विराटनगर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वदेशी उद्योगलाई संरक्षण गर्न अन्त:शुल्क खारेज गरेर आन्तरिक प्रवर्धन तथा संरक्षण शुल्क (डीपीपीएफ) लगाएपछि एफएमसीजीको आयात महँगो भएको छ।
वाग्लेले स्वदेशी उद्योग व्यवसायलाई राहत दिने उद्देश्यअनुरूप ३६० वस्तुमा लाग्दै आएको अन्त:शुल्क बजेटमार्फत खारेज गरी डीपीपीएफ लगाएर आयातलाई निरूत्साहित गरेपछि बाहिरबाट आउने इनर्जी ड्रिंक्स, हल्का पेय, बास्नायुक्त दुधका पेय, नुडल्स, पास्ता, कुरमुरे, लेज, चिजबल्स, आलुचिप्स लगायत एफएमसीजी महँगो भएको हो।
मन्त्री वाग्लेले आयात हुने कतिपय एफएमसीजीमा भन्सार महसुल दरमा कटौती गरे पनि कुनैमा अन्तःशुल्क दर बढाएका छन् भने कुनैमा डीपीपीएफ लगाएका छन्।
जसले गर्दा कुरकुरे, कुरमुरे, लेज, चिजबल्स जस्ता सबैभन्दा बढी चल्ने एफएमसीजीको महसुल अकासिएको छ। यसअघि यस्ता वस्तु आयात गर्दा भन्सार महसुल ४० प्रतिशत, अन्तःशुल्क किलोको २० रुपैयाँ र भ्याट रहेकामा अब भन्सार महसुल ३० प्रतिशत, अन्तःशुल्क किलोको ७५ रुपैयाँ र भ्याट छ।
कसैले यसअघि १ सय रुपैयाँमा १ किलो उक्त वस्तु ल्याएको रहेछ भने उसले भन्सार विन्दुमा ८० रुपैयाँ ८० पैसा राजस्व बुझाउनु पर्थ्यो। अब १३१ रुपैयाँ ६५ पैसा बुझाउनु पर्नेछ।
आयात महँगो पर्नेमा आलु चिप्स पनि छ। आलु चिप्सको आयातमा भन्सार महसुल साफ्टाअन्तर्गत १८.५ प्रतिशत, भन्सार महसुल किलोको ३० रुपैयाँ र भ्याट लाग्ने बनाइएको छ।
कसैले १ सय रुपैयाँमा १ किलो आलु चिप्स ल्याएमा अब उसले भन्सार विन्दुमा ६७ रुपैयाँ ८० पैसा महसुल बुझाउनु पर्नेछ। यसअघि आलु चिप्समा साफ्टा अन्तर्गतको भन्सार महसुल १८.५ प्रतिशत, अन्तःशुल्क किलोको १८ रुपैयाँ र भ्याट लाग्ने गर्थ्यो । जसअनुसार १ सय रुपैयाँको १ किलो आलु चिप्स ल्याउँदा ५४ रुपैयाँ २५ पैसा महसुल बुझाउनु पर्थ्यो।
आर्थिक विधेकयमा इनर्जी ड्रिंक्सको आयात पनि महँगो बनाइएको छ। जसअनुसार यसको भन्सार महसुल ३० प्रतिशत, अन्तःशुल्क लिटरमा १२० रुपैयाँ र भ्याट लाग्ने छ। कसैले १ सय रुपैयाँमा १ लिटर इनर्जी ड्रिंक्स ल्याएमा भन्सार विन्दुमा १८२ रुपैयाँ ५० पैसा बुझाउनु पर्नेछ।
यसअघि इनर्जी ड्रिंक्सको आयात महसुल ४० प्रतिशत, अन्तःशुल्क लिटरमा ५२ रुपैयाँ र भ्याट तिर्नुपर्थ्यो। यस हिसाबले कसैले १ सय रुपैयाँमा १ लिटर इनर्जी ड्रिंक्स ल्याएको रहेछ भने ११७ रुपैयाँ कुल आयात महसुल लाग्थ्यो।
