काठमाडौं । विभिन्न तहमा सञ्चालन हुने परीक्षाको प्रश्नपत्र आउट हुने घटना बढेको देखिन्छ। प्रविधिको विकासले झनै एक ठाउँबाट ‘लिक’ भएको प्रश्नपत्र अन्य ठाउँमा सजिलै र छिट्टै पुग्ने गरेका छन्। गत वैशाख १४ गते कक्षा १२ को परीक्षा पत्र पनि यसै गरी ‘आउट’ भएको थियो।
परीक्षा सुरु हुनुभन्दा ९ मिनेट अगाडि नै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको थियो। त्यस्तै, अन्य विषयका प्रश्न पत्र पनि शंकाका घेरामा रहेका छन्।
यस्ता घटनामा विद्यालयका शिक्षक, विद्यार्थीदेखि अन्यको संलग्नता भएको देखिएको छ। ९ मिनेट अगाडि आउट भएको प्रश्नपत्र सामाजिक सञ्जालमा खोलिएका विभिन्न ग्रुपहरू मार्फत परीक्षार्थीसम्म पुगेको देखिन्छ।
प्रहरीले सो घटनामा संलग्न चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा निराजन शाही, प्रेमकुमार श्रेष्ठ, सन्तोष बन्जारा र आश्विन अधिकारी रहेका छन्। शाही चाबहिलको विनायक कलेजमा काउन्सुलरको रूपमा काम गर्दै आएका व्यक्ति रहेको खुलेको छ। सन्तोष बन्जारा पनि सोही कलेजका एकाउन्ट विषयका शिक्षक हुन्।
कसरी भयो प्रश्नपत्र आउट?
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले प्रश्नपत्रहरु ‘सिस्टम’बाट नै विभिन्न परीक्षा केन्द्रमा पठाउने गर्छ। अर्थात् पहिलेझैं परीक्षा हुनुभन्दा अगाडि प्रश्न पत्र लिएर व्यक्तिहरू जाँदैनन्। परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि मात्र बोर्डले ‘सिस्टम’मा प्रश्नपत्र हाल्ने गर्छ।
बोर्डको साइटमार्फत यस्तो प्रश्नपत्र डाउनलोड गरेर पछि प्रिन्ट गरेर वितरण गर्ने व्यवस्था छ।
केन्द्राध्यक्षलाई ‘सिस्टम’को युजर नेम र पासवर्ड दिइएको हुन्छ। प्रश्नपत्र प्रणालीमा हालेपछि केन्द्राध्यक्षको मोबाइलमा एउटा ओटिपी कोड आउँछ। त्यो कोड हालेपछि मात्र सिस्टममा आएको प्रश्नपत्र डाउनलोड गर्न मिल्छ। प्रश्नपत्र आएपछि केन्द्राध्यक्ष ‘रिक्वेस्ट’ पठाएपछि मात्र बोर्डले ओटिपी उपलब्ध हुन्छ। त्यसपछि डाउनलोड गरिएको प्रश्नपत्र प्रिन्ट गरेपछि हस्ताक्षर गरेर विद्यार्थीलाई उपलब्ध गराइन्छ।
यस्तो प्रश्नपत्र डाउनलोड एक्लैले गर्न मिल्दैन। केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, परीक्षा केन्द्रमा खटिने सुरक्षा निकायका कमान्डर र अन्य व्यक्ति सँगै बसेर गर्ने गरिन्छ।
शिक्षकसम्म कसरी पुग्यो ?
सुरुमा अंग्रेजी विषयको प्रश्नपत्र ‘आउट’ भएको भनिएपछि प्रहरीले अनुसन्धानका क्रममा अन्य विषयको पत्र पनि ‘आउट’ भएको फेला पारेको छ। यसमा धेरै जनाको समूहले काम गरेको देखिन्छ।
यही नेक्सस प्रहरीले प्रश्न पत्र आउट भएपछि अनुसन्धान गर्दा खुलेको छ।
प्रहरीले निराजन शाहीलाई वैशाख २८ गते पक्राउ गरेको थियो। उनलाई सन्तोष बन्जाराले वैशाख २३ गते केमेस्ट्री परीक्षाको प्रश्न पत्रको लागि बिहान फोन गरेको खुलेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म थियो। उनले प्रश्नपत्र पाएपछि आश्विन अधिकारीलाई दिने भनेका हुन्छन्। सन्तोष भने कामले बाहिर गएको प्रहरीको अनुसन्धानमा देखिन्छ।
त्यसको केही समयमा आश्विनको फ्रेन्ड रिक्वेस्ट आएको हुन्छ। निराजनले सहजै स्वीकार गर्छन्। उनको मोबाइलमा केमेस्ट्रीको परीक्षाको प्रश्नपत्र आउँछ। त्यसपछि उनले उही आश्विनलाई पठाउँछन्। आश्विन भने अमृत साइन्स क्याम्पस स्नातक दोस्रो वर्षमा अध्ययनरत भएको खुलेको छ।
‘उसले केमेस्ट्रीको मात्र प्रश्नपत्र पठाएको दाबी गरेको छ। अन्य विषयको अहिलेसम्म खुलेको छैन,’ एक अनुसन्धान अधिकृतले सुनाए।
प्रेमकुमार श्रेष्ठ सोही कलेजको आइटी क्षेत्रमा काम गर्दै आएका थिए। सोही दिन प्रश्नपत्र प्रिन्ट भएपछि कक्षामा लैजाने जिम्मेवारी उनकै थियो। सन्तोषले प्रश्नपत्र भने निराजनसँग फोन गरेर मागेका थिए। तर प्रश्न पत्रको फोटो प्रेमसँग भएकाले फेरि निराजनले प्रेमलाई ह्वाट्स्एपबाट मागेको देखिन्छ।
प्रेमले सोही प्रश्नपत्रको तस्बिर निराजनलाई पठाउँछन्। निराजनले फेरि अश्विनलाई पठाएको देखिन्छ।
सन्तोषले काठमाडौंको सोह्रखुट्टेमा ‘डु मोर एजुकेसन’ नामको ट्युसन सेन्टर चलाउँदै आएको खुलेको छ। यसै सिलसिलामा उनको आश्विनसँग चिनजान भएको देखिन्छ। सोही दिने आश्विनले सन्तोषलाई फोन गरेर प्रश्नपत्र मागेका थिए। आश्विन सोही ट्युसन सेन्टरमा पढाउने समेत गरेको खुलेको छ।
उनले नै ह्वाट्स्एपमा फिजिक्स ग्रुप बनाएका थिए। यसरी लिक भएको प्रश्नपत्र उनले त्यही ग्रुपमा हालेका थिए। त्यसपछि बिहान ९ बजेतिर ‘डिलेट’ समेत गरेको देखिन्छ। प्रहरीले उनलाई जेठ ५ गते पक्राउ गरेको थियो।