फिफा विश्वकप मुखैमा आइसकेको छ। अब डेढ महिना चर्चा चल्छ टिम, खेलाडी र गोललाई लिएर। फुटबलमा सबैभन्दा कम चर्चामा रहन्छन् डिफेन्डर र बढी चर्चा हुन्छ स्ट्राइकरको। कसले गर्ला गोल? सबैको चासो यसैमा हुन्छ।
हालसम्म विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् जर्मनीका मिरोस्लाभ क्लोज। सायद यसपालि उनको रेकर्ड तोडिन सक्छ। केही खेलाडी मिरोस्लाभभन्दा धेरै टाढा छैनन्। किलियन एम्बाप्पेले जसरी नै एउटै विश्वकपमा धेरै गोल गरेर गोल्डेन बुटको दाबेदारी गर्ने खेलाडी पनि आउन सक्छन्।
यसपालि गोल्डन बुटको होडमा लियोनल मेस्सी, किलियन एम्बाप्पे, अर्लिङ हल्याण्ड, ह्यारी केन, लामिन यमलजस्ता खेलाडी आउन सक्ने अनुमान छ। तर, के विश्वकपकै सर्वाधिक गोलको कीर्तिमान तोडिएला? यो तोड्न सबैभन्दा नजिक को छ?
विश्वकपमा सर्वाधिक गोलकर्ता
मिरोस्लाभ क्लोज
विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोज हुन्। उनले चार अलग-अलग विश्वकपमा २४ खेल खेल्दै १६ गोल गरेका छन्।
मिरोस्लाभले आफ्नो पहिलो विश्वकप सन् २००२ मा जापान र दक्षिण कोरियामा खेले। त्यसबेला जर्मनीले साउदी अरेबियाविरुद्ध ८-० को फराकिलो जित निकाल्दा उनले ह्याट्रिक गरेका थिए। विश्वकप डेब्यूमै ह्याट्रिक गर्ने १३ खेलाडीमध्ये उनी एक हुन्।
२००२ विश्वकपमा समूह चरणका तीनै खेलमा गोल गरे पनि नकआउटका चार खेलमा भने गोल गर्न सकेनन्। त्यसबेला फाइनलमा जर्मनी ब्राजिलसँग हार्यो। त्यो प्रतियोगितामा शीर्ष स्कोरर रोनाल्डो थिए जसले आठ गोल प्रहार गर्दै ब्राजिललाई उपाधि दिलाए।
सन् २००६ मा घरेलु मैदानमा भएको विश्वकपमा पाँच गोल गर्दै मिरोस्लाभले गोल्डेन बुट जिते। २०१० मा दक्षिण अफ्रिकामा चार गोल गरेका उनले २०१४ मा ब्राजिलमा दुई गोल थपेर रोनाल्डोको १५ गोलको रेकर्ड तोडे। त्यो ऐतिहासिक १६औं गोल बेलो होरिजोन्टेमा रोनाल्डोकै अगाडि ब्राजिललाई जर्मनीले ७-१ गोलले हराउँदा भएको थियो।
मिरोस्लाभले १६ मध्ये गोल ११ समूह चरणमा र पाँच गोल नकआउटमा गरेका थिए।

रोनाल्डो
ब्राजिलका रोनाल्डो अहिले शीर्षमा नभए पनि उनले मात्र तीन विश्वकपका १९ खेलमा १५ गोल प्रहार गर्दै इतिहास बनाएका थिए। पछि उनको रेकर्ड मिरोस्लाभले तोडे।
रोनाल्डोले सन् १९९८ मा फ्रान्समा पहिलो विश्वकप खेल्दै सात खेलमा चार गोल गरे। यो विश्वकपको फाइनलमा ब्राजिल घरेलु टोली फ्रान्ससँग ३-० ले पराजित भयो।
सन् २००२ मा एसियाली भूमिमा भएको विश्वकपमा भने उनले सात खेलमा आठ गोल गर्दै गोल्डेन बुट जिते। जर्मनीविरुद्धको फाइनलमा दुवै गोल रोनाल्डोले गरेका थिए।
२००६ मा फिटनेसमा प्रश्न उठ्दा उठ्दै पनि उनले पाँच खेलमा तीन गोल गरेर कुल गोल संख्या १५ पुर्याए। त्यसबेला उनले गर्ड मुलरको सन् १९७४ देखिको रेकर्ड तोडेका थिए।
दुई विश्वकपमै १४ गोल
गर्ड मुलरले मात्र दुई विश्वकप खेले। उनले सन् १९७० मा १० गोल गर्दै गोल्डेन बुट जिते।
त्यसबेलाको वेस्ट जर्मनीका यी स्ट्राइकरले बुल्गेरिया र पेरुविरुद्ध तीन-तीन दिनकै अन्तरमा ह्याट्रिक प्रहार गरे। लगातार दुई खेलमा ह्याट्रिक गर्ने विरलै खेलाडीमध्ये साण्डोर कोच्चिस र उनी मात्र हुन्।