यसैगरी बास्नायुक्त दुध र हल्का पेयको आयात पनि महँगो बनेको छ। यस्ता वस्तुको अयाातमा साबिकमा भन्सार महसुल ४० प्रतिशत, अन्तःशुल्क लिटरमा २५ रुपैयाँ र भ्याटको रकम भन्सार विन्दुमा बुझाउनु पर्दथ्यो। अब भन्सार महसुल ३० बनाएर अन्तःशुल्क लिटरमा ६० रुपैयाँ कायम गरिएको छ। साथै भ्याट पनि छ।
यस हिसाबले कसैले १ सय रुपैयाँमा १ लिटर यस्तो पेय आयात गरेको रहेछ भने साबिकमा भन्सार नाकामा ८६ रुपैयाँ ४५ पैसा तिर्नुपर्थ्यो भने अब ११४ रुपैयाँ २० पैसा बुझाउनु पर्नेछ।
त्यस्तै नुडल्स, कुसकुस र पास्ताको आयात ६ प्रतिशतले महँगो भएको छ। यसको आयातमा साबिकमा भन्सार महसुल ४० प्रतिशत, अन्तःशुल्क प्रति किलो २० रुपैयाँ र भ्याट रहेकोमा भन्सार महसुल ३० प्रतिशत, अन्तःशुल्क प्रति किलो ३५ रुपैयाँ र भ्याट कायम गरिएको छ।
संशोधनका कारण पास्ताको आयात महसुल ६ प्रतिशतले वृद्धि भएको हो।
यसअघि कुनै व्यवसायीले १ सय रुपैयाँमा १ किलो नुडल्स वा पास्ता आयात गर्दा महसुल, अन्तःशुल्क र भ्याट गरी ८० रुपैयाँ ८० पैसा बुझाउनु पर्थ्यो भने अब ८६ रुपैयाँ ५० पैसा तिर्नु पर्नेछ।
डीपीपीएफका कारण चिया र कफीको आयात हल्का महँगो भएको छ। दुबैको आयात शुल्कमा ३ प्रतिशत वृद्धि भएको छ।
साबिकमा चिया र कफीमा भन्सार महसुल ४० प्रतिशत र भ्याट थियो। यसको असर ५८.२ प्रतिशत हुन्थ्यो। अब भन्सार महसुल ३०, डीपीपीएफ १० र भ्याट तिनुपर्नेछ। यसको असर ६१.५९ प्रतिशत हुनेछ।

एफएमसीजी अन्तर्गत क्रिस्पी ब्रेड, वेफर, गुलियो बिस्कुट, चक्लेट, केक, कुकिज, पेस्ट्री लगायतका बेकरी आइटम, बिस्कुट, चकलेट र चुईगमको आयात ३ प्रतिशतले सस्तिएको छ। यी वस्तुको आयातमा गर्दा भन्सार महसुल ४०, अन्तःशुल्क १५ र भ्याट गरी ८२ प्रतिशत राजस्व बुझाउनु पर्थ्यो। मन्त्री वाग्लेले यी वस्तुलाई भन्सार महसुल ३०, अन्तःशुल्क २२ र भ्याट गरी ७९ प्रतिशत कायम गरेका छन्।
मन्त्री वाग्लेले तयारी जुत्ताको आयात महसुलमा खासै परिवर्तन गरेका छैनन् । बरु यसको महसुल १ प्रतिशतले सस्तो भएको छ। यसअघि जुत्ताको आयातमा भन्सार महसुल ४० प्रतिशत र भ्याट थियो। यसपटक महसुल ३०, डीपीपीएफ ७ र भ्याट बनाइएको छ।
जसअनुसार साबिकको महसुल ५८.२ प्रतिशत हुन्थ्यो भने हाल ५७.२ प्रतिशत पर्दछ।
मन्त्री वाग्लेले डेरी प्रोडक्ट्स अन्तर्गतको चिल्लो हटाइएको दुध पाउडर अर्थात् स्किम्ड मिल्क पाउडर (एसएमपी) को आयात सस्तो बनाए पनि बटर र घिउको शुल्क थपेका छन्।
