BIZMANDU
www.bizmandu.com

शीर्ष नेतालाई बोल्न संसदमा छुट्टै समय दिने तयारी, रविका लागि विशेष व्यवस्था हो?

२०८३ जेठ २२

शीर्ष नेतालाई बोल्न संसदमा छुट्टै समय दिने तयारी, रविका लागि विशेष व्यवस्था हो?
शीर्ष नेतालाई बोल्न संसदमा छुट्टै समय दिने तयारी, रविका लागि विशेष व्यवस्था हो?

काठमाडौं । प्रतिनिधि सभामा दलका शीर्ष नेताहरुको सम्बोधनका लागि समय छुट्टाउनेबारे संसद सचिवालय गृहकार्यमा जुटेको छ।

Tata
GBIME
Nepal Life

महिनामा एक दिन सबै दलका शीर्ष नेताहरुले दलीय आधारमा सम्बोधन गर्नका लागि छुट्टै समय व्यवस्थापन गर्ने तयारी भएको हो। अहिले आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले बोल्दै आएका छन्।

शीर्ष नेताहरुले विशेष समयमा सम्बोधन गर्ने गरेका छन् भने प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेताले मागेको बेला समय पाउने व्यवस्था छ।

तर, नियमावलीमा दलका शीर्ष नेताहरुका लागि छुट्टै बोल्ने व्यवस्था अहिले छैन। राजनीतिक समझदारीका आधारमा नेताहरुका लागि बोल्ने समय छुट्याउने तयारी भएको हो।

रविका लागि विशेष व्यवस्था हो?

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रास्वपाको संसदीय दलको नेता होइनन्। प्रधानमन्त्री बालेन्द्र शाह दलको नेताको हैसियतमा छन्।

संसदभित्र अरु सामान्य सांसदजस्तै लामिछानेका लागि छुट्टै केहि व्यवस्था छैन। अहिले उनले विशेष समय र अरु नियमावलीले प्रदान गरेको समयमा मात्रै बोल्न सक्छन्। रास्वपा बाहेक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं दलको नेता छन्।

पूर्व प्रधानमन्त्रीका हिसाबले पनि प्रचण्डले संसदमा बोल्न सक्छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव हारेकाले उपाध्यक्ष रामबहादुर थापा बादल दलको नेता छन्। कांग्रेस सभापति गगन थापा पनि चुनाव हारेकाले भिष्म आङ्देम्बे दलको नेता छन्।

श्रम संस्कृतिका अध्यक्ष हर्क राई आफैं अध्यक्ष छन् भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव हारेकाले ज्ञानबहादुर शाही दलको नेता छन्। विशेष समयमा अहिले दलको नेता तथा दलले तोकेको सकेसम्म पदाधिकारी तहको नेताले बोल्ने अभ्यास छ।

तर, शीर्ष नेताहरुका लागि छुट्याउने समयले भने लामिछानेलाई बोल्नका लागि अलगै व्यवस्था हुनेछ।

संसद सचिवालयका एक पदाधिकारीका अनुसार लामिछाने दलको नेता पनि नभएको अवस्थामा उनलाई समय व्यवस्थापन गर्नका लागि राजनीतिक सहमति जुटाउन लागिएको हो।

‘उहाँका लागि संसदभित्र केहि भएन। यसअघि दलकै नेता प्रधानमन्त्री हुने व्यवस्था थियो। अहिले उहाँ दलको नेता पनि हुनुहुन्न। त्यसैले पनि यस्तो समयको आवश्यकता महसुस भएको हो। राजनीतिक सहमतिपछि यो लागू हुनेछ,’ उनले भने।

रास्वपाभित्रै विवाद

पार्टी अध्यक्ष र महामन्त्री लगायतका पदाधिकारीले मात्रै छुट्टै समयमा सम्बोधन गर्न पाउने व्यवस्था गर्न लागिएको प्रति रास्वपाभित्रै एकमत छैन।

संसदीय दलमा लामिछाने र महामन्त्री कविन्द्र बुर्लाकोटीले मात्रै बोल्न पाउने गरि समय व्यवस्था गर्नुपर्ने केही सांसदहरुको जोड छ। तर, केही सांसदहरु दलले पठाएको जोसुकै सांसदले पनि उक्त समयमा बोल्न पाउनुपर्ने अडानमा छन्।

‘दलको सांसदलाई तोकिसकेपछि पार्टीले पत्याउनुपर्छ भन्ने हाम्रो धारणा हो। समय व्यवस्थापनमा हामी कठोर हुनु हुँदैन। शीर्ष नेताहरुका लागि बोल्न जति पनि ठाउँ छन्,’ लामिछाने र बुर्लाकोटी बाहेकका नेताहरुले पनि बोल्नु पाउनुपर्ने भन्दै एक रास्वपा सांसदले भने।