मुलरले सन् १९७४ को विश्वकपमा चार गोल गरे। नेदरल्यान्ड्सविरुद्धको फाइनलमा निर्णायक गोल गर्दै घरेलु दर्शकलाई उपाधि दिलाए। उनले १४ गोल नै पेनाल्टी बक्सभित्रबाट गरेका हुन्।
जस्ट फोन्टेनसँग बराबरी गरेका लियोनेल मेस्सी
एउटै विश्वकपमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड फ्रान्सका जस्ट फोन्टेनको नाममा छ। सन् १९५८ मा स्वीडेनमा भएको विश्वकपमा उनले छ खेलमा १३ गोल गरेका हुन्।
उनले छ वटै खेलमा गोल गरे। त्यो विश्वकपमा पेले र हेल्मुट रान छ गोलसहित दोस्रो उच्च स्कोरर थिए।
फोन्टेनले पाराग्वेविरुद्ध ह्याट्रिक र जर्मनीविरुद्ध चार गोल गरेका थिए। फ्रान्सका कुल २३ गोलमध्ये ५७% एक्लैले गरे पनि उनले टिमलाई भने तेस्रो स्थानमा मात्र पुर्याउन सके। चोटका कारण २८ वर्षकै उमेरमा उनको करियर टुंगियो।
उनीसँग सन् २०२२ मा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बराबरी गरे।
मेस्सीले सन् २०२२ को कतार विश्वकपमा सात गोल गर्दै फोन्टेनसँग बराबरी गरेका हुन्। अहिलेका खेलाडीका आइडलमध्येका एक मेस्सीले २०२२ अघि विश्वकपमा खासै प्रभाव देखाउन सकेका थिएनन्। उनले २००६ मा एक, २०१० मा शून्य, २०१४ मा चार, २०१८ मा एक गोल गरेका थिए।
२०२२ मा अर्जेन्टिनालाई च्याम्पियन बनाउने क्रममा मेस्सीले प्रभावशाली प्रदर्शन गरे। मेस्सीसामु यसपालि चार गोल गर्न सके विश्वकपको सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। यो होडमा उनीसँग फ्रान्सका किलियन एम्बाप्पे पनि छन्।
पेले र एम्बाप्पेको गोल बराबर
पेले चार वटा विश्वकपमा १२ गोलसहित पाँचौं स्थानमा छन्। विश्वकपमा गोल्डेन बुट नजिते पनि पेले सन् १९७० मा चार गोल र छ असिस्टसहित सर्वश्रेष्ठ खेलाडी बने। उनको बलियो प्रदर्शनमा ब्राजिलले उपाधि जितेको थियो।
सन् १९५८ को फाइनलमा स्वीडेनविरुद्ध गोल गर्दा पेले १७ वर्ष २४९ दिनका थिए। त्यतिखेर उनी विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका थिए। त्यो फाइनलको १० दिनअघि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। उनले वेल्सविरुद्ध गोल गरेका थिए। विश्वकपमा सबैभन्दा कम उमेरमा ह्याट्रिक पनि पेलेले गरे। उनले फ्रान्सविरुद्ध ह्याट्रिक गरेका थिए। यी दुवै रेकर्ड अहिलेसम्म कायम छन्।
यता, एम्बाप्पेलाई सुरुदेखि नै पेलेसँग तुलना गरिन्थ्यो। सन् २०१८ मा क्रोएशियाविरुद्धको फाइनलमा १९ वर्षको उमेरमा गोल गर्दै एम्बाप्पे विश्वकप फाइनलमा गोल गर्ने दोस्रो युवा खेलाडी बने।
एम्बाप्पेले मात्र दुई विश्वकपमा गोल संख्या १२ पुर्याइसकेका छन्। रसियामा २०१८ मा भएको विश्वकपमा सात खेलमा चार गोलसहित फ्रान्सलाई उपाधि दिलाएका एम्बाप्पेले २०२२ मा आठ गोल गरेर गोल्डेन बुट जिते। उनले फाइनलमा ह्याट्रिक गरे पनि टोलीलाई भने जिताउन सकेनन्। विश्वकप फाइनलमा ह्याट्रिक गर्ने इंग्ल्यान्डका जेफ हर्स्टपछि एम्बाप्पे दोस्रो खेलाडी हुन्।
एम्बाप्पे अहिले २७ वर्षका भए। त्यसैले उनीसामु विश्वकपका सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। मेस्सीका लागि विश्वकप यसपालि अन्तिम हुनसक्ने भएकाले एम्बाप्पेका लागि रेकर्ड बनाउने अवसर बढी देखिएको हो।