BIZMANDU
www.bizmandu.com

तीन नयाँ टोली थप्न लगानीकर्ता खोज्दै एनएसएल, इच्छुक कर्पोरेटबाट माग्यो आवेदन

२०८३ जेठ २०

तीन नयाँ टोली थप्न लगानीकर्ता खोज्दै एनएसएल, इच्छुक कर्पोरेटबाट माग्यो आवेदन
तीन नयाँ टोली थप्न लगानीकर्ता खोज्दै एनएसएल, इच्छुक कर्पोरेटबाट माग्यो आवेदन


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)ले चौथो संस्करणका लागि क्लब विस्तार प्रक्रिया सुरु गरेको घोषणा गरेको छ।

Tata
GBIME

एनएसएलले बुधबार विज्ञप्ति निकाल्दै लिगमा सहभागी हुन चाहने कर्पोरेट, व्यक्ति तथा कन्सोर्टियमलाई इच्छापत्र पेस गर्न आग्रह गरेको छ।

‘एनएसएल नेपाली फुटबलको निरन्तर विकास र व्यावसायिकीकरणतर्फको महत्वपूर्ण कोशेढुंगा हो जसले नयाँ क्षेत्र, लगानीकर्ता र फुटबल समुदायलाई देशको अग्रणी फुटबल प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्नेछ,’ एनएसएलका निर्देशक श्रेयांश कार्कीले भनेका छन्, ‘व्यक्ति, कम्पनी, कन्सोर्टियम तथा फुटबलसँग सम्बन्धित संस्थाहरूलाई एनएसएल क्लबको स्वामित्व ग्रहण तथा सञ्चालनका लागि आफ्नो रुचि पेस गर्न आमन्त्रण गरिन्छ।’

एनएसएलले आगामी सेप्टेम्बरमा होम एन्ड अवे ढाँचामा लिग सञ्चालन गर्ने तयारी गरिरहेको छ।

यसअघिका तीन वटै संस्करणमा सबै खेल दशरथ रंगशालामा भएका थिए। पहिलो संस्करण कोरोना महामारीकाबीच दर्शकविहीन बन्द रंगशालामा भएको थियो।

पछिल्लो संस्करणमा एनएसएलले धेरै राम्रो डिजिटल भ्युअरसिप पाएको थियो। तेस्रो संस्करणमा काठमाडौं रेजर्स च्याम्पियन बन्दा दोस्रो र तेस्रो संस्करण ललितपुर सिटीले जितेको थियो।

टिमको संख्या भने हरेक संस्करणमा फरक देखिएको छ। निक्कै तामझाम र कर्पोरेट घरानाको साथमा सुरु भएको एनएसएलमा क्लबको संख्या स्थिर छैन। पहिलो संस्करणमा आठ, दोस्रो संस्करणमा नौ र तेस्रो संस्करणमा सात टोलीले एनएसएल खेलेकामा चौथोमा अरु दुई टोली थप्ने योजना यसअघि नै सुनाएको आयोजकले प्रतिस्पर्धी टोलीको संख्या अब १० बनाउने तयारी गरेको छ।

एनएसएलले आवेदनका लागि विशेषगरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत (कर्णाली) क्षेत्रलाई प्राथमिकता दिएको छ। यद्यपि देशका अन्य क्षेत्रबाट आउने प्रस्तावलाई पनि विचार गर्ने एनएसएलले जनाएको छ।