काठमाडौं। नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिपबाट बाहिरिएको छ। आज सम्पन्न साफको सेमिफाइनल खेलमा बंगलादेशसँग २-१ गोलले पराजित हुँदै नेपाल बाहिरिएको हो।
भारतको गोवास्थित जवहारलाल नेहरु स्टेडियममा सुरुवाती अग्रता बनाएको नेपाललाई बंगलादेशले दुई गोल फर्काउँदै हराउन सफल भयो। आजको खेलमा नेपालको गोलकिपिङ, डिफेन्स र आक्रमण सबैमा असाध्यै फितलो रह्यो।
खेलको २३ औँ मिनेटमा दीपा शाहीको कर्नरमा गोल गर्दै गीता रानाले नेपाललाई अग्रता दिलाएकी थिइन्। तर, पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले खेल बराबरीमा ल्यायो। बंगलादेशकी रितु पोर्ना चक्माले कर्नरमा प्रहार गरेको बल सोझै गोल भयो। यसमा गोलकिपर एञ्जिता तोम्बाफो नराम्ररी चुकिन्।
दोस्रो हाफमा बंगलादेशी गोलकिपर बिट भइसकेको अवस्थामा समेत गोल गर्न चुकेको नेपालले बनाएको अवसरहरुमा खेर फाल्यो। सावित्रा भण्डारी साम्बाको चोटका कारण टोलीमा नरहँदा नेपालको फिनिसिङ लाइन फितलो रह्यो। इन्ज्युरी समयमा नेपाली डिफेन्समा मिस-कम्युनिकेसनका बीच मोसम्मबत सागोरिकाले गोल गर्दै बंगलादेशको फाइनल यात्रा सुनिश्चित गरिन्।
यसअघिका दुईवटा संस्करणमा फाइनल खेल्दा नेपाल बंगलादेशसँग नै पराजित हुँदै च्याम्पियन बन्न चुकेको थियो।