BIZMANDU
www.bizmandu.com

चीनसँग ५ विकेटले पराजित हुँदै नेपाली महिला टोली एसियन गेम्स पुग्न असफल!

२०८३ जेठ १७

चीनसँग ५ विकेटले पराजित हुँदै नेपाली महिला टोली एसियन गेम्स पुग्न असफल!
फाइल तस्वीर


काठमाडौं। नेपाली महिला क्रिकेट टोली चीनसँग पराजित हुँदै एसियन गेम्समा छनोट हुन असफल भएको छ। आज सम्पन्न निर्णायक खेलमा चीनसँग ५ विकेटले पराजित हुँदै नेपाल एसियन गेम्स पुग्न असफल भएको हो।

Tata
GBIME

मलेसियाको क्वललाम्पुरमा वर्षाले खेलमा निकैबेर बाधा गरेपछि खेल ७ ओभरमा छोट्याएर खेलाइएको थियो। यसमा नेपालले ७ ओभरमा ४५ रन बनाएकोमा डीएल मेथडले चीनलाई ७ ओभरमा ४३ रनको लक्ष्य मिलेको थियो।

नेपालले दिएको लक्ष्य अन्तिम बलसम्म संघर्ष गर्दै चीनले भेट्टायो। यसक्रममा कप्तान मिङ्यु जुले सर्वाधिक १८ रन बनाउँदा चाइ युजीले अविजित ११ रन बनाइन्। बलिङमा नेपालका रिया शर्माले २ तथा सरिता मगरले १ विकेट लिए पनि चीनलाई रोक्न सकेनन्।

त्यसअघि ब्याटिङ गरेको नेपालले ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो। नेपालका लागि कविता कुवरले अविजित २२ रन बनाउँदा कप्तान इन्दु वर्माले ११ रन बनाइन्।

एसियन गेम्स छनोटको समूह चरणमा नेपालले चीन र इण्डोनेसियालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। तर, सेमिफाइनलमा मलेसियाले नेपाललाई हराउँदै एसियन गेम्समा स्थान बनायो। आज नेपालले सेमिफाइनलमा पराजित भएको अर्को टोली चीनलाई हराउँदै एसियन गेम्समा पुग्ने अर्को अवसर थियो। तर, कमजोर वरीयताको चीनसँग पनि पराजित भएपछि नेपाली महिला टोलीको एसियन गेम्स खेल्ने सपना अधुरै रहेको छ।