ललितपुरको विशंखु नारायण हुँदै माथितिर लागेपछि सडक साँघुरिँदै गयो। सडक ढाक्ने गरि फैलिएका झाडी र जमेको पानीले संकेत गरिरहेको थियो –खासै चल्तीको होइन यो सडक। अफरोडका लागि चर्चामा रहेको गाडी हामी सहज बाटोमा चलाउने मुडमा पनि थिएनौं। टेस्ट ड्राइभ केही अलग होस् भन्ने हाम्रो चाहना थियो।
टेस्ट ड्राइभ गरिसकेका एक मित्रले हाइवे भन्दा कच्ची सडकमा ‘कुल मुड’मा यात्रा रुचाउनेका लागि गाडी ‘गजब’ भएको टिप्पणी गरेकाले हाम्रो यात्राको गन्तव्य बन्यो – कोतडाँडा। लामो समय अन्तरालपछिको टेस्ट ड्राइभको यस श्रृङ्खलामा हाम्रो रोजाईको गाडी रह्यो-आइकार।
आइकार भन्नासाथ धेरैले एप्पल कम्पनी सम्झिन्छन्। आइफोन, आइप्याड,आइम्याक जस्ता प्रडक्ट उत्पादन गर्ने कम्पनी एप्पलसँग ट्रेडमार्कको विवादबाट परै रहन चिनियाँ कम्पनी चेरीले अलिक फरक नाम दियो –आइकाउर।
चीनमा यो एसयूभीलाई आइकारकै नाममा बजारमा उतारिए पनि बाँकी विश्वमा ट्रेडमार्कको सम्भावित लफडाबाट बच्न लेख्ने नाम फरक पारिएको रहेछ। ग्लोबल बजारमा ब्रान्डिङलाई लिएर हुनसक्ने सम्भावित द्वन्द्वबाट बच्न र मौलिक नाम दिन चेरीले फरक रणनीति लिएको छ यस गाडीलाई लिएर।

हाम्रो टेस्ट ड्राइभ थापाथलीबाट सहरी क्षेत्र हुँदै विशंखु नारायणतिर लाग्यो। अधिकतम ५० किलोमिटर प्रतिघण्टाको प्रतिबन्धात्मक सडक यात्राको नियमले तीब्र गतिमा यसको परीक्षण हुने सम्भावना रहेन। त्यसैले हामी शंख आकारको गुफालाई छाडेर कोतडाँडातिर उकिलियौं। झरी र घामको लुकामारीले मौसम अस्थिर थियो। समुन्द्री सतहबाट १ हजार ७४० मिटर माथिको उचाई गाडीले लिए पनि उत्तरतिर बादलले हिमाली दृश्य देख्न दिएन। दक्षिणतिर गोदावरी र फूल्चोकीमा पानी वर्षिरहेको थियो।
कोतडाँडाको बस्ती कटेर विपस्यना ध्यान केन्द्रतिर उक्लिने मोड हाम्रो नजरमा पर्यो। मोड र उकालो। त्यसलाई वर्षाको भेलले काटेर ड्याङ बनाएको अवस्था। त्यहीबाट उकाल्ने प्रयास किन नगर्ने? थापाथलीबाट यात्रा सुरु हुनुअघि हामी एक सिढी चढेर आइकारमा उक्लिएका थियौं। मतलब हामी एड्भेन्चरवाला यात्रामा त थियौं। त्यसैले परीक्षण असहज ठाउँमा गर्नु प्रत्यासित नै थियो।



अघि बढीसकेको गाडीलाई केही ब्याक गरेर अफरोडको एक्स्ट्रिम अवस्थातिर धकेल्यौं। ‘रेयर ह्विल ड्राइभ’ भएकाले त्यसको पनि परीक्षण गर्नु नै थियो। सुरुको प्रयास असफल ! फेरि रिभर्स। अनि स्पोर्ट मोड लिएर अर्को प्रयास। त्यो पनि असफल। तेस्रो पटकको प्रयासमा भने गजबले बाटो छिचोल्यो गाडीले। हामीले त्यस्तो मोडमा यसको टेस्ट गर्यौं जुन फोर ह्विल ड्राइभ अन गर्नुपर्ने खालको थियो।
चिनियाँ ब्रान्ड चेरीको आइकार विद्युतीय हो है! इभी र अफरोड अहिलेसम्म परीक्षणकै विषय छ नेपालको सन्दर्भमा। सहरी सडकमा विद्युतीय गाडीले राज गर्न थालिसके पनि अफरोडमा पकड जमिसकेको छैन। त्यसैले धेरैले सन्देहपूर्वक लिने गर्छन् यसखाले गाडीलाई।
हाम्रो टेस्ट ड्राइभको परीक्षणले त्यो सन्देहलाई धेरै हदसम्म दुर गर्यो। अफरोड र रेयर ह्विल ड्राइभ भए पनि हामीले कुदाएको यो गाडीमा १०० किलोवाट क्षमताको मोटर छ। अब आउने दिनमा मोटर क्षमता घटाएर बजार प्रतिस्पर्धी बनाउने होडबाजी रहने छैन किनकि गाडीको भन्सार लगायतका कर अब मूल्यमा आधारित हुनेछन् मोटरमा होइन। सय किलोवाट क्षमताले नै यति बलियो पर्फर्मेन्स दिन्छ भने मोटर क्षमता बढेर आउँदा पक्कै गजब हुनेछ यसको हँकाई।

