यू संसद्मा आउनै मान्नुहुन्न। तपाइँ नै प्रधानमन्त्री भए हामी पनि कति खुसी हुन्थ्यौं, तपाइँले जवाफ पनि दिनुहुन्थ्यो भन्नुभयो। तर रविजी हास्नुमात्र भयो। उहाँले यसबारेमा केही भन्नु भएन,’ बैठकमा सहभागी एक नेताले भने।
रविले सरकारका नराम्रा कामको खबरदारी गर्न नछोड्न आग्रह गरे। ‘सार्वभौम संसद्को माननीयहरु हो तपाइँहरु। यहि संसद्ले सरकार जन्माउँछ। तपाइँहरुले सरकारलाई प्रश्न सोध्न पाउनुहुन्छ। सरकारका नराम्रा कामको खबरदारी तपाइँहरुले गरिरहनुस्,’ रविलाई उद्यृत गर्दै बैठकमा सहभागी अर्का नेताले भने।
स्रोतका अनुसार सर्वदलीय बैठकपछि रविले विपक्षीसँगको संवादलाई बाक्लो बनाएका छन्।

सर्वदलीय बैठको प्रभाव अपराह्न बसेको प्रतिनिधि सभाको बैठकमा पनि देखियो। सत्ता र प्रतिपक्षी दल संवादमा जुटेसँगै संसदभित्रको माहोल फेरिएको छ। विपक्षी दलले मंगलबारको बैठकमा नरम शैलीमा विरोध गरे।
जबकि जेठ १७ गतेको बैठक तनावपूर्ण बनेको थियो। विपक्षी दलका सांसदले सभामुख डीपी अर्यालको आसनमा जान खोजेपछि रोक्नका लागि मर्यादापालकलाई हम्मेहम्मे परेको थियो। त्यसदिन अवरोधबीच प्रतिनिधि सभाको नियमावली पारित गरिएको थियो।
सभामुख अर्याल पनि प्रतिपक्षी दलप्रति केही नरम देखिएका छन्। विपक्षी दलहरुले उठाएका विषय गम्भीर भएको बताएका अर्यालले आइतबार कांग्रेस, एमाले र नेकपाका केही नेतालाई फोन गरेर रास्वपा सभापतिले राखेको बैठकका लागि तयार भइदिन आग्रह गरेका थिए।
उनले विपक्षीको विरोधपछि सोमबार कार्यसूची अघि बढाएनन्। अरुबेला पेलेरै संसद् बैठक चलाउने गरेका अर्यालले सोमबार विपक्षीको अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरी सबै दलका प्रमुख सचेतकसँग अनौपचारिक छलफल गरे।
प्रतिपक्षी दलहरुले वार्ताका माध्यमबाट निकास निकाल्नुपर्ने प्रस्ताव राखे। छलफल निचोडमा नपुगेपछि अर्यालले बैठक मंगलबार बस्ने सूचना टाँसेर गरी स्थगित गरे। प्रतिपक्षी दलहरुले यसअघि सभामुख अर्यालले बोलाएको बैठक बहिष्कार गरेका थिए।

सरकारको नीति कार्यक्रम वैशाख २८ गते संसद्मा प्रस्तुत भइरहेका बेला बीचमै निस्किएका प्रधानमन्त्री बालेन त्यो दिनको बैठकपछि जेठ १७ गते मात्रै उपस्थित भएका थिए। उनले रोष्टममा पुगेर सांसदहरुका प्रश्नको जवाफका लागि आफू तयार भएको बताएपछि सभामुख अर्यालले प्रश्नोत्तर कार्यक्रम अघि बढाएका थिए। नियमावली विपरीत प्रश्नोत्तर गराएको भन्दै अर्याल आलोचित बनेका थिए।