BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरण अध्यक्षको प्रतिस्पर्धामा ५० जना, बहालवालादेखि पूर्वकर्मचारीसम्म

२०८३ जेठ १९

बीमा प्राधिकरण अध्यक्षको प्रतिस्पर्धामा ५० जना, बहालवालादेखि पूर्वकर्मचारीसम्म
बीमा प्राधिकरण अध्यक्षको प्रतिस्पर्धामा ५० जना, बहालवालादेखि पूर्वकर्मचारीसम्म


काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाको आवेदन परेको छ।

Vigo
GBIME
Tata

प्राधिकरणको अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले गरेको विज्ञापनमा ५० जनाले आवेदन दिएका हुन्। समितिले आवेदन बुझाउनका लागि मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएको थियो।

प्राधिकरणका बहालवाला कर्मचारीदेखि नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसम्मले आवेदन दिएका छन्। जनकराज ढुंगेल, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. राजेन्द्र पण्डित, डा. रवीन्द्र घिमिरे, शंकर रायमाझी, रमेशकुमार भट्टराई र प्रशान्त धमलाको आवेदन परेको छ।

यस्तै, प्राधिकरणका निर्देशक कमलराज रेग्मी र उपनिर्देशक विरोध भट्टले पनि आवेदन दिएका छन्।

समितिले प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ९ महिना पहिले अगाडि बढाइएको सबै प्रक्रिया जेठ ६ गते रद्द गरेर १३ गते विज्ञापन आह्वान गरेको थियो।

प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा अयोग्यताका कारण ६ महिनामै बर्खास्तगीमा परेपछि तत्कालीन सरकारले गठन गरेको समितिले २०८२ भदौ १४ गते अध्यक्ष पदका लागि आवेदन मागेको थियो। तर त्यसको एक सातापछि भएको जेनजी आन्दोलनले सरकार ढलेपछि प्रक्रिया रोकिएको थियो।

नयाँ सरकारले प्राधिकरण अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढाउन वैशाख ८ गते मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसी र अर्थसचिव डा. घनश्याम उपाध्याय सदस्य छन्।