काठमाडौं। श्रीलंकाका उद्योगी व्यवसायीले नेपालमा ठूलो मात्रामा लगानीको ल्याउने प्रतिबद्धता जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघसँगको बीटुबी बैठकमा सिलन चेम्बर अफ कमर्समा आवद्ध उद्योगी व्यवसायीले नेपालमा पर्यटन, जलविद्युत, जडीबुटी लगायत क्षेत्रमा लगानीको प्रतिबद्धता जनाएका हुन्।
महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले नेपालमा जलविद्युत लगायत विभिन्न क्षेत्रमा लगानीको अवसर र रहेको र सहजीकरणका लागि सहयोग गर्ने बताएको थियो।
उपाध्यक्ष श्रेष्ठले नेपालमा तत्कालै ४० हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्ने सम्भावना रहेको र करिब दुई तिहाई बहुमतको सरकारले वैदेशिक लगानीका लागि एकद्वार नीति लिइ रेड कार्पेट बिछाएकाले निर्धक्क भएर लगानी ल्याउन आग्रह गरे।
उनले श्रीलङ्कामा जस्तै जडीबुटी उद्योगका लागि आवश्यक कच्चा पदार्थ नेपालमा प्रचुर मात्रामा रहेको भन्दै यसको लाभ उठाउन आग्रह गरे। ‘महासंघका तर्फबाट तपाइँहरुलाई नेपालमा लगानी भित्र्याउनका लागि हामी सहजीकरण गरिदिने छौं,’ बैठकमा श्रेष्ठले भने।
श्रीलंकास्थित नेपाली दूतावासका फस्ट सेक्रेटेरी सागर भण्डारीले पनि स्थायी सरकारका कारण नेपालमा लगानीका लागि राम्रो वातावरण रहेको बताए।
जवाफमा सिलन चेम्बरका डेपुटी सेक्रेटरी जनरल अलेका परेराले नेपालमा पर्यटन पूर्वाधार, जलविद्युत र जडीबुटी उद्योगमा लगानी गर्न आफ्नो देशमा उद्योगी व्यवसायी तयार भएको बताए। उनले नेपाल सरकारले सहजीकरण गरिदिए आफूहरु ठूलो मात्रामा लगानी गर्ने बताए। उनले लगानी ल्याउनका लागि सहजीकरण गरिदिन महासंघलाई आग्रह गरे।
श्रेष्ठ नेतृत्वको टोलीमा महासंघका केन्द्रीय कार्यकारी सदस्यहरू भक्तबहादुर हमाल, पशुपतिदेव पाण्डे, सागर ढकाल, बिदुर धमला, निराजन चलाउने, विप्लव अधिकारीलगायत करिब ५० जना उद्योगी व्यवसायी थिए।
बैठकमा सिलन चेम्बरका पनि ५० भन्दा उद्योगी व्यवसायीको उपस्थिति थियो।