काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशङ्करबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्ता शनिबार साँझ नयाँ दिल्लीमा भएको हो।
भेटका क्रममा दुई नेताबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विविध विषयमा विस्तृत छलफल भएको बताइएको छ। दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान गरेका छन्।
सो क्रममा भारतीय विदेशमन्त्री जयशङ्करले दुई महिनाअघि मौरिससमा भएको भेटलाई स्मरण गर्दै नेपाल र भारतबीचको सम्बन्ध जनस्तरको निकटता, खुला सीमापार सम्पर्क तथा साझा सांस्कृतिक र धार्मिक परम्परामा आधारित रहेको बताए।
उनले व्यापार, लगानी, ऊर्जा, विकास साझेदारी, शिक्षा, विपद् व्यवस्थापन र सांस्कृतिक क्षेत्रमा सम्बन्ध निरन्तर विस्तार भएको उल्लेख गरे। अब स्टार्टअप, एआई, सूचना प्रविधि र नवीकरणीय ऊर्जाजस्ता नयाँ क्षेत्रमा पनि सहकार्यको ठूलो सम्भावना रहेको उनको भनाइ थियो।
जयशङ्करले खुला सीमाको सुरक्षा व्यवस्थापनमा दुई देशबीच घनिष्ठ सहकार्य रहेको बताए। कठिन परिस्थितिमा नेपाल र भारतले एकअर्कालाई साथ दिँदै आएको उल्लेख गर्दै पश्चिम एसियामा जारी संकटका बीच पनि नेपालतर्फ इन्धन आपूर्ति अवरुद्ध हुन नदिइएको बताए।
उनले हालै रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमणले पनि दुई देशको सम्बन्धलाई महत्त्व दिइएको सन्देश दिएको बताए। नेपाल सरकारको सफलताको शुभकामना व्यक्त गर्दै उनले भारत र नेपालको विकासका उद्देश्यहरू एकअर्कासँग पूरक रहेको र सहकार्यलाई अझ अघि बढाउन चाहेको स्पष्ट पारे।
जवाफमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाह तथा नेपाली जनताको तर्फबाट भारत सरकार र भारतीय जनतालाई शुभकामना सन्देश दिए। उनले मौरिससमा भएको उपयोगी संवादपछि पुनः भेट्ने अवसर पाएकोमा खुशी व्यक्त गरे।
खनालले नयाँ सरकारले सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिलाई प्राथमिकता दिएको बताए। पुराना विवाद र बोझ बोकेर नभई भारतसँग रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ संकल्पका साथ सरकार अघि बढिरहेको उनको भनाइ थियो।
नेपाल र भारत केवल दुई छिमेकी मुलुक नभई साझा सभ्यताका साझेदार रहेको उल्लेख गर्दै उनले ऐतिहासिक सम्बन्धलाई आधुनिक विकास साझेदारीमा रूपान्तरण गर्न चाहेको बताए। भारतसँगको सम्बन्ध नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै नयाँ सरकारले सबै तहमा अर्थपूर्ण र परिणाममुखी संवादका लागि तयारी गरेको बताए।
उनले विपद्को समयमा होस् वा हालको पश्चिम एसिया संकटका बेला इन्धन र मल आपूर्तिमा भारतले गरेको सहयोगप्रति आभार व्यक्त गरे। आगामी उच्चस्तरीय भ्रमणहरूको आधार तयार गर्ने तथा द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने गरी आजको छलफल परिणाममुखी हुने विश्वास पनि उनले व्यक्त गरे।
भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री खनालले भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा विजय चौथाईवालेसँग पनि भेटवार्ता गरेका थिए। उनले नयाँ दिल्लीमा इण्डिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन समेत गरेका थिए।
परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्मको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका थिए। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गरिरहेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनाल आफ्नो औपचारिक भ्रमण सम्पन्न गरी जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम छ।