काठमाडौं। प्रतिनिधि सभाको अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार बोलाएको सर्वदलीय बैठकमा दलका शीर्ष नेताले सहभागी हुन अस्वीकार गरेका छन्। कांग्रेसका सभापति गगन थापा, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी नभएका हुन्।
लामिछानेले सभापति तथा अध्यक्षहरुसहित संसद्मा प्रतिनिधित्व गर्ने दलबाट दुई जनालाई बैठकमा आमन्त्रण गरेका थिए। सांसदसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको जमिन मिचेको भन्दै दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरुले वैशाख १७ यता संसद्मा प्रधानमन्त्रीको जवाफ माग गरिरहेका छन्। अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग पनि प्रतिपक्षीको छ।
भारत भ्रमणबाट फर्किएपछि लामिछानेले संसद्को अवरोध हटाउन पहल गरेका हुन्। एमालेबाट प्रमुख सचेतक ऐन महर, कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे लगायतका नेताहरु छलफलमा सहभागी भएका छन्।