काठमाडौं। म्यारियट इन्टरनेसनल इन्कका बोर्ड अध्यक्ष डेभिड म्यारियट आइतबार शेष घलेको निर्माणाधीन होटल निरीक्षण गर्न पुगे।
झण्डै १२ वर्षअघि निर्माण सुरु भएको यो होटल अक्टोबर महिनामा संचालनमा ल्याउनेगरी धमाधम काम भइरहेको छ। करिब १५ अर्ब रुपैयाँ लागत पुगेको यो होटल म्यारियटको ‘द लक्जरी कलेक्सन’ ब्राण्डमा संचालनमा आउने भएकाले होटल हेर्न म्यारियट पुगेका हुन्।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घलेको यो होटल अहिलेसम्मकै लक्जरी प्रोपर्टी हुनेछ। घले र म्यारियटबीच द लक्जरी कलेक्सन ल्याउने विषयमा मार्चमै सहमति भइसकेको छ।
‘हामीले अक्टोबरमा होटल संचालनमा ल्याउँदैछौं। त्यसको अवलोकन गर्न उहाँ आउनुभएको हो,’ घलेले बिजमाण्डूसँग भने, ‘प्रोपर्टी हेरेर उत्साहित हुनुभएको छ।’
सुरुवातमा घलेले ८ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेकामा भूकम्प, नाकाबन्दी लगायत कारण लागत बढेको हो। यो होटलमा २ तलामा प्रेसिडेन्सियल सुइट रहनेछ।
विदेशबाट आउने प्रधानमन्त्री, राष्ट्रपतिजस्ता उच्च पदस्थ अधिकारी सहितको टोलीलाई राख्न मिल्नेगरी पूरै तला नै प्रिमियम सुइट तयार पार्न लागिएको हो। १५ र १६ तलामा प्रिमियम सुइट रहनेछ। यो नेपालकै सबैभन्दा अग्लो १९ तले होटल हो।
अर्को लक्जरी होटलका लागि सम्झौता

म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच लक्जरी होटलका लागि सम्झौता भएको छ। ‘होटल द रिट्ज-कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ संचालन गर्ने गरी म्यारियट इन्टरनेसनल इन्कका बोर्ड अध्यक्ष म्यारियटको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता कार्यक्रममा चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, आईईजी ग्रुप, आईजे ग्रुप तथा शर्मा एन्ड कम्पनीका अध्यक्ष एवं संचालकहरू थिए। यी होटल सन् २०३१ सम्म संचालनमा ल्याउने लक्ष्य राखिएको छ।
‘उच्च सम्भावना भएको नेपाली बजारमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा दृष्टिकोणका साथ चौधरी ग्रुपसँगको सहकार्यलाई अझ सुदृढ बनाउन पाउँदा हामी खुशी छौं। यी ऐतिहासिक परियोजनाले म्यारियट इन्टरनेसनलका लक्जरी तथा प्रिमियम ब्रान्डको उत्कृष्टता र उच्च मापदण्डलाई झल्काउँछन्। साथै पर्यटन प्रवर्धन, स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछन्,’ म्यारियट इन्टरनेसनलका एशिया प्रशान्त (चीन बाहेक)का अध्यक्ष राजीव मेननले भने, ‘चौधरी ग्रुपको बलियो बजार अनुभव तथा नेपालको दीर्घकालीन विकासप्रतिको प्रतिबद्धताले यी होटललाई क्षेत्रकै विशिष्ट हस्पिटालिटी गन्तव्य बनाउनेमा हामी विश्वस्त छौं।’

सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक राहुल चौधरीले म्यारियट इन्टरनेसनलसँगको सहकार्य नेपाल एवं दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए।

‘काठमाडौंमा विकसित हुने यी परियोजनाले म्यारियटका विश्वस्तरीय लक्जरी तथा प्रिमियम ब्रान्डहरूलाई सीजी हस्पिटालिटीको गहिरो बजार अनुभव र दिगो दीर्घकालीन विकासप्रतिको प्रतिबद्धतासँग जोड्नेछन्,’ राहुलले भने, ‘हामी स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने तथा पर्यटक र समुदायलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतीकात्मक गन्तव्य निर्माण गर्नेछौं। सीजी हस्पिटालिटी नेपालमै विश्वस्तरीय प्रपर्टी विकास गर्दै नेपालको पर्यटन उद्योगलाई अर्को स्तरमा पुर्याउन प्रतिबद्ध छ।’

द रिट्ज-कार्लटन, काठमाडौंमा ३० वटा विशाल सुइटसहित १५० वटा रुम रहनेछन्। यसमा पाहुनाहरूले ५ वटा फरक रेस्टुरेन्ट तथा बारमार्फत उत्कृष्ट खानाको अनुभव लिन सक्ने विज्ञप्तिमा उल्लेख छ।
मनोरञ्जन सुविधाअन्तर्गत आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर तथा द रिट्ज-कार्लटन स्पा रहनेछ। होटलमा ११०० वर्गमिटरभन्दा बढी क्षेत्रफलमा सम्मेलन तथा कार्यक्रमका लागि अत्याधुनिक सुविधासम्पन्न हल उपलब्ध हुनेछ।

द वेस्टिन काठमाडौंमा १५० वटा प्रिमियम रुम तथा सुइट रहनेछन्। होटलमा ३ वटा डाइनिङ स्थल, वेस्टिन वर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाई वेस्टिन, रूफटप स्विमिङ पुल तथा नेचुरल लाइट र स्मार्ट प्रविधियुक्त ७०० वर्गमिटरभन्दा बढीको बैठक तथा बैंक्वेट सुविधा रहने विज्ञप्तिमा उल्लेख छ।

चौधरी ग्रुप अन्तर्गतको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटीसँग १२ देशका १३० गन्तव्यमा फैलिएका २२० भन्दा बढी होटल तथा रिसोर्ट र १३ हजार ८३५ भन्दा बढी ‘की’को पोर्टफोलियो छ। सन् २०३० सम्म यो पोर्टफोलियो ६०० भन्दा बढी होटल तथा ३०,००० ‘की’सम्म पुर्याउने कम्पनीको दाबी छ।