BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री वाग्लेले बजेटबारे भने- ५ वर्षे रोडम्यापअनुसार जग हालेका छौं, आउने वर्षमा थप सुधार हुनेछ

२०८३ जेठ २५

अर्थमन्त्री वाग्लेले बजेटबारे भने- ५ वर्षे रोडम्यापअनुसार जग हालेका छौं, आउने वर्षमा थप सुधार हुनेछ
अर्थमन्त्री वाग्लेले बजेटबारे भने- ५ वर्षे रोडम्यापअनुसार जग हालेका छौं, आउने वर्षमा थप सुधार हुनेछ

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५ वर्षे रोडम्यापअनुसार आगामी आव २०८३/८४ को बजेट बनाएको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको बजेट नीति संवाद कार्यक्रममा वाग्लेले आफूले ल्याएको बजेटले सुधारको जग हालेको र आगामी वर्षहरूमा क्रमश: सुधारका कार्यक्रम थप हुँदै जाने बताएका हुन्।

‘५ वर्षमा के-के गर्ने भन्ने रोडम्याप स्पष्ट छ। ५ वटा बजेटको कल्पना गरेर यो पटक सुरु गरेका छौं। सोहीअनुसार यो बजेटले जग हाल्ने र आगामी बजेटमार्फत सुधारका थप कदम अगाडि बढ्नेछन्,’ वाग्लेले भने।

बजेट बनाउँदा आफू समयको सीमामा बाँधिनु परेको मन्त्री वाग्लेले बताए। ‘चैतको बीचतिर बल्ल सरकारमा आयौँ। लामो छलफल र तयारी गरेर ल्याउन सक्ने अवस्था भएन। आउने बजेटहरूमा पहिलेदेखि नै पर्याप्त तयारी गर्न समय हुनेछ,’ उनले भने।

अर्थमन्त्री वाग्लेले समयसँगै बजेटमा स्रोतको पनि असाध्यै कमी रहेको बताए। ‘७० प्रतिशत कहाँ खर्च हुने पहिल्यै यकिन हुन्छ। बाँकी ३० प्रतिशतले काम गर्ने हो। यसकारण चाहेर पनि धेरै काम गर्न सकिने अवस्था छैन,’ उनले भने।

यद्यपी स्रोतको दायरा फराकिलो बनाउन आगामी बजेटले नीतिगत सम्बोधन र सुधारको घोषणा गरेको वाग्लेले बताए। ‘करिब ३ दशकपछि करको ऐतिहासिक पुनरवलोकन गरिएको छ। यसले बजारमा देखिएको मागको समस्या धेरै हदसम्म समाधान गर्ने विश्वास छ,’ वाग्लेले भने।

अर्थमन्त्रीले समग्र करको बोझ घटाएको बताए। ‘अहिले बजार खुम्चिएको छ, माग कम छ। उपभोग गर्ने ठूलो समूह विदेशमा छ। यसलाई सम्बोधन गर्न बजेट सचेत देखिएको छ। यसकारण आयकरको सीमा फेरबदल गरेका छौं। करको बोझ घटाएर दायरा बढाउन सफल भएका छौं। यसले माग बढाउने छ,’ उनले भने।

स्रोतको कमीका कारण ऋण लिनु बाध्यता भएको वाग्ले बताए। ‘तर बाहिर देखिएजति धेरै ऋण छैन। अहिले लिनेमध्ये झन्डै आधा पुरानो ऋण तिर्न उपयोग हुन्छ। त्यसैले नेटमा करिब ७ खर्ब पुग्ने होइन,’ उनले भने।

जीडीपीको तुलनामा ऋणको अनुपात कम भएको मन्त्री वाग्लेको भनाइ छ। उनले चुनौतीकै बीच राजस्व लक्ष्य धेरै राखेको स्वीकार गरे।

‘अनुदान लक्ष्यको निकै कम आउँछ। १५८० को राजस्व लक्ष्य महत्वाकांक्षी हो नै। तर चुनौती पूरा गर्न गरिएका नीतिगत परिवर्तनले साथ दिने विश्वास छ,’ वाग्लेले भने।

अर्थमन्त्री वाग्लेले समग्रमा असाध्यै संयमित र जिम्मेवारीबोध गरेर बजेट ल्याएको बताए।’समग्रमा भन्नुपर्दा बजेट असाध्यै संयमित छ। यसले आन्तरिक उत्पादनको प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ उनले भने।