काठमाडौं। म्यारियट इन्टरनेसनल इन्कका बोर्ड अध्यक्ष डेभिड म्यारियटले पाँच तारे होटल अलफ्ट काठमाडौं ठमेलको अवलोकन गरेका छन्।
उनले आइतबार म्यारियट इन्टरनेसनलका एशिया प्रशान्त (चीन बाहेक) क्षेत्रका अध्यक्ष राजीव मेननसहित अलफ्ट काठमाडौं ठमेलको अवलोकन गरेका हुन्। म्यारियटसहितको टोलीलाई होटलका अध्यक्ष पृथ्वीबहादुर पाण्डे लगायतले स्वागत गरेका छन्।
होटलमा महाप्रबन्धक विक्रम सिंहले म्यारियटसहितको टोलीलाई स्वागत गर्न पाउनु गौरवको क्षण भएको बताए। स्वागत पछि म्यारियटको टोली होटलले गरेको सांस्कृतिक कार्यक्रममा सहभागी भएको छ।
म्यारियटले आइतबार नै गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको निर्माणाधीन होटलको अवलोकन गरेका थिए भने अपराह्न सीजी हस्पिटालिटी ग्लोबलसँगको सम्झौता कार्यक्रममा सहभागी भएका थिए।