काठमाडौं। म्याद नाघेको खाद्य वस्तु भेटिएपछि काठमाडौं फन पार्क कारबाहीमा परेको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भृकुटीमण्डपमा रहेको काठमाडौं फन पार्कलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरेको छ।
विभागका निर्देशक निर्माण कुमार कार्कीले उपभोक्ताको उजुरीका आधारमा बिहीबार अनुगमन गर्दा फन पार्कमा म्याद नाघेका खाद्य वस्तु भेटिएकाले जरिबाना गरेको बताए।
विभागले अन्य ५ वटा फर्मलाई पनि जरिबाना गरेको छ। शंखमुलस्थित एलाभेन एलाभेन ग्रुपलाई ५१ हजार, वानेश्वरस्थित रेडोलेन्स नेपाललाई ५० हजार, पंचकुमारीस्थित पूर्वेली सेकुवा कर्नरलाई १० हजार तथा चाबहिलस्थित मोबडिल्ज र बुद्धनगरस्थित गणेश मोटरबाइक वर्कशपलाई ५/५ हजार रुपैयाँ जरिबाना गरेको विभागले जनाएको छ।
ती फर्मले आफैं रेलेबलिङ गरेको तथा बिलबिजक जारी नगरेका कारण कारबाही गरेको विभागको भनाइ छ।