BIZMANDU
www.bizmandu.com

इप्पान अध्यक्ष कार्की अधिवेशनको मुखमा उपमहासचिव दुलालप्रति फायर, विज्ञप्ति निकालेर गरे भर्त्सना

२०८३ जेठ २५

इप्पान अध्यक्ष कार्की अधिवेशनको मुखमा उपमहासचिव दुलालप्रति फायर, विज्ञप्ति निकालेर गरे भर्त्सना
इप्पान अध्यक्ष कार्की अधिवेशनको मुखमा उपमहासचिव दुलालप्रति फायर, विज्ञप्ति निकालेर गरे भर्त्सना

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की उपमहासचिव प्रकाशचन्द्र दुलालप्रति फायर भएका छन्।

Tata
GBIME
Nepal Life

२४औं वार्षिक साधारणसभा एवं आठौं अधिवेशन आउन केही दिन बाँकी रहँदा दुलालको अभिव्यक्तिलाई लिएर अध्यक्ष कार्की फायर भएका हुन्।

कार्कीले दुलालको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। कार्कीले सोमबार प्रेस विज्ञप्ति जारी गरी दुलालको अभिव्यक्तिको भर्त्सना गरेका छन्।

दुलालले केही समययता सार्वजनिकरुपमै इप्पानको विधान गायब भएको, विधान विपरित साधारण सभा आयोजना गर्न लागिएको बताउँदै आएका छन्।

‘२०८३ वैशाख ४ गते सम्पन्न कार्यसमिति बैठकले २४औं साधारण सभा एवं आठौं अधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको तथा विधान मस्यौदाबारे सबै व्यक्ति (छलफलका क्रममा औपचारिकरुपमा १५ जना)ले दिएको सुझावसहितको विधान संशोधन तथा पुनर्लेखन मस्यौदा समितिको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित रहेको अवस्थामा इप्पानकै उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिकरुपमा विधान गायब भएको, विधान विपरित साधारण सभा आयोजना गर्न लागिएको जस्ता अर्नगल र कपोलकल्पित प्रचार गरेकोले यसबाट संस्थाप्रति नकारात्मक सन्देश जाने भएकोले घोर भर्त्सना गर्दछौं,’ कार्कीले विज्ञप्तिमा भनेका छन्, ‘इप्पान विधानको परिपालनामा गम्भीर भएकाले यस्ता आरोपको जोडदार खण्डन गर्दछ।’

इप्पानको २४औं वार्षिक साधारण सभा एवं आठौं अधिवेशन यही जेठ २९ गते हुँदैछ। ‘कार्यसमितिको निर्णय बमोजिम र वैधानिक रुपमा साधारण सभा एवं आठौं अधिवेशन आयोजना गर्न लागिएको तथा यसका लागि औपचारिक रुपमा २०८३ जेठ ९ र १० गते सार्वजनिकरुपमा सूचना समेत प्रकाशित गरिसकिएकोले यस्ता अर्नगल प्रचारप्रति भ्रममा नरहन तथा साधारण सभा एवं अधिवेशनलाई भव्यरुपमा सफल पार्नका लागि सक्रियरुपमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

२०८० जेठ ३२ गते सम्पन्न इप्पानको २१औं वार्षिक साधारण सभाले भानुभक्त पोखरेल संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेकामा त्यसले इप्पानलाई महासंघमा रुपान्तरण गर्ने मस्यौदा पेस गरेपछि २०८२ असार ३१ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले कार्यान्वयन गर्ने अख्तियारी अध्यक्षलाई दिएको थियो।

तर गत वैशाख ४ गते सम्पन्न कार्यसमितिको २००औं बैठकले विधान अनुसार नै २४औं वार्षिक साधारण सभा एवं आठौं अधिवेशन गर्ने निर्णय गरेको थियो।

कार्यसमितिको २०३औं बैठकले २४औं वार्षिक साधारण सभाका लागि वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था अन्त्य गर्ने, विधान संशोधन भए पश्चात एक कार्यकाल कार्यसमितिमा रहेका व्यक्ति अध्यक्षको उम्मेदवार हुन पाउने र अन्य सबै पदमा खुल्ला रुपमा उम्मेदवारी दिने गरी प्रस्ताव लैजाने निर्णय गरेको थियो।