काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वदेश फर्किएको दिन भारत भ्रमणमा जान लागेका छन्।
परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको छ। भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निम्तामा खनाल शुक्रबार नयाँ दिल्ली जान लागेका हुन्।
तीन दिने भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भेटमा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ।
रास्वपा सभापति लामिछाने चार दिनदेखि भारतमा छन्। उनी शुक्रबार स्वदेश फर्किने तालिका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. जयशंकर र गृहमन्त्री अमित शाह तथा भाजपाका अध्यक्ष नितिन नवीनलगायतसँग भेटवार्ता गरेका छन्।