काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले भारत प्राविधिक र आर्थिक ‘पावरहाउस’का रुपमा उदाइरहेको बताएका छन्। भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीमा नेपाली दूतावासमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले ‘उदीयमान भारत’सँग साझेदारी गर्न नेपाल इच्छुक रहेको बताएको एएनआईले उल्लेख गरेको हो।
त्यसक्रममा उनले नेपाल र भारतबीच द्विपक्षी सम्बन्धलाई व्यापार, कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा केन्द्रित गर्दै विकासमुखी बनाउनुपर्नेमा जोड दिएका थिए।
खनालले भारतको तीव्र आर्थिक वृद्धि र बलियो वैश्विक उपस्थितिको प्रशंसा गर्दै नेपालले यसलाई ऐतिहासिक अवसर र साझा समृद्धिको रूपमा हेरेको उल्लेख गरेका थिए।
‘हामीले सीमापारि हेर्दा भारतलाई एक आर्थिक केन्द्रका रूपमा देख्छौँ,’ खनालले भने, ‘हामी एउटा उदीयमान भारत देखिरहेका छौं जसले विश्वमञ्चमा आफूलाई एउटा गतिशील, द्रुत गतिको प्राविधिक र आर्थिक शक्तिका रूपमा स्थापित गरेको छ।’
उनले नेपालको आकांक्षा भारतको अत्याधुनिक प्रविधि तथा कार्यसम्पदान क्षमताबीच सहकार्य हुनुपर्ने बताएका थिए।
दुई देशको सम्बन्धलाई नयाँ दृष्टिकोणबाट अगाडि बढाउनुपर्नेमा जोड दिँदै खनालले नेपालको नयाँ राजनीतिक नेतृत्वले भारतसँगको सम्बन्धलाई पुरानो भूराजनीतिक प्रतिद्वन्द्विताको चश्माबाट नहेर्ने बताए।
‘हामी भारतलाई २०औँ शताब्दीको विकृत र अतिसंवेदनशील भूराजनीतिक दृष्टिकोणबाट हेर्न चाहँदैनौँ,’ उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल भारत सम्बन्धको स्थापित भाष्यलाई भूराजनीतिक टकरावबाट टाढा राखेर पूर्ण रूपमा विकास र कूटनीतिमा केन्द्रित गर्न चाहन्छ। हामी खुला हृदय र स्पष्ट दृष्टिकोणका साथ नेपालको आर्थिक रूपान्तरणको एउटै मात्र पारदर्शी एजेन्डा लिएर भारतलाई हेरिरहेका छौँ।’
उनले दुई देशबीच भएका सम्झौता र प्रतिबद्धताहरूलाई कागजमा मात्र सीमित नराखी जमीनमा ठोस परिणाम देखिने गरेर कार्यान्वयन गर्नु नेपाल सरकारको प्राथमिकता रहेको बताएका थिए।