BIZMANDU
www.bizmandu.com

नयाँ पासपोर्टका लागि डेटा इन्टिग्रेसनमा ढिलाइ, असार अन्तिमदेखि छपाइ गर्ने तयारी

२०८३ जेठ २५

नयाँ पासपोर्टका लागि डेटा इन्टिग्रेसनमा ढिलाइ, असार अन्तिमदेखि छपाइ गर्ने तयारी
नयाँ पासपोर्टका लागि डेटा इन्टिग्रेसनमा ढिलाइ, असार अन्तिमदेखि छपाइ गर्ने तयारी

काठमाडौं। राहदानी विभागले नयाँ पासपोर्ट असार अन्तिमदेखि छपाइ गर्ने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

विभागले ६४ लाख थान पासपोर्ट खरिद गर्न गत साउनमा दुई कम्पनीसँग सम्झौता गरेकामा ती कम्पनीले असार अन्तिमदेखि उपलब्ध गराउने भएका हुन्।

विभागका महानिर्देशक तिर्थराज अर्यालले नयाँ कम्पनीले असार अन्तिम सातादेखि पासपोर्ट उपलब्ध गराउने गरी काम भइरहेको जानकारी दिए। उनका अनुसार डेटा इन्टिग्रेसनको काम अन्तिम चरणमा पुगेको छ।

‘हामीले नयाँ कम्पनीमार्फत पासपोर्ट प्रिन्ट गर्न सक्ने अन्तिम अवस्थामा छौं। केही सानातिना काम बाँकी छन्। केही पासपोर्ट मौज्दात छन्,’ अर्यालले भने।

विभागले ६४ लाख थान पासपोर्ट आपूर्ति गर्ने जिम्मा पोहोर साउनमा दुई वटा जर्मन कम्पनीलाई दिएको थियो।।

म्युहलबौयर आइडी सर्भिस जीएमबीएचले पहिलो प्याकेजका लागि १ अर्ब ५५ करोड रुपैयाँ र भेरिडोस जीएमबीएचले दोस्रो प्याकेजका लागि ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँमा ठेक्का पाएका हुन्। विभाग र ती कम्पनीबीच ८ महिनाभित्र पासपोर्ट उपलब्ध गराउने सम्झौता भएको थियो।

म्युहलबौयर र भेरिडोसले अहिले हाल पासपोर्ट उपलब्ध गराउँदै आएको आइडिमियाको सिस्टमबाट डेटा आफ्नो प्रणालीमा इन्टिग्रेसन गर्ने काम गरिरहेका छन्।

नयाँ कम्पनीका एक प्रतिनिधिले भने विभागले सिस्टम चलाउने मोडियमका सामान २९ जिल्लामा पठाउन नै बाँकी रहेको र डेटा इन्टिग्रेसनमा पनि ढिलासुस्ती भइरहेको बताए।

‘सिस्टम हुने तर पीसी नहुने समस्या नहोस् भन्ने हो। हामी तयार छौं। तर अनटाइम डेटा माइग्रेन्ट भएन। पुरानो सिस्टमलाई नयाँ एप्लिकेसन तयार पार्न गाह्रो भएको छ,’ ती प्रतिनिधिले भने, ‘डेटा अझै पूर्णरुपमा ह्यान्डओभर भएको छैन। पुरानो सिस्टम रन भइरहेकाले पार्सियलरुपमा मात्रै डेटा प्राप्त भइरहेको छ।’

अहिले विभागसँग १ लाख थान पासपोर्ट मौज्दात छ। विभागले गत मंसिरमा फ्रान्सेली कम्पनी आइडिमियासँग ७ लाख थान पासपोर्ट आपूर्तिका लागि सम्झौता गरेको थियो। सम्झौता अनुसार आइडिमिया अहिलेसम्म ६ लाख ८० हजार पासपोर्ट विभागलाई उपलब्ध गराएको छ।

अहिले विभागमा मात्रै दैनिक १५०० देखि २२०० थान पासपोर्टको माग छ। विभाग बाहेक जिल्ला प्रशासन कार्यालयहरुबाट पनि पासपोर्ट वितरण हुन्छ।

मौज्दात पासपोर्टलाई शून्यमा झारेपछि नयाँ सिस्टममा पूर्णरुपमा पहुँच दिनका लागि सेवा एक साता जति बन्द गर्ने विभागको तयारी छ।