BIZMANDU
www.bizmandu.com

धनगढी उपमहानगरले ३ वर्षमा ९ सयभन्दा बढी विद्यार्थीलाई दियो छात्रवृत्ति

२०८३ जेठ २४

धनगढी उपमहानगरले ३ वर्षमा ९ सयभन्दा बढी विद्यार्थीलाई दियो छात्रवृत्ति
धनगढी उपमहानगरपालिका।

कैलाली। धनगढी उपमहानगरपालिकाले पछिल्लो ३ वर्षमा ९ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

Tata
GBIME
Nepal Life

उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै संचालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत ९ सय १७ विद्यार्थीले लाभ लिएका छन्।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययनको अवसर उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०८१ यता उक्त सङ्ख्यामा छात्रवृत्ति प्राप्त गरिएको जनाइएको छ।

तथ्याङ्कअनुसार आव २०८१ मा २ सय ७६, २०८२ मा २ सय ८३ र २०८३ मा ३ सय ५८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा महाशाखा प्रमुख नरेन्द्र खातीले जानकारी दिए। अघिल्ला वर्षको तुलनामा चालु वर्षमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको उनले बताए।

यस अवधिमा विज्ञान संकायतर्फ ४ सय ७५ जना, व्यवस्थापन संकायतर्फ ३ सय ४३, होटल म्यानेजमेन्टतर्फ ५२ , कानुनतर्फ २७, शिक्षातर्फ ९ र मानविकी संकायतर्फ ३ जनालाई छात्रवृत्ति दिइएको महाशाखा प्रमुख खातीले जानकारी दिए।

चालु आव २०८३ मा मात्रै विज्ञानतर्फ १ सय ७३, व्यवस्थापनतर्फ १ सय ३९, होटल म्यानेजमेन्टतर्फ २६, मानविकीतर्फ २, शिक्षातर्फ १ र कानुनतर्फ एक गरी ३ सय ५८ जनालाई छात्रवृत्ति प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।

विगतमा संस्थागत विद्यालयहरूमा उपलब्ध छात्रवृत्तिका लागि प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमार्फत विद्यार्थी छनोट गर्दै आएकामा यस वर्ष एसईईमा प्राप्त नम्बरका आधारमा छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ।

उपमहानगरपालिका प्रमुख गोपाल हमालले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरको समानता कायम गर्न सहयोग पुर्‍याइरहेको बताए। उनले आगामी वर्षहरूमा कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइने बताए। रासस