काठमाडौं। उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलनका लागि सभामुख डीपी अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायतको टोली धनगढी पुगेको छ।
संघीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच प्रभावकारी समन्वय तथा संसदीय अनुभव आदानप्रदानका लागि शनिबारदेखि दुई दिनसम्म टीकापुरमा हुने सम्मेलनमा सहभागी हुन अर्याल, दाहाल लगायतको टोली शुक्रबार धनगढी पुगेको हो।
टोलीमा प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी, राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारी, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय लगायत छन्।
सम्मेलनमा सातवटै प्रदेश सभाका सभामुख, उपसभामुख, प्रमुख सचेतक, संसदीय समितिका सभापति, सचिवलगायत सहभागी हुनेछन्।
शनिबार बिहान ८ः३० बजे सम्मेलन उद्घाटनको तालिका छ। सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा सम्मेलन उद्घाटन गर्नेछन्।
सम्मेलनको बन्द सत्रमा शनिबार संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले ‘लेजिस्लेटिभ एकेडेमी’ तथा ‘संसदीय अनुगमन कार्यमा एकरूपता’, सूचना प्रविधि विज्ञ विनित सत्यालले ‘डिजिटल पार्लियामेन्ट’, संविधानसभा सदस्य खिमलाल देवकोटाले ‘कानुन निर्माण प्रक्रियामा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय’ तथा पूर्वसचिव डा. सुरेन्द्र अर्यालले ‘आदर्श बजेट निर्माण प्रक्रिया’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
सम्मेलन आइतबार टीकापुर घोषणापत्र जारी गरेर सम्पन्न हुनेछ।