काठमाडौं । कांग्रेसले बाराका पार्टी सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। फागुन २१ गतेको निर्वाचनमा पार्टीको उम्मेद्वारलाई हराउन लागेको भन्दै यादवविरुद्ध पार्टीमा उजुरी परेको थियो।
सोही आधारमा पार्टीले उनलाई बैशाख ३० गते पाँच दिने स्पष्टीकरण सोधेको थियो। तर, उनले स्पष्टीकरण नबुझाएपछि पुन: तीन दिन म्याद थपिएको थियो।
सो समयमा पनि उनले स्पष्टीकरण नबुझाएपछि अन्तिम निर्णय नहुन्जेलसम्मका लागि भन्दै उनलाई निलम्बन गरिएको कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए।
‘निजलाई बारा जिल्लाको सभापति पदमा राखिराख्दा अनुसन्धान कार्यसमेत प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि राजेश राय यादवलाई नेपाली कांग्रेस बारा जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ,’ अनुशासन समितिको बिहीबारको निर्णयमा भनिएको छ।
बारा जिल्ला उपसभापति अमिरीलाल राउत (पाल) लाई भने थप कारवाही गर्नु पर्ने अवस्था नदेखिएको अनुशासन समितिले जनाएको छ।