फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएजी)ले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजी च्याम्पियन बन्न सफल भएको हो।
सन् २०२५ को संस्करणमा पहिलो पटक उपाधि जितेको पीएसजी लगातार दोस्रो पटक युरोपियन च्याम्पियन बनेको हो। त्यसबेला इन्टरमिलानलाई ५-० गोलको फराकिलो अन्तरले हराउँदै पीएसजी पहिलो पटक च्याम्पियन बनेको थियो।
हंगेरीको पुस्कस एरेनामा सम्पन्न गएराति सम्पन्न खेलमा काइ हार्भट्जको गोलमा खेलको पाँचौँ मिनेटमै आर्सनलले अग्रता बनाएको थियो। पहिलो हाफभरी आर्सनल नै अघि रह्यो। खेलको ६४ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ओस्मान डेम्बेलेले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। निर्धारित समयसम्म खेल बराबरीमै रोकिए पछि अतिरिक्त समयमा खेल पुगेको थियो। तर, अतिरिक्त समयमा पनि दुबै टोलीले गोल थप्न सकेनन्।
खेलको नतिजा नआएपछि पेनाल्टी निर्णायक बन्यो। पेनाल्टीमा पीएसजीले पाँचमध्ये चार गोल गर्दा आर्सनलले दुईवटामा चुक्दै ३ गोलमात्र गर्यो। योसँगै पीएसजीले ब्याकटूब्याक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयो।