BIZMANDU
www.bizmandu.com

नापी विभागले बनायो ‘मेरोकित्ता’ एप, जग्गा सम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

२०८३ जेठ २१

नापी विभागले बनायो ‘मेरोकित्ता’ एप, जग्गा सम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
नापी विभागले बनायो ‘मेरोकित्ता’ एप, जग्गा सम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

काठमाडौं। नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। एप बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा सार्वजनिक गरिएको छ।

Tata
GBIME
Nepal Life

एपमार्फत जग्गासम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने विभागले जनाएको छ। विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ। एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ।

आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागले जनाएको छ।

यस्तै, ई-सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्वसमेत अनलाइनबाटै भुक्तानी गर्न सकिने विभागले जनाएको छ।

एपमार्फत सम्बन्धित नापी कार्यालयका प्रमुख र सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने छ। ‘मेरोकित्ता’ सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ।

मन्त्री रावलले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको भन्दै ‘मेरोकित्ता’ एपले सेवा प्रवाहलाई थप सहज, छरितो र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।