काठमाडौं। नेपाली क्रिकेट टोली एसियन गेम्स छनोटको च्याम्पियन बनेको छ। आज सम्पन्न फाइनल खेलमा हङकङलाई डीएल मेथडबाट १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो।
सिंगापुरमा टस जितेको नेपालले हङकङलाई पहिला ब्याटिङको निम्ता दिएको थियो। हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो। उसका लागि अन्सुमन रथले सर्वाधिक ८० रन बनाउँदा शाहिद वसिफले ५५ तथा शिव माथुरले २६ रनको योगदान दिए। बलिङमा शेर मल्लले सर्वाधिक ४ विकेट लिँदा करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपाल ११.३ ओभरमा ११४-२ को स्थितिमा खेलिरहँदा वर्षा सुरु भएको थियो। त्यसपछि खेल सुरु हुन नसक्दा नेपाल डीएल मेथडबाट १९ रनले विजयी भयो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाउँदा रोहित पौडेलले अविजित ३५ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ९ रन बनाए। आशिक शेख भने गोल्डन डकआउट भएका थिए।
च्याम्पियन नेपालसँगै उपविजेता हङकङ र सेमिफाइनलको यात्रा तय गरेका मलेसिया र ओमन पनि एसिगन गेम्सका लागि छनोट भएका छन्। समूह चरणमा चीन र मलेसियालाई हराएको नेपालले सेमिफाइनलमा ओमनलाई हराउँदै फाइनलमा पुगेको थियो।