BIZMANDU
www.bizmandu.com

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल

२०८३ जेठ २३

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल
युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक : राजेन्द्र मल्ल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले एआई र सूचना प्रविधि नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा डिजिटल रूपान्तरणका प्रमुख आधार बन्न सक्ने बताएका छन्। पोखरामा सूचना प्रविधिमा आधारित कम्पनी ‘टेक पाइला’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

Tata
GBIME
Nepal Life

विश्व तीव्र गतिमा एआई केन्द्रित अर्थतन्त्रतर्फ अघि बढिरहेको अवस्थामा नेपालले पनि समयमै आवश्यक पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन र नीतिगत सहयोगमा लगानी गर्नुपर्ने आवश्यकता उनले औंल्याए। नेपालसँग युवा जनशक्ति, प्रतिभा र सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै उनले सही नीति र लगानीमार्फत सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन सकिने धारणा व्यक्त गरे।

‘एआई पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति र नीतिगत समर्थनमा पर्याप्त लगानी गर्न सके एआई आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा डिजिटल नेपालको निर्माणको प्रमुख आधार बन्न सक्छ,’ उनले भने, ‘एआई केवल प्रविधि मात्र होइन, भविष्यको अवसर हो।’ एआई कम्प्युट केन्द्र स्थापना गर्न सके विद्यार्थी, शिक्षक, एआई प्रशिक्षक, अनुसन्धानकर्ता तथा स्टार्टअप उद्यमीहरूलाई विश्वस्तरीय प्रविधि र स्रोतसाधनमा पहुँच उपलब्ध गराउन सकिने उनले बताए।

यस्तो केन्द्रले नेपालमा एआई अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ। आज एआई सिक्ने, प्रयोग गर्ने र नवप्रवर्तनमा सक्रिय हुने युवाहरूले नै भोलिको डिजिटल अर्थतन्त्रको नेतृत्व गर्ने उल्लेख गर्दै मल्लले एआई शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

बढ्दो युवा विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै कक्षा १२ को अध्ययनपछि नेपाली युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। ‘कमाउँदै, रमाउँदै र सिक्दै आफ्नो करिअर निर्माण गर्ने वातावरण नेपालमै बनाउनुपर्छ,’ उनले भने, ‘युवाहरूलाई अध्ययनसँगै पार्टटाइम रोजगारी, डिजिटल सीप, इन्टर्नसिप र उद्यमशीलताका अवसर उपलब्ध गराउन सके विदेश पलायनको प्रवृत्ति उल्लेखनीय रूपमा घटाउन सकिन्छ।’

मल्लले सूचना प्रविधि उद्योग, शैक्षिक संस्था र निजी क्षेत्रबीच सहकार्य बढाएर युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए। नेपालले एआई, डाटा विज्ञान, सफ्टवेयर विकास, डिजिटल सेवा र प्रविधिमूलक उद्यमशीलतामा केन्द्रित रणनीति अपनाउन सके निकट भविष्यमा दक्षिण एसियाकै महत्वपूर्ण डिजिटल गन्तव्यका रूपमा स्थापित हुन सक्ने मल्लको भनाइ थियो।