BIZMANDU
www.bizmandu.com

मलेसियामाथि भारी जितसँगै नेपाल समूह विजेता : भुर्तेल ब्याटिङमा, मल्ल बलिङमा प्रभावशाली

२०८३ जेठ २१

मलेसियामाथि भारी जितसँगै नेपाल समूह विजेता : भुर्तेल ब्याटिङमा, मल्ल बलिङमा प्रभावशाली
कुशल भुर्तेल। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोली समूह विजेता बन्दै एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ। आज सम्पन्न समूह चरणको अन्तिम मलेसियालाई १६७ रनको भारी अन्तरले हराउँदै नेपाल समूह विजेता बनेको हो।

Tata
GBIME
Nepal Life

सिंगापुरमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेलको शतकको सहायतामा ७ विकेट गुमाउँदै २७५ रनको विशाल स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसिया ९ विकेट गुमाएर १०८ रनमा समेटियो।

मलेसियाका लागि कप्तान सइद अजिजले ५४ रन बनाउँदै सम्मानजनक स्कोरसम्म टोलीलाई पुर्‍याउँदा सार्विन मुनिएन्डीले १८ तथा मोहम्मद हजिकले १३ रन बनाए। मलेसियाको ब्याटिङ धराशायी बनाउन नेपालका शेर मल्लले ३ विकेट लिँदा करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्लले समान १ विकेट लिए।

नेपालले अब सेमिफाइनलमा हङकङ र ओमनमध्ये एक टोलीसँग खेल्नेछ। यसको टुंगो शुक्रबारको खेलले लगाउनेछ।

नेपालको इनिङ्स

त्यसअघि कुशल भुर्तेलले कीर्तिमानी इनिङ्स खेल्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याएका थिए। भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत समूहको दुवै खेलमा भुर्तेलले शतक बनाउँदै राष्ट्रिय कीर्तिमान बनाए। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याकटूब्याक शतक बनाउने पहिलो खेलाडी बने।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालको इनिङ्स उकास्न भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गर्दै १ सय २६ रन बनाएका थिए। उनको शतकको सहायतामा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो।

यसअघिको खेलमा पनि भुर्तेलले चीनविरुद्ध शतकीय इनिङ्स खेलेका थिए।

मलेसियालाई विशाल लक्ष्य दिने क्रममा आशिफ शेखले ६८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३१ तथा सन्दीप जोराले १५ रन जोडे।

बलिङमा मलेसियाका विरनदीप सिंहले ३ विकेट लिँदा सइद अजिज र विजय युनीले समान २ विकेट लिए।

नेपाल र मलेसिया दुबैले एसियन गेम्समा छनोटसँगै सेमिफाइनलमा पुग्दा यो समूहबाट चीन बाहिरिएको छ। कतारले अन्तिम समयमा आएर नाम फिर्ता लिएको थियो। अर्को समूहबाट हङकङ र ओमन सेमिफाइनलमा पक्का हुँदा सिंगापुर र बहराइन बाहिरिएका छन्।