काठमाडौं। निर्जीवन बीमा कम्पनीले दाबी भुक्तानीमा व्यवसायको ८६ प्रतिशत भन्दा बढी रकम खर्च गर्नुपरेको पाइएको छ। खासगरी कृषि बीमामा प्रिमियमको ८६.५२ प्रतिशत रकम दाबी भुक्तानी गर्नुपरेको हो।
कृषि बीमाको प्रिमियमबापत १ अर्ब २४ करोड ८० लाख रुपैयाँ प्रिमियम संकलन गरेका इन्स्योरेन्स कम्पनीले १ अर्ब ७ करोड ९८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।
निर्जिवन बीमा कम्पनीले चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म कुल ३७ अर्ब २६ करोड ८१ लाख रुपैयाँ प्रिमियम आर्जन गरेकामा २० अर्ब ४८ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानीमा खर्च गरेका छन्। यो दाबी रकम कुल व्यवसायको ५४.९७ प्रतिशत हो।
यस्तै मोटर बीमामा प्रिमियमको ६८.६५ प्रतिशतसम्म खर्च भएको देखिएको छ।
मोटर बीमाले निर्जीवन बीमा व्यवसायको एक तिहाइभन्दा बढी हिस्सा ओगटेको छ। तेस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनीले मोटर बीमाबापत ११ अर्ब ५० करोड रुपैयाँ प्रिमियम संकलन गरेकामा ७ अर्ब ७९ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन्।
सम्पत्ति बीमामा प्रिमियमको ६७.७८ प्रतिशतसम्म रकम दाबी भुक्तानीमा खर्च भएको बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ।
इन्स्योरेन्स कम्पनीले विभिन्न बीमा पोलिसीमार्फत प्रिमियम बढाउँदा दाबी भुक्तानीको दायित्व बढ्दै गएको छ।
निर्जीवन बीमा कम्पनीले यो वर्ष तेस्रो त्रैमाससम्मको प्रिमियम र दाबी भुक्तानी रकम
| बीमा पोलिसी | प्रिमियम (लाखमा) | दाबी भुक्तानी (लाखमा) | प्रिमियम संकलनको तुलनामा दाबी भुक्तानी प्रतिशत |
| कृषि बीमा | १२४८०.५३ | १०७९८.७४ | ८६.५२ |
| हवाइ बीमा | १७४४८.७४ | ३३८७.३७ | १९.४१ |
| इन्जिनियरिङ तथा ठेकदार | ६९१७८.५२ | १८२८२.३८ | २६.४३ |
| सामुन्द्रिक बीमा | २२७९४.४६ | ९९४३.२५ | ४३.६२ |
| लघु बीमा | ९९८२.६७ | २०४४.३१ | २०.४८ |
| विविध | ३९२१७.१३ | २२७७५.३८ | ५८.०८ |
| मोटर बीमा | ११५०७१.४६ | ७८९९५.३८ | ६८.६५ |
| सम्पत्ति बीमा | ८६५०७.७६ | ५८६३५.१९ | ६७.७८ |
| कुल | ३७२६८१.२७ | २०४८६२ | ५४.९७ |
इन्स्योरेन्स कम्पनीलाई हवाइ बीमामा सबैभन्दा नाफा देखिएको छ। हवाइ बीमाको प्रिमियमबापत १ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ उठाएका इन्स्योरेन्स कम्पनीले ९ महिनामा ३३ करवड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।
यस्तै, इन्जिनियरिङ तथा ठेकदार बीमाबाट कम्पनीहरुले ६ अर्ब ९१ करोड रुपैयाँ प्रिमियम संकलन गर्दा १ अर्ब ८२ करोड रुपैयाँ दाबी भुक्तानीको दायित्व आएको छ।