काठमाडौं। बीवाइडी गाडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले आफूले प्रचलित कानुन अनुसार नै गाडी आयात गरेको स्पष्ट पारेको छ।
बजेटमा करका दर घटाउने सूचना पाएर बजेटअघि ठूलो संख्यामा गाडी भित्र्याइ राजस्व छली गरेको आरोप लागेपछि साइमेक्स इंकले बिहीबार प्रेस विज्ञप्ति निकालेर आरोप निराधार भएको बताएको छ।
कम्पनीले आफूले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका आधारमा गाडी आयात गरेको भन्दै आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेज हेर्न आग्रह गरेको छ।
‘आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारीसाधन सम्बन्धमा विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक वृत्तमा भएका चासोप्रति साइमेक्स इंकको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साइमेक्स इंक कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता पुनः व्यक्त गर्न चाहन्छ।’
कम्पनीले कोरला नाकाबाट जेठ १२ र १३ गते ६४९ तथा रसुवा नाकाबाट जेठ ४ देखि १३ गतेसम्म ४७२ वटा गाडी आयात गरेको थियो। यसबाहेक थप २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेको तर हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न नभएको कम्पनीले बताएको छ।

करका दर जेठ १४ गते राति तय गरिएको थियो। करको दर कति बढ्छ भन्ने पहिले नै तय हुँदैन। साथै गाडी छिनको छिन आयात गर्न सकिंदैन। आयात गर्ने कम्पनीले दिने अर्डरका आधारमा उत्पादक कम्पनीले गाडी उत्पादन गर्छ। साथै उत्पादित गाडी आयात गर्न एलसी खोल्नुपर्छ। यो प्रक्रियाका लागि लामो समय लाग्छ।
साइमेक्स इंकले आफूले प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार गाडी आयात गरेको भन्दै कुनै पनि चरणमा विशेष सुविधा वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको र त्यसका लागि आग्रह नगरेको प्रष्ट पारेको छ।
‘यी सम्पूर्ण आयात कार्य बीवाइडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन्। साइमेक्स इंकले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्याउने खालका हुन्,’ कम्पनीले भनेको छ, ‘हाम्रा आयातसम्बन्धी सम्पूर्ण गतिविधि नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा योजना बनाई सञ्चालन गरिन्छन्।’

साइमेक्स इंकले आफूले गाडि आयात गरेको सम्बन्धमा छानबिनका लागि सहयोग गर्ने बताएको छ।
‘साइमेक्स इंक छानबिनलाई स्वागत गर्दछ र सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजात, आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेज सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको जानकारी गराउँछ,’ विज्ञप्तिमा भनिएको छ।