काठमाडौं। पूर्व-पश्चिम राजमार्गअन्तर्गत चन्द्रौटा-कोहलपुर खण्डलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्ने तयारी अघि बढेको छ।
सडक विभागले यस खण्डको सम्भाव्यता अध्ययन तथा विस्तृत डिजाइनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो। विश्व बैंकको ऋण सहयोगमा १६५ किलोमिटर सडक विस्तार गर्ने योजना छ।
अध्ययनका क्रममा चन्द्रौटादेखि धनखोलासम्मको १७ किलोमिटर खण्डमा सुरुङमार्ग (टनेल), भायाडक्ट तथा अन्य वैकल्पिक संरचनाको सम्भाव्यता समेत मूल्यांकन गरिनेछ। साथै सडक विस्तारका विभिन्न विकल्पहरूको प्राविधिक, आर्थिक, वातावरणीय तथा सामाजिक पक्षबाट विश्लेषण गरी उपयुक्त विकल्प छनोट गरिने विभागले जनाएको छ।
परियोजनाअन्तर्गत वन्यजन्तु आवतजावतका लागि अन्डरपास, ओभरपास, क्यानोपी ब्रिज, सुरक्षा बार तथा अन्य वन्यजन्तुमैत्री संरचनाको व्यवस्था गर्ने अध्ययन गरिनेछ। राष्ट्रिय निकुञ्ज क्षेत्र तथा संवेदनशील जैविक मार्गहरूलाई विशेष प्राथमिकतामा राखिने पनि विभागले जनाएको छ।
सडकमा बजार क्षेत्रमा सेवा लेन, ग्रेड-सेपरेटेड इन्टरसेक्सन, फ्लाइओभर, अन्डरपास, पैदलमार्ग, बस बे, ट्रक पार्किङ, विश्रामस्थल, यू-टर्न सुविधा, तौल मापन केन्द्र तथा सडक सुरक्षा पूर्वाधार समावेश गर्ने अवधारणा पनि अध्ययनमा समेटिएको छ।
हाल चन्द्रौटा-कोहलपुर खण्डमा ४२ वटा साना र २९ वटा ठूला पुल रहेका छन्। सडक चार लेनमा विस्तार गर्दा पुलहरूको क्षमता वृद्धि, पुनःनिर्माण वा नयाँ पुल निर्माणको आवश्यकता समेत मूल्यांकन गरिनेछ।
विभागका अनुसार परियोजनाले यात्राको समय घटाउने, सडक सुरक्षा सुधार गर्ने, भारत-नेपाल व्यापारिक आवागमनलाई सहज बनाउने तथा पश्चिम नेपालको आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।