एसएमपीको आयातमा साबिकको दर भन्सार महसुल ४०, अन्तःशुल्क ५ र भ्याट गरी कुल ६६.११ प्रतिशत महसुल थियो।
मन्त्री वाग्लेले यसलाई ५ प्रतिशत सस्तो बनाएका छन्। जसअनुसार भन्सार महसुल ३०, आन्तरिक प्रवर्धन तथा संरक्षण शुल्क (डीपीपीएफ) १० र भ्याट कायम गरिएको छ। यसको असर ६१.५९ प्रतिशत हुनेछ।
त्यस्तै बटर र घिउमा साबिकमा भन्सार महसुल ४० र भ्याट गरी कुल ५८.२ प्रतिशत रहेकोमा नयाँ बजेटमा महसुल ३०, डीपीपीएफ १० र भ्याट गरी कुल ६१.५९ प्रतिशत निर्धारण गरिएको छ ।
तर नेपालमा एसएमपी, घिउ र बटरको आयात हुन नसक्ने भएकाले आयात शुल्कमा परिवर्तनको खासै असर पर्नेछैन।
झापाको एनएमसी डेरीका रामचन्द्र उप्रेतीले नेपालले यी वस्तुको आयात अस्थायी रूपमा रोकेको बताए।
उद्योगी उप्रेतीका अनुसार नेपालमा नै एसएमपी, घिउ र बटरको मौज्दात आवश्यकताभन्दा बढी भएपछि सरकारले एसएमपी, बटर, घिउ, चिज, पास्चराइज्ड दुध, बटर मिल्क (मोही) लगायतका डेरी प्रोडक्ट्सको आयातमा २०८० फागुनदेखि अस्थायी प्रतिबन्ध लगाएको हो।
‘तर यी वस्तुको आयात कुनै पनि बेला खुल्नसक्ने हुँदा एसएमपीको आयातलाई सहुलियत दिनु हुँदैनथ्यो। किनकि हामी यसमा आत्मनिर्भर भइसकेका छौँ,’ उद्योगी उप्रेतीले भने।
भारतले नेपालले डेरीजन्य वस्तुको आयात रोेकेको भन्दै खुलाउन बारम्बार दबाब दिँदै आएको छ। भारतीय अमुल डेरीका लागि नेपाल ठुलो बजार मानिन्छ। त्यस्तै नेपालका बिस्कुट, कन्फेक्स्नसरी, वेफर, चकलेट लगायतका उद्योगीले पनि एसएमपीको आयात खोल्न सरकारलाई आग्रह गर्दै आएका छन्।
एफएमसीजी अन्तर्गत क्रिस्पी ब्रेड, वेफर, गुलियो बिस्कुट, चक्लेट, केक, कुकिज, पेस्ट्री लगायत बेकरी आइटम, बिस्कुट, चकलेट र चुईगमको आयात ३ प्रतिशतले सस्तिएको छ।
यी वस्तुको आयातमा गर्दा भन्सार महसुल ४०, अन्तःशुल्क १५ र भ्याट गरी ८२ प्रतिशत राजस्व बुझाउनु पर्थ्यो। मन्त्री वाग्लेले यी वस्तुलाई भन्सार महसुल ३०, अन्तःशुल्क २२ र भ्याट गरी ७९ प्रतिशत कायम गरेका छन्।
मन्त्री वाग्लेले तयारी जुत्ताको आयात महसुलमा खासै परिवर्तन गरेका छैनन्। बरु यसको महसुल १ प्रतिशतले सस्तो भएको छ। यसअघि जुत्ताको आयातमा भन्सार महसुल ४० प्रतिशत र भ्याट थियो। यसपटक महसुल ३०, डीपीपीएफ ७ र भ्याट बनाइएको छ। जसअनुसार साबिकको महसुल ५८.२ प्रतिशत हुन्थ्यो भने हाल ५७.२ प्रतिशत पर्छ।