काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला अधिवेशनहरु गरिरहेका बेला पार्टी सभापति रवि लामिछानेले आफू पुरानो र बढी योगदान भन्ने बताएर भाग खोज्नेहरुलाई त्यसो नगर्न भनेका छन्। संगठनको नेतृत्व संस्कार, आन्तरिक लोकतन्त्र र भविष्यको राजनीतिक दिशाबारे स्पष्ट सन्देश दिएका हुन्।
जिल्ला अधिवेशनपछि प्रदेश र केन्द्रीय तहका अधिवेशनको तयारी भइरहेका सन्दर्भमा शनिबार लामिछानेले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै अधिवेशनलाई केवल नेतृत्व चयनको औपचारिक प्रक्रिया नभई पार्टीको अनन्तकालीन जीवन, विधि–पद्धति र स्वस्थ राजनीतिक परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भनेका छन्।
‘स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन। चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ,’ उनले भनेका छन्।
पार्टीको जिल्ला अधिवेशनहरु भइरहँदा सुरुवातमा जिम्मेवारीमा रहेकाहरुले आफ्नो योगदानको कदर हुनुपर्ने माग गरेको खबर आउन थालेका छन्। जसलाई सभापति लामिछानेले सम्झाउन खोजेका हुन्। ‘पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो,’ उनले भनेका छन्।
उनले लेखेका छन्, ‘अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको अनन्तकालीन जीवन, विधि–पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर हो।’
आन्तरिक लोकतन्त्र र पारदर्शी प्रतिस्पर्धालाई जोड दिँदै उनले संवाद, सहमति र आन्तरिक निर्वाचनलाई पार्टी संस्कारका रूपमा संस्थागत गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो।’
लामिछानेले पार्टीभित्र देखिन थालेको पद–केन्द्रित सोच र व्यक्तिगत अपेक्षाप्रति पनि संकेत गर्दै चेतावनी दिएका छन्। उनका अनुसार, स्थापनाकालमा अस्थायी रूपमा दिइएका जिम्मेवारीलाई स्थायी अधिकारजस्तो ठानेर पदोन्नतिको अपेक्षा गर्नु वा योगदानको हिसाब–किताब खोज्नु संगठनका लागि दीर्घकालीन रूपमा हितकर होइन।
उनको भनाइमा, ‘चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ।’
त्यस्तै, संसदीय अवसरको अपेक्षासँग जोडेर पार्टी जिम्मेवारीलाई प्रयोग गर्ने प्रवृत्तिप्रति पनि उनले प्रश्न उठाएका छन्। यस्तो सोचलाई अधिवेशनको लोकतान्त्रिक प्रक्रियाबाटै सन्तुलनमा ल्याउनुपर्ने उनको तर्क छ।
रास्वपाले हालसम्म वडा र पालिका तहका अधिवेशन सम्पन्न गरिसकेको छ भने जिल्ला अधिवेशन जारी छ। त्यसपछि प्रदेश र केन्द्रीय अधिवेशनको मिति समेत तय भइसकेको छ।
पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी ले आफूलाई उन्नत लोकतान्त्रिक शक्ति बनाउने लक्ष्य राखेको उल्लेख गर्दै लामिछानेले संगठन विस्तारसँगै असुरक्षा र संकीर्ण सोच हावी हुन नदिन पनि आग्रह गरेका छन्।
उनका अनुसार, पार्टी ठूलो हुँदा व्यक्तिगत भूमिका घट्ने होइन, बरु अझ अर्थपूर्ण हुन्छ। उनले भनेका छन्, ‘अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्नु हो।’