BIZMANDU
www.bizmandu.com

सेबोनले मनाएन ३३औं वार्षिकोत्सव, कर्मचारी युनियनले व्यवस्थापन विरुद्ध निकाल्यो वक्तव्य

२०८३ जेठ २५

सेबोनले मनाएन ३३औं वार्षिकोत्सव, कर्मचारी युनियनले व्यवस्थापन विरुद्ध निकाल्यो वक्तव्य
सेबोनले मनाएन ३३औं वार्षिकोत्सव, कर्मचारी युनियनले व्यवस्थापन विरुद्ध निकाल्यो वक्तव्य

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३३औं वार्षिकोत्सव नमनाएकामा कर्मचारीले विरोध गरेका छन्। सेबोनको कर्मचारी युनियनले सोमबार प्रेस विज्ञप्ति जारी गरी वार्षिकोत्सव नमनाएकामा व्यवस्थापनको विरोध गरेको हो।

Tata
GBIME
Nepal Life

‘व्यवस्थापन पक्षको संस्थाप्रतिको चरम उदासिनता, अनुत्तरदायी कार्यशैली र अपरिपक्व निर्णयका कारण इतिहासमै पहिलो पटक यो गरिमामय कार्यक्रम स्थगित हुन पुगेको छ। नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन, कर्मचारी र सरोकारवालाहरूसँग कुनै परामर्श र पूर्वसल्लाह नै नगरी एकाएक कार्यक्रम नगर्ने जुन एकपक्षीय र स्वेच्छाचारी निर्णय गरियो, त्यसले सम्पूर्ण कर्मचारीहरूको मनोबल गिराएको छ। यस्तो प्रशासनिक र व्यवस्थापकीय नेतृत्वको युनियन घोर भर्त्सना र निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

२०५० जेठ २५ गते सेबोनको स्थापना भएको थियो। सेबोनको अध्यक्षको जिम्मेवारीमा अहिले अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री छन्।

युनियनले खत्रीमाथि सेबोनलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएको छ। ‘वर्तमान उच्च व्यवस्थापकीय नेतृत्व अनिर्णयको बन्दी बन्ने प्रवृत्तिका कारण संस्था दिन प्रतिदिन प्रशासनिक र व्यावसायिक रूपमा क्षयीकरण हुँदै गएको हामीले अनुभूत गरेका छौं,’ कर्मचारी युनियनले भनेको छ।

कर्मचारी युनियनले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया चाँडो टुंग्याउन सरकारको ध्यानाकर्षण गराएको छ। सिफारिस समितिले अन्तर्वार्ता लिएर सेबोन अध्यक्षका लागि तीन जनाको नाम जेठ ११ गते सिफारिस गरेकामा मन्त्रिपरिषद्ले अहिलेसम्म निर्णय गरेको छैन।

नयाँ अध्यक्ष नियुक्त गर्न नसकेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेबोनलाई वार्षिकोत्सवको शुभकामना दिंदै पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डको बनाउनुपर्ने बताएका छन्। उनले बजारमा व्यक्तिगतका साथै संस्थागत लगानीकर्ताको आकर्षण बढाउनुपर्ने पनि औंल्याएका छन्।