यस गाडीमा ६० किलोवाट आवर क्षमताको ब्याट्री छ जसले एकपटकको पूरा चार्जमा ४०० किलोमिटर दुरी तय गर्न सकिने कम्पनीको दाबी छ। यो दाबीलाई हामीले बाटो अवस्था र ड्राइभिङ शैली दुवैसँग तुलना गरेर मात्र यकिन गर्न सक्छौं। अफरोड मात्रै यात्रा गर्ने हो भने पक्कै पनि कम्पनीको दाबी पूरा हुन सक्दैन किनकि त्यस्तो बाटोमा ब्याट्रीको खपत अत्यधिक हुने गर्छ।
त्यस्तै, चलाउने शैलीले पनि ब्याट्री कति खपत हुने भन्ने निर्धारण हुने गर्छ। अफरोडमा हामी अलि आँटिलो भएर कुदाउनुमा यसको ग्राउन्ड क्लियरेन्सले पनि साथ दियो। यसमा २१० एमएम क्लियरेन्स छ जसले उवडखावड बाटोमा कुदाउन हिम्मत जुटाइदिन्छ।
चिनियाँ इभीले विश्वबजारमा वर्चश्व कायम गर्नुपूर्वका दिनमा हेर्ने हो भने चेरीको नेपाल उपस्थिति ज्यादै दयनीय थियो। त्यतिखेर आइसी इन्जिनमा आधारित चेरीका कारले प्रभाव जमाउन सकेका थिएनन्। ज्यादै न्युन बिक्री भएको अवस्थामा बिक्रीपछिको सर्भिसिङको अवस्थामा पनि गतिलो हुनसक्ने अवस्था रहेन। तर, जब इभीले बजार लिँदै आयो चेरीले आफ्नो ब्रन्डलाई पनि गजबले सुधार गर्यो। ब्रान्ड इमेज र प्रडक्ट दुवैमा बलियो पकड बनाइसकेको छ यतिखेर चेरीले। त्यसैको परिणाम हो यसको सडकमा उपस्थिति।

काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरूमा पनि आइकारको उपस्थिति निक्कै बलियो बनिसकेको देखिन्छ। मस्कुलर र एड्भेन्चर लुक्स दुवै कोणले बलियो लाग्छ। इन्टेरियरमा पनि अफरोड झल्काउने शैली देखिन्छ। फ्युचरिस्टिक प्रविधिसँगै एसी भेन्ट लगायतमा पुरानो शैलीलाई इन्टेरियरमा कम्पनीले समेट्दै एकखाले हाइब्रिड लुक्स दिएको छ।
खुट्किलो चढ्दै उक्लिनुपर्ने भएकाले सुरुदेखि नै एड्भेन्चरको महसुस गराउँछ कारले। अग्लो कारको अग्लो सिटमा बस्नासाथ फरक अनुभूति हुने नै भयो।
अफरोडमा यो कार जति गजब लाग्छ हाइवेमा हुत्त्याउनका लागि भने त्यति उपयुक्त हुन्न नेपालजस्तो मुलुकमा। हाम्रा अधिकांश राजमार्गहरू घुम्ती नै घुम्तीका छन्। स्पिडमा टर्निङ गर्ने हो भने यसको डिजाइनले धेरै साथ दिँदैन। त्यसखाले ड्राइभिङ जोखिमपूर्ण पनि हुनसक्छ।

तर, हतारको यात्रा नचाहनेका लागि भने हाइवेमा यससँगको यात्रा पक्कै आरामदायी रहन्छ। रेयर वाइपर छैन यसमा। लुक्सलाई ध्यान दिएर हुनुपर्छ वाइपरले स्थान नपाएको। यसलाई चारवटा मोडमा कुदाउन सकिन्छ। चिप्लो बाटो र ड्राइभरले आफैँ कस्टम मोड तय गर्नसक्ने सुविधा यसमा छ।
यसको मूल्य बजेट अगाडि ५० लाख ९९ हजार रुपैयाँ थियो। तर बजेटमा करको दर हेरफेर हुँदा ५३ लाख ९९ हजार रुपैयाँ पर्छ। नयाँ बजेटपछि यो मुल्य केही माथि जाने देखिन्छ। थ्री सिक्स्टी क्यामरादेखि ६ वटा एयरब्यागले यात्राको सुरक्षालाई ध्यान दिएको छ। फ्युचरिस्टिक डिजाइन र सुरक्षा दुवैका हिसाबले गाडी गजब छ। तर इन्स्ट्रुमिन क्लस्ट चाहिँ गायव ! अलिक अपत्यारिलो लाग्न सक्छ। जति कन्ट्रोल छ सबै स्क्रिनमै आधारित। स्टेरिङमा पनि धेरै फिचर माउन्ट गरिएको छैन। त्यसैले मोर्डन र ट्र्याडिसनलको फ्युजन लाग्छ यो गाडी।



अफरोड यात्रामा सफल यो गाडी एड्भेन्चरमा जोडिनेका लागि विद्युतीयतर्फको सबैभन्दा बलियो विकल्प रहेको हाम्रो ठम्याइ छ। अफरोड यात्रा गर्नुपर्ने कुनै पनि पेशा वा क्षेत्रका लागि यसको उपस्थिति ग्राह्य देखिन्छ। शर्त यतिमात्रै हो कि त्यस्तो ठाउँमा चार्जिङ स्टेसन हुनुपर्यो।