काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याएको बजेटलाई सेयर बजारले रातो झण्डा देखाएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरिएपछिको पहिलो सेयर किचबेचमै लगानीकर्ताले रातो झण्डा देखाएका हुन्। नेप्से परिसूचक सोमबार कारोबार खुलेदेखि नै ओरालो लागेकामा अन्तिममा २६.७२ अंकले घटेर बजार २७५५.३७ विन्दु कायम भएको छ।
कारोबारमा आएका निर्जीवन बीमा र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्। हाइड्रोपावरको सूचक सबैभन्दा धेरै १.९७ प्रतिशतले घटेको छ। बजारमा २३३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १३.२० प्रतिशतले घटेको छ। बजारमा ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
अर्थमन्त्री डा. वाग्लेले कारोबार नै संकुचित हुने गरी ल्याएको नीतिको प्रभाव सेयर बजारमा देखिएको हो। वाग्लेले गत शुक्रबार आगामी आर्थिक वर्षको बजेटमार्फत सेयर किनबेच संकुचित हुने गरी पुँजीगत लाभकर बढाएका थिए।
लगानीकर्ताले १ वर्षभन्दा कम अवधिको सेयर किनबेचबाट प्राप्त गर्ने नाफामा ७.५ प्रतिशत कर तिर्दै आएकामा बजेटमार्फत १० प्रतिशत पुर्याइएको छ।
यस्तै एक वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गरेर नाफा आर्जन गर्नेहरुले ५ प्रतिशत कर तिर्दै आएकामा बजेटमार्फत साढे दुई प्रतिशत विन्दुले बढाएर ७ प्रतिशत कायम गरिएको छ।
सेयर बजारमा कारोबार खुम्चिएर दैनिक ३ अर्ब रुपैयाँमा सीमित भइरहेका बेला बजेटमार्फत गरिएको कर वृद्धिले किनबेच नै प्रभावित बनाएको हो।
‘बजार सुरुदेखि नै कन्फु्यजनमा थियो। पुँजीगत लाभकर वृद्धिले नेप्से सूचक घटाउन काम गरेको हो। यद्यपि पुँजीगत लाभकर नै अन्तिम हुने घोषणा गरिएकाले यसमा कन्फ्युजन हुनुपर्ने देखिंदैन,’ लगानीकर्ता सन्तोषराज नेपालले भने, ‘बजारमा विशाल बजार कम्पनी, नेपाल टेलिकम जस्ता कम्पनीको सेयरमा सेलिङ प्रेसर आएको देखिन्छ।’
चैत दोस्रो साता राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेदेखि बजार निरन्तर ओरालो लागिरहेको छ। बजारमा लगानीकर्ता त्रसित हुँदा सूचकसँगै कारोबार रकम निकै घटेका बेला कर वृद्धिले थप असर गरेको हो।
‘बजारमा लगानीकर्ताका लागि गरिएकाे पुँजीगत लाभकर नै अन्तिम हुने विषय सबैभन्दा महत्त्वपूर्ण हाे। तर, कर वृद्धिकाे प्रभाव देखिएकाे हुन सक्छ। दीर्घकालमा यसले राम्रो गर्ने भए पनि बजारले देखाएकाे रिएक्टले हामीलाई नै कन्फ्युज बनाएकाे छ,´ स्टक ब्राेकर्स एसाेसिएसनका उपाध्यक्ष नितेशकुमार अग्रवालले भने।
सेयर बजार सरकारको पनि आम्दानीको स्रोत हो। बजारबाट सरकारले मासिक अर्बौं रुपैयाँ आम्दानी गर्छ। तर, बजार घटेर कारोबार खुम्चिँदा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा गिरावट आउने गरेको छ।
पोहोर साउनमा दैनिक बजारमा २६ अर्ब ५७ करोड रुपैयाँसम्म सेयर किनबेच हुँदा सरकारले एकै महिना २ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसअघि २०८०/८१ मा एकैदिन २९ अर्ब ९५ करोड रुपैयाँसम्म सेयर किनबेच भएकामा सरकारले ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो।
यो वर्ष बजारमा सेयर किनबेच घटेका कारण वैशाखमा सरकारले ९३ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम गत वर्ष सोही अवधिको तुलनामा २३.८४ प्रतिशत कम हो।
गत वर्ष वैशाखमा सरकारले सेयर बजारबाटै १ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको थियो। पुँजीगत लाभकर वृद्धिले बजारमा संस्थागतसँगै साना लगानीकर्तालाई कारोबारमा निरुत्साहित गर्नेछ। बजारमा म्युचुअल फण्ड र इन्स्योरेन्स कम्पनीले १ खर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन्।
बजारमा ठूला कम्पनीको सेयर मूल्य घट्दा असर परेको ब्रोकरहरु बताउँछन्। ‘टेलिकम र विशाल बजारको प्रभाव हुनसक्छ। त्यसबाहेक सेयर बिक्रीका लागि पर्खेकाहरुले पनि आज कारोबार गरेको देखियो,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले भने, ‘बजारमा पुँजीगत लाभकरको वृद्धिको पनि केही असर परेको हुन सक्छ। तर, पुँजीगत लाभकर अन्तिम भन्ने घोषणाले लगानीकर्तामा कन्फ्युजन छैन जस्तो लाग्छ।’
सरकारले विशाल बजार कम्पनी र नेपाल टेलिकमको थप सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ। यसले बजारमा अहिले थोरै कित्ता सेयर रहेका कम्पनीको मूल्यमा प्रभाव परेको छ।